काठमाडौँ महानगरले दिलायो ९१२ जनालाई रोजगारी

काठमाडौँ । काठमाडौँ महानगरले ‘श्रम बैंक’ कार्यक्रममार्फत् ९१२ जनालाई विभिन्न स्थानमा रोजगारी दिलाएको छ । तीमध्ये ३२९ जनालाई निजी तथा ५८३ जनालाई सरकारी क्षेत्रमा रोजगारी दिलाइएको महानगरका मेयर बालेन्द्र शाह (बालेन) ले जानकारी दिएका छन् ।

रोजगारी प्रवर्द्धनका लागि तीन वर्षको कार्ययोजना बनाई कम्तीमा १५ हजार जनालाई तालिम तथा ५ हजार जनालाई प्रत्यक्ष रोजगारी सिर्जना गर्ने उद्देश्यले महानगरले गौरव योजनाअन्तर्गत ‘रोजगारी र आयवृद्धि काठमाडौँको समृद्धि’ नाराका साथ ‘श्रम बैंक’ योजना थालेको थियो । यही योजनाअनुसार उल्लेखित संख्यामा रोजगारी दिलाइएको हो ।

आर्थिक बर्ष २०८०/८१ मा सीप मेलामार्फत् यसको सुरुआत गरिएको थियो । त्यसबेला मेलामार्फत् २ हजार ५५५ जना, महानगरको तालिम केन्द्रहरुमार्फत् १ हजार ४६७ जना र अनलाइनमार्फत् २ हजारजना गरी ६ हजार २२ जनाले तालिम लिएको महानगरले जनाएको छ ।

यसअनुसार श्रम बैंकमार्फत् दक्ष ४५५, अर्धदक्ष ३८ जना र अदक्ष ४१८ गरी जम्मा ९११ जनाले रोजगारी पाएको जनाइएको छ । तीमध्ये ३२९ जनालाई विभिन्न निजी कम्पनीहरूमा र ५८३ जना महानगरका विभिन्न विभागहरूमा महानगरमार्फत रोजगारी उपलब्ध गराइएको मेयर शाहले जनाएका छन् ।

महानगरको सहजीकरण तथा आफ्नै प्रयासमा थप करिब ८०० जना युवा युवतीहरु स्वरोजगार भएको पनि जनाइएको छ । समग्रमा एकै आर्थिक वर्षमा महानगरको पहलमा १ हजार ७०० भन्दा बढी रोजगार र स्वरोजगार भएको जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *