विश्वकप २०१८ : कुन टोलीको दाबेदारी बढि ?

काठमाडौं, २८ जेठ । विश्वकप फुटबलको ट्रफी जर्मनीमा बसेको १७ सय ८५ दिन भइसक्यो । अब यो ट्रफीको नयाँ मालिक बन्नको लागि विश्वका उत्कृष्ट ३२ टोलीले रसियामा आफ्नो खेल कौशल प्रमाणित गर्दैछन् ।

तथापी नयाँ टोली भन्दा पनि विगत देखिनै बलियो प्रदर्शन गर्ने टोलीको सम्भावना अलि बढि नै हुन्छ । सम्भावना हुनु एउटा कुरा, तर नामले मात्र विश्वकप जित्न चाहिं सम्भव छैन । टोलीको सामुहिक प्रदर्शन र भाग्यको साथ पनि चाहिने तथ्य विगत्मा देखिइ सकेको छ ।

विश्कपको इतिहासमा लगातार २ पटक विश्वकप ब्राजील र इटालीले मात्र सफल भएको छ । त्यो पनि विश्वकपको सुरुवाती समयतिर । यी टिम बाहेक हालसम्म अन्य कुनै पनि टोलीले लगातार विश्वकपको ट्रफी जितेको इतिहास छैन ।

यस्तोमा जर्मनी टोली विश्व फुटबलमा आफ्नो बर्चश्व प्रमाणित गर्न आतुर छ । जर्मनीका प्रशिक्षक जोआखिम लो आफ्नो टोलीले राम्रो प्रदर्शन गर्नेमा ढुक्क छन् । उनका अनुसार जर्मनी टोलीको औसत उमेर २७ वर्ष मात्र छ र अनुभव भरपुर भएकोले यसलाई उनि ‘गोल्डेन जेनेरेसन’ मान्छन् । क्वालिफायरमा बलियो प्रदर्शन गरेको जर्मनी टोलीमा अघिल्लो विश्वकपको फाइनलमा गोल गर्ने मारियो गट्जले समेत स्थान बनाउन नसक्नुले यो टोली कति बलियो छ भन्ने अनुमान गर्न सकिन्छ ।

त्यस्तैगरी अघिल्लो संस्करणको विश्वकपको सेमिफाइनलमा जर्मनीसँग ७–१ को पिडादायी हार व्योहोरेको ब्राजील आफ्नो छवि सुधार्ने तथा विश्वकपको ट्रफीलाई आफ्नै देशमा भित्र्याउने तरखरमा छ ।

नेमार, रोबर्टो फर्मिनो, ग्याब्रियल जेसस र फिलिप कोटिन्होले सुसज्जीत ब्राजीलीयन आक्रामण कुनै पनि डिफेन्सलाई ध्वस्त पार्न सक्षम छ । ब्राजील हरेक विश्वकपको दाबेदार हो भने यो संस्करणमा विशेष गरी शसक्त प्रदर्शन गर्ने सुरमा रहेको तथ्य ब्राजीलले देखाइसकेको छ ।

अर्कोतर्फ २०१० को विश्वकप विजेता स्पेन पनि अहिले धेरै कुरामा फरक भइसकेको छ । तथापी सो टिमको ६ देखि ८ जना खेलाडि अझै पनि स्पेनको टोलीमै रहेका छन् । स्पेनका मेनेजर युलेन लोपेटेइका अनुसार थियागो, इस्को, मार्को एसेन्सीयो र डेभिड डे जिया जस्ता युवाले टोलीलाई अघि बढाउन सक्छन् भने आन्द्रे इनियस्ता, रामोस र पिके जस्ता सिनियर खेलाडिको अनुभवले टोलीलाई ट्रफी दिलाउन कुनै कसर बाँकि राख्ने छैनन् ।