खतरामा ओली सरकार : तर कताबाट ? को बाट ?

तरवारको धारमा चलिरहेको हुन्छ सरकार जहिले पनि । जताततैबाट खतरा हुन्छ । त्यसैले केपी ओलीको सरकार पनि खतरामा छ । ओली सरकारलाई कताबाट खतरा छ ? केबाट खतरा छ ? को बाट खतरा छ ? एमाले र माओवादी एकीकरणपछि यो विषयमा छलफल हुनु आवश्यक भएको छ ।

दर्दनाक तथ्य के हो भने नेपालमा ०७ साल यता कुनै पनि सरकारले पाँच वर्ष काम गर्न पाएका छैनन् । कोही पनि प्रधानमन्त्री पाँच वर्ष टिकेका छैनन् । पञ्चायतकालमा प्रधानमन्त्रीको पदको आयु राजाको हातमा हुन्थ्यो, त्यस्तो बेला पनि कुनै प्रधानमन्त्रीले पाँच वर्ष काम गर्न पाएनन् ।
०४७ सालपछि बहुमत ल्याएको पार्टीले समेत पाँच वर्ष सरकार चलाउन पाएन, सकेन । संविधानसभा कालखण्डमा प्रधानमन्त्रीको पदीय आयु वर्षमा होइन महिनामा गणना हुन्थ्यो ।

अल्पमतको सरकार स्वत धरापमा हुन्छ, खतरामा हुन्छ । ओली केही दिन अघिसम्म अल्पमतका प्रधानमन्त्री थिए, तसर्थ खतरामा थिए । अब बहुमत भएको पार्टीका प्रधानमन्त्री छन् । अब केपी ओली पाँच वर्ष सरकार चलाउने अपवाद प्रधानमन्त्री बन्छन् त ?

०४७ सालपछि सरकारलाई दरबारबाट खतरा छ भनिन्थ्यो, केही अर्थमा त्यो साँचो पनि थियो । राजतन्त्र हटेपछि रिक्त बनेको ठाउँमा भारत आयो र शक्ति अभ्यास गर्न थाल्यो । अब भारतले प्रत्यक्ष रुपमा सरकार गिराउन सक्ने अवस्था छैन, कमसेकम दुई वर्षका लागि । किनभने दुई वर्षसम्म ओली विरुद्ध अविश्वास प्रस्ताव ल्याउन सकिँदैन ।

केपी ओली सरकारलाई आइलाग्ने सम्भावित खतरा केके हो ? विमर्श गरौं ।

‘खतरा’ छैन भारतबाट

गत एक दशक नेपालका प्रधानमन्त्रीलाई भारतबाट ठूलो खतरा भयो । प्रत्यक्ष या अप्रत्यक्ष रुपमा प्रधानमन्त्रीलाई हटाउने हस्तक्षेपकारी भूमिका भारतले खेलेको जगजाहेर छ । अहिलेका प्रधानमन्त्री केपी ओली स्वयंले पनि विगतको आफ्नो सरकार भारतले गिराएको बताएका थिए ।
अब पनि भारतबाट सरकारलाई खतरा छ ? हालका लागि कुनै खतरा छैन । किन ?

ओली सरकारले चीनसँग हिमचिम नबढाओस्, कनेक्टिभिटीका प्रोजेक्टहरु चीनसँग मिलेर अगाडि नबढाओस्, नेपालका ठूला परियोजनाहरु चीनलाई नदेओस् भन्ने भारतीय चाहना छ । यो चाहना पूरा गरिदिने हो भने भारत पूरै सहयोगी हुनेछ । पहिलो पटक ओली प्रधानमन्त्री भएको बेलाको भन्दा पूर्व अवस्थाको जस्तो सम्बन्ध नेपालले चीनसँग राखोस् भन्ने भारतको चाहना झल्कन्छ । अर्थात्, विश्वका अन्य मुलुकहरुसँग जस्तो मात्र सम्बन्ध राखोस्, त्योभन्दा सम्बन्धलाई अगाडि नबढाओस् ।

भारतीय रणनीति हेर्दा अहिले ऊ नेपाल मामिलामा रक्षात्मक छ, कमसेकम बाहिरबाट हेर्दा । बाहिरबाट देखिने गरी नेपालमा सकभर कुनै हस्तक्षेप नगर्ने भारतीय रणनीतिको झलक पनि मिल्न थालेको छ । 

नेपालमा भारतीय हस्तक्षेप नौलो कुरा होइन । भारतले नेपालमा धेरैथोक गर्न सक्छ, तर सबैथोक गर्न सक्दैन । नेपालमा भारतले जे चाह्यो त्यही गर्न सक्छ भन्ने भ्रममा नपरे हुन्छ ।

नेपालमा धेरै खेलाडिमध्ये भारत एउटा खेलाडि (त्यो पनि पर्दा पछाडिको) मात्र हो, सर्वेसर्वा होइन । ओली सरकार बन्नु र एमाले माओवादी एकीकरण हुनु भारतका लागि प्रीतिकर कुरा थिएन । भारतले नचाहँदा नचाहँदै यस बीचमा नेपालमा धेरै कुरा भयो । नेपाल एउटा बाटोमा अगाडि बढिसकेपछि भारतले त्यसलाई खुल्ला रुपमा रोक्न विगतमा पनि सकेन र अहिले पनि सकेन । 

अहिले नेपाल अगाडि बढेको बाटोमा तगारो हाल्न भारतले सक्दैन, अवरोध गर्न खोज्यो भने असफल हुनेछ । नेपालको वस्तुगत स्थिति यस्तो बनेको छ कि कमसेकम दुई वर्ष ओली सरकारलाई हल्लाउन चलाउन सकिँदैन । यो स्थितिमा ओली सरकारलाई नै फकाउने भारतको रणनीति हुनु अस्वाभाविक होइन ।

त्यसैले बाहिरबाट हेर्दा विगतका सरकारहरुलाई जसरी ओली सरकारलाई भारतबाट ‘खतरा’ छैन । बरु, भारतले सहयोगीकै रुपमा आफूलाई प्रस्तुत गर्ने अनि ‘पर्ख र हेर’को रणनीति अपनाउने सम्भावना दृष्टिगोचर हुन्छ ।

केपी ओली केही सातापछि चीन जानेछन् । चीनसँग ‘अनावश्यक हिमचिम’ बढाए पनि भारतले खेल्नसक्ने ठाउँ थोरै मात्र छ । त्यो अवस्थामा भारतले ‘दुई नम्बर प्रदेश’लाई अगाडि सार्न प्रयास गर्नेछ । मोदी भ्रमणले पनि सावित गर्यो, दुई नम्बर प्रदेशलाई भारतले हतियार बनाउन खोजेको छ ।

विभिन्न विदेशी शक्तिहरुले नेपालमा हिँसात्मक शक्तिहरुलाई प्रवद्र्धन गर्ने, त्यस्तो शक्ति आविष्कार गर्ने सम्भावनालाई पनि नकार्न सकिँदैन ।
तथापि, जति चाहे पनि दुई वर्ष भारतले ओलीलाई चलाउन सक्ने देखिँदैन । 

सरकारको शत्रु-धमिरा

नेपालमा सरकारको सत्रु धमिरा हो । सरकार तथा सरकारको नेतृत्व गर्ने पार्टीभित्र धमिरा लागेपछि अथवा धमिरा लगाएपछि मात्र विदेशीले पनि खेल्न सक्ने हुन् ।

नेपालको पहिलो बहुमतको सरकार वीपी कोइरालाले बनाएका थिए । उनले पनि चीनसँग ‘अनावश्यक हिमचिम’ बढाएका थिए, नेपाललाई सार्वभौम र आत्मनिर्भर बनाउन खोजेका थिए । उता दरबार अर्थात् राजा महेन्द्र थिए । भारत र राजाको कोपभाजनको शिकार बनेर असमयमै वीपी सरकार मात्र होइन प्रजातान्त्रिक व्यवस्था नै ढालियो ।

ढाल्नु अगाडि नै वीपी सरकारभित्र धमिरा लागिसकेको थियो भन्ने पछि मात्र देखियो । डा. तुल्सी गिरी, विश्ववन्धु थापा लगायतकाहरुले धमिराको रुपमा काम गरिरहेका रहेछन् । वीपीको सरकार ढलेपछि मात्र ती धमिराहरुको पहिचान भएको थियो ।

०४८ सालमा गिरिजाप्रसाद कोइरालाको बहुमतको सरकार बन्यो । उनी कालिदास बने । असमयमै मध्यावधी चुनाव घोषणा गरेर पूरा अवधी प्रधानमन्त्रीका रुपमा काम गर्ने अवसर गुमाए । त्यसबेला कांग्रेसभित्र आन्तरिक कलह सिर्जना भएको थियो । आन्तरिक कलहको शिकार बन्यो बहुमतको सरकार ।

एमाले विभाजनका कारण ०५६ सालको आमचुनावमा कांग्रेसले बहमुत ल्यायो । कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री बने । उनलाई बीचमै गिराए गिरिजाप्रसादले । गिरिजाप्रसादले बहुमतको सरकार चलाउन थाले । उनी पनि आन्तरिक कलहको शिकार बने । शेरबहादुर देउवा प्रधानमन्त्री  बने । कांग्रेसको आन्तरिक कलहका कारण बहुमत अर्थहीन बन्यो । 

अन्ततः राजा ज्ञानेन्द्रले सत्ता हातमा लिए, विभिन्न परीक्षण गरे ।

नेपालको बहुमतको पहिलो सरकार अर्थात् वीपी कोइरालाको सरकारभित्र धमिरा लागे पनि पार्टीभित्रको कारणले गिरेको थिएन । त्यसपछिका कांग्रेसको बहुमतको दुईटा सरकार आन्तरिक कलहले गिरेको थियो । 

पार्टीभित्र धमिरा लाग्यो भने बहुमत छ भने पनि प्रधानमन्त्री पूरा अवधी टिक्दैनन् भन्ने देखियो । यो पृष्ठभूमिलाई हेर्दा ओली सरकारलाई पनि भविष्यमा पार्टीभित्रबाट खतरा आउन सक्दैन भन्न सकिँदैन ।

प्रतिपक्षबाट के खतरा ?

ओली सरकार आरामदायी बहुमतमा छ । दुई वर्षसम्म अविश्वास प्रस्ताव ल्याउन सकिँदैन । तर, विश्वासको मत लिनुपर्ने वाध्यकारी अवस्थामा सरकारलाई पुराउन सकिने ठाउँ छ । सरकारमा सहभागी कुनै दलले सरकार छाडेको अवस्थामा प्रधानमन्त्रीले विश्वासको मत लिनैपर्ने संवैधानिक व्यवस्था छ । एमाले र माओवादी एकीकरण भइसकेको छ । अब बेग्लै दलको अस्तित्व रहेन । सरकारमा तेस्रो कुनै दलको उपस्थिति छैन । त्यसैले विश्वासको मत लिनुपर्ने अवस्था सिर्जना गर्न पनि सक्ने देखिँदैन ।

संघीय फोरम र राजपालाई ओलीले सरकारमा नल्याउलान् भन्न सकिन्न । भोली उनले यी दुई मध्ये कुनै एउटा दललाई सरकारमा लगे अनि पछि तिनले सरकार छाडे भने ओलीले विश्वासको मत लिनुपर्ने हुन्छ । विश्वासको मत जोखिमपूर्ण हुन्छ । अविश्वासको प्रस्तावमा प्रधानमन्त्री विरुद्ध बहुमत सिद्ध गर्नुपर्छ तर विश्वासको मतमा प्रधानमन्त्रीले बहुमत सिद्ध गर्नुपर्छ । भविष्यमा यो संवैधानिक तथा राजनीतिक अभ्यास कुन ढंगले र कसरी हुन्छ भन्ने अहिले नै अनुमान गर्न गाह्रो छ ।

सरकारलाई खतरा हुने अर्काे क्षेत्र हो प्रमुख प्रतिपक्षी पार्टी । प्रमुख प्रतिपक्षीबाट तब सरकारलाई खतरा हुन्छ जब प्रधानमन्त्रीसँग आफ्नै पार्टीको बहुमत हुँदैन । ओलीको पार्टीसँग बहुमत छ । त्यसबाहेक प्रतिपक्षीले अरु कुनै किसिमको खेल गरेर सरकारलाई अप्ठेरो पार्ने हो कि ? आन्दोलन गरेर अप्ठेरो पार्ने हो कि ? यो पनि सम्भव देखिँदैन । अहिलेको कांग्रेस नेतृत्वको औकात देखिएकै हो । 

अहिले अनौठो अवस्था छ, सरकार लोकप्रिय काम गर्छ, प्रतिपक्षले अलोकप्रिय अडान लिन्छ । प्रतिपक्षले लिनुपर्ने अडान सत्तापक्षले लिन्छ । त्यसैले ओलीले प्रतिपक्षी कांग्रेसलाई अहिलेका लागि खतरा देखेका छैनन् होला । 

आफैंभित्रबाट खतरा

माथि धमिराको चर्चा गरियो । अब धमिरालाई अलि विस्तारमा चर्चा गरौं ।

बहुमत भएको पार्टीका प्रधानमन्त्रीलाई पार्टीभित्रबाटै खतरा हुने तथ्य स्थापित भइसकेको छ । ओलीलाई अहिले पार्टीभित्रबाट कुनै खतरा देखिँदैन तर भविष्य कसले जानेको छ र ?

प्रचण्डले ओलीको सरकार पाँच वर्षै चल्ने भनिसकेका छन् । उनको भनाईमा कति विश्वास गर्ने ? राजनीतिक खेलमा भनाई र गराईमा आकाश पातालको फरक हुने हामीले देखिसकेका छौं । आलोपालोको भित्री सहमति भएको चर्चा छ तर पुष्टि हुन गाह्रो छ । अहिले झलनाथ खनालले असन्तुष्ट आवाज निकालेका छन् । उनको असन्तुष्टिले प्रधानमन्त्रीको स्थायित्वमै प्रश्न उठ्ने हदसम्म आकार विस्तार गर्ने देखिँदैन । 

विगतमा कांग्रेसको बहुमतको सरकार हुँदा पनि प्रारम्भमा पार्टीभित्रबाट खतरा देखिँदैनथ्यो । पछि स्थिति बिग्रँदै गयो । भविष्यमा ओलीको पार्टीभित्र पनि त्यस्तो अवस्था आउला कि नआउला ?

ओली सरकारले पाँच वर्षे स्थायित्वको कीर्तिमान बनाउन सकेन भने लोकतन्त्रको स्थायित्वमै प्रश्न उठ्नेछ ।

संकल्प शक्ति नै सफलताको कडी

दर्शन एवं अध्यात्म–विद्याका विषयमा कलम चलाउनु सामान्य कुरा हैन, यसकालागि गहिरो ज्ञान–चेत, सुदूर दृष्टि, विहङ्गम परिकल्पना एवं अविचलित साधनाको

पण्डितजीको छोरो र गणतन्त्र

गाउँमा एकजना ‘हुने–खाने’ पण्डित थिए । ‘चाइन्जो–क्यारे’ भन्ने थेगो थियो उनको । प्रशस्त पैतृक जग्गा–जमिन थियो। गाई–भैँसी पालेका थिए ।

पचघैया भूत र सरकारको कथा !   

पहिला पहिला हामीले सुन्ने गरेका केहि भूतका कथा मध्यरातमा भूत आउँछ, भूत भन्दा पनि डरलाग्दो पचघैया भूत आउँछ, यो चाहिं सेतो घोडा चढेर राती १२ बजे पछि आफू

 सुन र सिण्डिकेटमा अल्झिएका ६ महिना

नेकपाका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा ६ महिना अघि गठन भएको सरकारले अझै गति लिन सकेको छैन। आमजनता र विपक्षी दलले मात्र होइन,स्वयं नेकपाका