मोदी भ्रमणको नियत– ढाड (मधेस)मा टेकेर टाउको (काठमाडौं)मा हान्ने

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर यात्राको सेरोफेरोमा जेजे भयो, उनले जे बोले, त्यसलाई मिहिन ढंगले केलाउन आवश्यक छ ।

मोदीको भाषण र भ्रमणको नियत र अर्थ कसरी खोज्ने भनेर पूर्व प्रसंगमा जानुपर्छ । उनले नेपालमा अत्यन्तै चर्चित भाषण गरेका थिए-संविधानसभामा । ऋषि मनले संविधान बनाउनुपर्छ, सहमतिका आधारमा संविधान बनाउनुपर्छ भनेर उपदेश दिएका थिए । 

ऋषि मन र सहमति शब्दावली मोदीको मुखबाट निस्कनु राम्रो लक्षण होइन भनेर थोरैले मात्र त्यसबेला भनेका थिए । ६०१ जनाको संविधानसभाले सहमतिका आधारमा संविधान बनाउन किमार्थ सक्ने थिएन । नभन्दै त्यस्तै भयो । संविधान नबनाउ भन्दै खुल्ला हस्तक्षेप गरेपछि अनि नाकावन्दी लगाएपछि मात्र ‘ऋषि मन’ र ‘सहमतिमा संविधान’ शब्दावली भित्रको नियत खुल्यो । 

मोदीले जनकपुरमा पनि अनेक अर्थपूर्ण संकेत गरेका छन् । ती संकेत पहिल्याउन आवश्यक छ । ती संकेत पहिल्याउन भारतको नफेरिएको नीति र फेरिएको रणनीतिबारे विमर्श हुन आवश्यक छ ।

मधेस ढाड, काठमाडौं टाउको

फेरिएको भारतीय रणनीतिलाई एक वाक्यमा भन्नलाई प्रचण्डको भनाई सापट लिन सकिन्छ । त्यो भनाई हो– ‘ढाडमा टेकेर टाउकोमा हान्ने ।’ नेपालको नयाँ परिस्थितिमा भारतले दुई नम्बर प्रदेशलाई ढाड बनाएर टाउकोरुपी काठमाण्डौंलाई हान्ने रणनीति बनाएको देखिन्छ । मोदीको जनकपुर भ्रमणको सेरोफेरो नियाल्दा यही संकेत पहिल्याउन सकिन्छ ।


जति लम्पसार परे पनि नेपालका नेताहरुलाई भारतले विश्वास गर्दैन । भारतले आशिर्वाद खन्याउने नेता बारम्बार फेर्नुको एक कारण यो पनि हो । विगतका नेताहरु, प्रधानमन्त्री र मन्त्रीहरुलाई हामीले जति आलोचना गरे पनि उनीहरुले भारतीय स्वार्थबाट धेरै हदसम्म देशको रक्षा गरेकै हुन् । लम्पसारको पराकाष्ठा बनेको भनिएका प्रचण्डले प्रधानमन्त्री हुँदा अन्तिम क्षणमा चीनसँग बेल्ट एण्ड रोड सम्झौता गरिदिएको तीतो सत्य भारतले भुल्न सक्दैन । भारतले प्रधानमन्त्री बन्न दिन चाहेको थिएन सुशील कोइरालालाई । तथापि उनी भारतीय स्वार्थको घेराभन्दा बाहिर जान सक्दैनन् भन्ने ठानिएको थियो । सुशीलले संविधान जारी गरेर भारतलाई भयंकर चोट लगाइदिए । देउवाले भारतीय इच्छा अनुसार चुनाव रोक्न सकेनन् ।

ओलीको त कुरै भएन ।

काठमाडौंले कहिल्यै पनि भारतीय स्वार्थ यथेष्ट मात्रामा पूरा गरिदिएन । सामान्य स्वार्थ पूरा गर्न पनि ठूलो दवाब दिनुपर्ने अवस्थामा भारत रहँदै आएको छ । नेपालमा भारतप्रति यति धेरै अविश्वास छ कि भारतीय प्रधानमन्त्री आउँदा गरिने आतिथ्य समेत विवादमा पर्छ । यो अवस्था भारत स्वयंले सिर्जना गरेको हो । 

काठमाडौंलाई तह लगाउन भारतले जनजाति र मधेसी कार्ड आविष्कार गर्यो । जनजाति कार्डले काम गरेन । मधेसी कार्डले नेपाललाई ठूलो दवाबमा राख्यो र अहिले पनि राखिरहेको छ । 

जनकपुर भाषणमा भारतीय मिथिला र नेपाली मिथिला संस्कृतिको एकीकृत व्याख्यामा मोदीले जुन समय खर्चिए, त्यो अर्थपूर्ण छ । मिथिला संस्कृति र प्राचीन गौरवको चर्चा गर्दै काव्यात्मक शैलीको आवरणमा मोदीले –‘हमारे सपना एक है, लक्ष्य एक है, आत्मा एक है’ जो भने, त्यसको अर्थ भविष्यमा खुल्दै जानेछ ।

मोदीले ‘मधेस’ र ‘मधेसी’ शब्द एकपटक पनि उच्चारण गरेनन्, त्यसको विकल्पमा ‘मिथिला’ शब्द प्रयोग गरेको देखिन्छ । मधेस र मधेसी उच्चारण नगर्नु तर मिथिलामा फोकस गर्नुको अर्थ अवश्य छ ।


जानकी माताको बहाना

मोदीको भनाईको सारतत्व मुख्यमन्त्री लालबाबु राउतको भनाईमा खोज्न सकिन्छ । राउतले संविधानको ठाडै विरोध गरे । विदेशी सरकार प्रमुखलाई अभिनन्दन गरिने मञ्चमा आफ्नो देशको संविधानको विरोध गर्न मिल्दैन भन्ने लालबाबुले नबुझेका होइनन्, बुझेरै विरोध गरेका हुन् । पूर्व योजना अनुसार नै राउतले चर्किचर्कि बोलेका हुन् । 

हिजो मोदीले जे बोलेका थिए, आज लालबाबुले त्यही बोले । मोदीले अहिले जे बोल्न मिल्दैन, लालबाबुले त्यही बोले । अर्थात्, लालबाबुको मुखबाट बोल्न लगाइयो । यसको दूरगामी अर्थ छ ।

यी निम्न तीन चिजलाई एउटै भाँडामा हालौं–

१) तराईको राजनीतिक पृष्ठभूमि
२) तराईमा भारतको नाङगो रुची
३) र, मोदीको जनकपुर भाषण,

अब लालबाबुको अभिव्यक्तिलाई चाहिँ तराजु ठानौं । त्यो तराजुले भाडा तौल गरौं । यो नापतौलबाट मुख्यत तीनवटा निष्कर्ष निकाल्न सकिन्छ–

१) भविष्यमा नाकावन्दी जस्तैजस्तै केही हुनेछ र त्यो दुई नम्बर प्रदेशको तर्फबाट हुनेछ
२) अब भारतले नेपालमा हस्तक्षेप गर्नुपर्दा मुख्यगरी दुई नम्बर प्रदेशको आडमा गर्नेछ 
३) दुई नम्बर प्रदेशलाई भारतले ब्ल्याकमेलिङ चिप्सका रुपमा प्रयोग गर्न प्रयास गर्नेछ । 

यसो होइन भने किन दुई नम्बर प्रदेशको राजधानी गएर मोदीले आमसभा गर्नुपर्यो ? मोदीको उद्देश्य जानकी माताको दर्शन गर्ने मात्र होइन, दर्शनको आवरणमा केही ठोस मनोविज्ञान फैलाउने हो भन्ने आमसभामा गरिएको लम्बेचौडे भाषणले छर्लङ्ग पार्छ । जानकी माताको दर्शन गर्न मोदी जतिबेला आए पनि हुन्थ्यो । दर्शनको आवरणमा कुटिल राजनीति नै गर्न खोजिएको हो । श्रीलंकाका तत्कालीन राष्ट्रपति महिन्दा राजापाक्षे लुम्बिनी दर्शन गर्न आएका थिए, भूटानकी महारानी पनि लुम्बिनी दर्शन गर्न आइन् । उनीहरुले आमसभा गरेनन् । मोदी पनि तिर्थयात्रीका रुपमा जानकी मन्दिर आए हुँदैनथ्यो ? आमसभा नै गर्न पथर््यो र ?

जानकी माताको आवरणमा मोदीले भारत माताको स्वार्थलाई अगाडि बढाएका छन् । नेपाल माताको स्वार्थ रक्षा मोदीले गरिदिने होइन, नेपाली जनता र नेपाली नेताहरुले नै गर्न सक्नुपर्छ । भारतका प्रधानमन्त्री नेपाल आउँछन्, उनले आफ्नो देशको हित नगरेर नेपालको हित गरिदिनुपर्छ भन्ने आशे मानसिकता गलत छ । मोदीले आफ्नै देशको हित हेर्ने हुन् ।


फेरिएको रणनीति

नेपालमा संविधान नै नबनोस्, निरन्तर अस्थिरतामा फसोस् भन्ने भारतले चाहेको थियो । यो प्रमाणित तथ्य हो । संविधान बनाउन नदिनु र नाकावन्दी लगाउनु नेपाललाई अस्थिरतामा फसाइरहने भारतीय नीतिको प्रमाण थियो । 

संविधान बन्यो । तत्कालै संविधान भत्काउन नसकिने देख्यो भारतले । त्यसपछि उसले नयाँ उपाय अपनायो– चुनाव हुन नदिने । नेपालमा आन्तरिक परिस्थिति यस्तो बन्यो कि कसैले चाहे पनि चुनाव रोक्न नसकिने भयो । चुनाव भयो । चुनाव पछि भारत पूरानै नीति र नयाँ रणनीतिसाथ नेपालको राजनीतिक मैदानमा आएको छ । 

चुनावपछि भारतले ओलीलाई फकाउने यत्न थाल्यो । ओली कति फकिए भन्ने प्रष्ट भइसकेको छैन । सरकार प्रमुखका रुपमा पालना गर्नुपर्ने शिष्टाचार र छिमेकी देशका सरकार प्रमुख आउँदा देखाउनुपर्ने आतिथ्यकै आधारमा ओली लम्पसार परिसके भनी निष्कर्ष निकाल्नु मनासिब  हुँदैन ।

वाम गठवन्धनको उदय भएको छ, यसकै नेताहरुलाई भारतले कठपुतली बनाउन खोज्छ नै । भारतले त्यही प्रयास गरिरहेको छ । झन् ओली त प्रधानमन्त्री नै भए, उनलाई आफ्नो पोल्टामा पारेर दुना सोझ्याउने प्रयत्न भारतले गर्छ नै । ओलीलाई कसरी लम्पसार पार्न सकिन्छ, कसरी चुकाउन र झुकाउन सकिन्छ भन्ने डिजाइनमा भारतले काम गरिरहेको बुझ्न गाह्रो छैन । 

भारतले नयाँ संविधान र चुनावपछिको परिस्थितिलाई ध्यानमा राखेर रणनीति परिवर्तन गरेको बुझ्न पनि गाह्रो छैन । जनकपुर भ्रमण, भाषण र सेरोफेरोले संकेत गर्यो– भारत फेरिएको होइन, भारतको रणनीति फेरिएको हो । मोदी फेरिएका होइनन्, उनको रणनीति फेरिएको हो । 

खतरामा ओली सरकार : तर कताबाट ? को बाट ?

तरवारको धारमा चलिरहेको हुन्छ सरकार जहिले पनि । जताततैबाट खतरा हुन्छ । त्यसैले केपी ओलीको सरकार पनि खतरामा छ । ओली सरकारलाई कताबाट खतरा छ ? केबाट खतरा छ ?

 सुकेको काठ जस्तै यसरी भाँचियो नेपालको राजसंस्था  

लचकदार राजतन्त्र टिक्दोरहेछ। एउटा जमाना अर्कै थियो। बेलायती साम्राज्यमा सूर्य अस्ताउन छोडेको थिएन। सन् १९३६ मा राजा जर्ज (पाँचौ) को ईहलिला समाप्त

कम्युनिस्ट एकता ! बधाई काङ्ग्रेस !

मुलुकका दुई ठूला कम्युनिस्ट पार्टीहरूको एकता भएर नेपाल कम्युनिस्ट पार्टी अन्डरलाइन बनेछ । समान विचार र स्वार्थका दलहरूकावीचमा ध्रुबीकरण

नमस्कार, अण्डरलाईन एयरलाइन्समा स्वागत छ !

 ‘इतिहासमा धेरै कम्युनिष्ट पार्टीहरुले आन्दोलनका समय ठूल्ठूला त्याग र वलिदान गरेका छन्। तर सत्तामा पुगेपछि भ्रष्ट स्खलित र आदर्शहीन भएको उदाहरण