आरोहण (कविता)

भव्य यात्रा गर्नु छ हिउँचुलीसम्मको
सम्म फेदीबाट उकालो चढिरहनु छ
जिन्दगी अभियान हो, लक्षित बिन्दुको
निरन्तरता गति हो, आरोहणको ।

अलिखित हुन्छन् उमङ्गका संवेगहरू
आन्दोलित हुन्छन् मनका छालहरू
हृदयको भूगोलमा सलबलाइरहन्छन् तरङ्गहरू
उकुसमुकुस हुन्छन् अपेक्षा आकाङ्क्षाहरू
भरिएर आफैं पोखिन्छन् उत्साहका आवेगहरू
झरना बनेर झर्झराउँछन् छन्छन् झन्कारहरू ।

थपिन्छ जिजीविषा अझै थपिँदै जान्छ
र त गतिशील बन्छन्
जीवनयात्राका पैतालाहरू
पदचाप सँगसँगै
प्रबल इच्छामा सल्बलाएका लहरहरू
समेटिएर दौडिरहेको हुन्छ समय, आफ्नै लयमा
आखिर दौडाइ पनि त,
जीवनको निरन्तर गति हो ।

बहानाबाजी र हैसियतको कुनै मापन छैन
संयन्त्र छैन सीमा समर्पणभित्र

मात्र, आत्मविश्वासको जल चाहिन्छ हृदयमा
अभिषेक गर्न
साहसको सङ्कल्प चाहिन्छ आरोहण वरण गर्न ।

स्वाभिमानको पहाड चढ्न
जिन्दगीको पुस्तक पढ्न,
त्यति सजिलो छैन

अविरल अविरल हिँडिरहनुपर्छ संकल्पले
निरन्तर निरन्तर जुधिरहनुपर्छ मन मस्तिष्कले
निर्बाध उक्लिनु पर्छ उर्ध्वगामी चेतनाले
मानौं,
म नै सफल आरोही हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *