दर्शनको अलौकिक आनन्द

दर्शन एवं अध्यात्म–विद्याका विषयमा कलम चलाउनु सामान्य कुरा हैन, यसकालागि गहिरो ज्ञान–चेत, सुदूर दृष्टि, विहङ्गम परिकल्पना एवं अविचलित साधनाको आवश्यकता पर्दछ । तर मसँग यति धेरै क्षमता छैन, तर पनि पत्रकारिताको जगत्मा लामो बाटो नाप्नुभएका मेरा अनन्य मित्र विष्णु निष्ठुरीको मीठो आग्रह र उहाँसँग काम गर्ने मेरो इच्छाले गर्दा दर्शन, अध्यात्म, साहित्य एवं कला जस्तो महनीय विषयमा चञ्चुप्रवेशको जमर्को गरेको छु । 

दर्शन भनेको देख्नु हो । तर हामीसँग भएका दुई आँखाले देख्नुलाई दर्शन भनिदैन । दार्शनिक दृष्टिका लागि तेश्रो आँखाको आवश्यकता पर्छ । तर तेश्रो आँखा सजिलै खुल्दैन । हामी चेतना, बुद्धि एवं संकल्पको एकीकरणबाट साधनाको मार्गमा ओर्लनसम्म त सक्छौं, तर हिँड्न अझै ठूलो धेैर्यपूर्ण यात्राको आवश्यकता पर्दछ । दर्शन एवं अध्यात्म–विद्याको धारावाहिक रचनाकोलागि मेरो धैर्यपूर्ण यात्रा वास्तवमा एउटा जटिल आरम्भ हो । जबसम्म मैले मेरो संकल्प–शक्तिलाई साधनाको आलोकमा स्थापित गर्न सक्दिन तबसम्म मेरो यो यात्रा जति बेला पनि खण्डित हुन सक्छ । त्यसैले अखण्ड यात्राकोलागि बुद्धि तत्वभन्दा पनि चेतनाकै  शिवतम शरणमा पर्न सक्नुपर्छ । बुद्धि त थाक्छ , तर परम् शिवतत्वको असीम संकल्प शक्ति कहिल्यै थाक्दैन । बुद्धि तथा इन्द्रियहरु सुषुप्त रहँदा पनि शिवतम् चेतना अखण्ड–दीपरुपले प्रकाशित भइरहन्छ । तिनै अखण्ड प्रकाश स्वरुप शाश्वत, निराकार एवं निवीज शिव–तत्वलाई अनन्तकोटी नमन गर्दै यो मंगलकार्यको थालनी गरेको छु । 

दर्शन एक अलौकिक आनन्दको विषय हो । दर्शन भन्नासाथै अमूर्त विषयको जिज्ञासासँग ठोकिन्छ । अझ दर्शनसँग अध्यात्मको अभेद्द सम्बन्ध रहेको हुन्छ । दर्शन तथा अध्यात्म क्षेत्रमा यात्रारत विद्यार्थीकालागि आर्थिक फाइदा तथा भौतिक जगतको चाकचक्य फिका एवं सामान्य अनुभव हुन्छ । दर्शन तथा अध्यात्म क्षेत्रका उपासकहरुको यो प्रमोदपूर्ण यात्रालाई पाश्चात्य दार्शनिक प्लेटो “दर्शनको प्रिय आनन्द” भन्छन् । प्लेटोको त्यस समयलाई बुद्धिको युग भनेर पनि चिनिन्छ । पश्चिम कै अर्का दार्शनिक ब्राउनिंग दार्शनिक जिज्ञासालाई जीवनको आधारभूत पक्ष भन्छन् । “जीवनको एक विशिष्ठ अर्थ हुन्छ र त्यस अर्थको खोजी मेरालागि भोजन तथा पानी सरह नै हो” ब्राउनिंग भन्छन् ।

 तैपनि मानवीय समाज गन्तव्यहीन यात्रामा अल्मलिँदै छ । अर्थहीन विषयमा प्रयत्न गर्दैछ । हामी भित्र र बाहिर अनौठो द्धिविधा छ, अराजकतापूर्ण द्धन्द छ । तथापि हामी विश्वास गर्छौं कि हामी भित्र कुनै सशक्त सत्ता छ । त्यो सत्ताको सहारामा हामी अमूर्त सत्यको उद्घाटन गर्ने जमर्को गर्छाैं । अमूर्त विषय भन्नासाथ हाम्रो अन्तरजगतीय साम्राज्यको खोजी नै हो । त्यो अन्तरजगतीय साम्राज्य मन तथा आत्मा नै हो । हामी जीवनको सत्य खोजीरहेका छौं । जुन सत्य हाम्रो आन्तरिक सत्ताबाट उद्भाषित हुन्छ । त्यो आन्तरिक सत्तालाई उद्भाषित गर्न आवश्यक पर्ने साधन भनौ या बाटो हामी खोजीरहेका छौं । सनातन सत्यको खोजी नै दर्शन तथा अध्यात्मको मूल बाटो हो । अध्यात्म विद्या जटिलतालाई सरलतामा बदल्ने एउटा अनूपम साध्य हो । जटिलतासँग कसरी सामना गर्ने र साक्षात मृत्युको अगाडि पनि कसरी मुस्कुराउने भन्ने कला अध्यात्मको तेजस्वी सत्ताले सिकाउँछ । हामी पूर्णता प्राप्त गर्न चाहन्छौं । आफ्ना अनन्त इच्छाहरुलाई छानेर इच्छा तथा सामथ्र्यका वीच सन्तुलन स्थापित गर्न सक्नु नै अध्यात्मको सफल प्रयोग हो ।  पश्चिमी दार्शनिक थ्युरोको भनाइ छ कि “केबल गम्भिर एवं उच्च विचारहरुको पोषण या कुनै गहकिला तथा क्ल्ष्टि विचारधाराबाट सम्बद्ध हुनु दार्शनिकता हैन, बरु ज्ञान अथवा विद्या प्रेम चाहि असली दार्शनिकता हो र त्यही ज्ञान तथा विद्या प्रेमका साथ जीवनयापन गर्नु दर्शनको उत्कृष्ट साधना हो ।” अर्थात सादगी, स्वतन्त्रता, एवं आस्थामय जीवन विताउनु नै वास्तविक दार्शनिकता हो । 

दर्शनका अनेक सम्प्रदायहरु छन् । मुख्यतः पूर्वीय(भारतीय) र पश्चिमी दर्शनको अस्तित्व समृद्ध छ । दर्शनको मूलभूत सिद्धान्त सत्यको खोजी तथा मूर्त अमूर्त विषयको सूक्ष्म विश्लेषण हो । पश्चिमी दार्शनिक फ्रान्सिस बेकन सत्यलाई समृद्धि भन्दा स्वतन्त्रताको साधन ठान्छन । भारतीय दर्शन सम्प्रदायमा पूर्वीय दर्शनमा इहलौकिक र पारलौकिक अथवा लोक तथा लोकोत्तर सत्ताको खोजी गरिएको छ । पश्चिमी दर्शन र पूर्वीय दर्शन परम्परामा खासगरी एउटा विशिष्ट र मौलिक भिन्नता छ । पश्चिमी दर्शन भौतिक जीवन तथा यसका असीमित पक्षहरुलाई उत्सुकता एवं आश्चर्यपूर्ण ढंगबाट खोतल्ने काम गर्छ भने पूर्वीय दर्शन जीवनलाई साधनाका माध्यमबाट अखण्ड सत्यको प्रबुद्ध सत्तामा अनुभूत गर्न चाहन्छ । पूर्वीय दर्शन आत्माको सत्तालार्ई सर्वोपरि मान्दै कैवल्यको साम्यावस्थामा पुग्ने र आत्मसत्ताको शाश्वत अनुभूतिमा लय हुने प्रयत्न गर्दछ । तसर्थ पूर्वीय दर्शन केवल उत्सुकताजन्य खोजी मात्र हैन जीवनलाई शाश्वत आलोकमा भाषित गर्ने संकल्प पनि हो । 

पूर्वीय दर्शन साधना तथा अभ्यासका माध्यमबाट अविद्यालाई स्थानच्युत गरी प्रज्ञाको उद्भाष गर्ने अविरल यात्रा हो । जब विद्या या बेधिको उपलब्धि हुन्छ तब शक्ति एवं निष्ठा प्राप्त हुन्छ । यसबाट साधकको प्रकृति पूर्णतः न्यूनतम रुपमा आलोकित हुन्छ र अन्तर्मुखी आयाममा लीन हुन पुग्छ । पूर्वीय दर्शन अनुसार मोक्ष, निर्वाण तथा ईश्वरीय सत्ता मनको आन्तरिक स्थिति हो । जुनसुकै धर्मको लक्ष्य मन तथा आत्माको शुद्धि नै हो । असीमित वासना एवं लालसाको दासताबाट मुक्त हुने उपाय खोज्ने कार्यमा पूर्वीय दर्शनलाई पश्चिमी दर्शनले भेट्न सक्दैन । पश्चिमी दर्शन सत्यको अन्वेषण त गर्छ तर निष्ठापूर्ण अवतरणका लागि खासै ध्यान दिँदैन । भक्ति विनाको निष्ठा फल रहित बृक्ष जस्तै हो । भक्तिमा समर्पण हुन्छ । तर पश्चिमी दर्शनमा समर्पण भन्दा पनि जिज्ञासा हुन्छ । भक्ति कुनै शास्त्रीय एवं ज्ञान–परम्परामा बाँधिदैन, न त राजयोग जस्तै मनोवैज्ञानिक शास्त्रमा या हठयोग जसरी मनोभौतिक विज्ञान तथा ज्ञानयोगको विधि जस्तै कुनै बौद्धिक प्रव्रिmयाद्धारा सञ्चालन गर्न सकिन्छ । हाम्रो प्रकृति भन्दा पर एक यस्तो सत्ता छ, जो अति विशाल, शक्तिशाली एवं अपरिमेय छ । यस शक्तिको उद्गम स्थल आफैंमा अचिन्त्य छ । यो शक्ति प्रकृति भन्दा पर भए पनि शक्तिको श्रोत भने प्रकृति नै हो ।  (लेखक खनाल दर्शन शास्त्रका अध्यापक तथा अध्यात्मसाधक हुन्)

यसकारण दुख पनि भुलिन्छ , कैलाश यात्रामा

जिवीत छँदै साक्षात् भगवानको दर्शन गर्न पाइने अवसरको लागि म लगायतको टोली मानसरोवर कैलाश यात्रा गर्न तयार भयौं । अकस्मात् बनेको यो यात्रा कष्टकर हुन्छ

मृत्युको नामैसँग किन डराउँछ मान्छे ?

हिन्दीमा मृत्युका बारेमा एउटा चर्चित साहित्य छ, ‘जिन्दगी तो बेवफा है, एक दिन ठुकराएगी, मौत महबुबा है अपनी साथ ले के जाएगी’, यसले के पुष्टि गर्छ भने

 को हुन् विश्वको पहिलो महिला शंकराचार्य 

काठमाडौँ, ३ साउन । विश्वको पहिलो महिला शंकराचार्य हेमानन्द गिरीलाई यहाँ सम्मान गरिएको छ ।  नेपाल व्यापार संघद्वारा आज यहाँ आयोजित कार्यक्रममा

पशुपतिमा बन्यो गँजडीरहित ध्यान साधना केन्द्र 

काठमाडौं । गाँजा तान्ने अखडा र माग्नेको लामलाई मुक्त गरी पशुपति क्षेत्रलाई ध्यान तथा योग साधना स्थलका रुपमा योजनाबद्ध विकास गर्ने अभियान शुरु भएको छ