त्यसबेला किन झस्केका थिए देउवा ?

२०७४ सालमा सम्पन्न निर्वाचनहरूमा नेपाली काङ्ग्रेसले व्यहोर्नुपरेको महापराजयका निम्ति सभापति शेरबहादुर देउवाले जिम्मेवारी लिन नचाहेको विषयलाई लिएर अनेकौँ टीका–टिप्पणीहरू भएका छन् । आममानिसले देउवालाई खिल्ली उडाउँदै ‘काङ्ग्रेस पराजयको जिम्मेवारी केपी र प्रचण्डले लिनुपर्ने भयो’सम्म भनिरहेका छन् । देउवाको वास्तविक औकात, चरित्र र क्षमता नबुझ्नेहरुले चाहिँ उनी पार्टीमा निकै बलियो भएको ठानिरहेका छन् । वास्तवमा देउवा कुन काँटी र कोटिका नेता हुन् भन्ने सूक्ष्म जानकारीका लागि स्पष्ट गर्न यहाँ यादव शर्माको संस्मरणात्मक लेख प्रस्तुत गरिएको छ :

काङ्ग्रेस छोडेर पञ्चायत प्रवेश गर्ने तयारीमा लागेको सूचना पाएपछि तात्कालिक पार्टी सभापति कृष्णप्रसाद भट्टराईले शेरबहादुर देउवालाई ‘अध्ययन’ गर्न बेलायत पठाइदिनुभएको थियो । २०४६ सालको जनआन्दोलनले निर्दलीय पञ्चायत विस्थापित गरेपछि देउवालाई नेपाल फर्काइयो । पञ्चायत नढलिन्जेल उहाँलाई नेपाल फर्काउने ‘हिम्मत’ किशुनजी जस्ता नेताबाट पनि हुन सकेको थिएन । शेरबहादुर देउवा ‘अब्जर्भर स्टुडेन्ड’को रूपमा केही काल बेलायतमख बरालिएर २०४७ मा नेपाल फर्किएपछि कोपुण्डोलस्थित बलबहादुर कुँवरको घरमा बस्ने गर्नुहुन्थ्यो । उहाँसँग मेरो पहिलो भेट त्यहीँ भएको थियो ।

कुराकानीपछि देउवा एक सामान्य, अति साधारण, मित्रवत र न्यून बौद्धिक व्यक्ति भएको ‘इम्प्रेसन’ लिएर म त्यस दिन कुँवरको घरबाट फर्किएको थिएँ । त्यसपछि बारम्बार हाम्रो भेट भइरहन्थ्यो, कहिलेकाहीँ मैले मेरो स्कुटरमा राखेर पनि उहाँको ‘डेस्टिनेसन’सम्म छोडिदिनुपथ्र्यो । ०४८ को वैशाखमा डडेल्धुराबाट काङ्ग्रेसले उम्मेदवार बनाउने भएपछि ०४७ को आखिरीतिर उहाँ काठमाडौं छोडेर डडेल्धुरा प्रस्थान गर्नुभएको थियो ।

चुनावमा विजय हासिल गरेर फर्किँदा देउवाको चर्चा निकै बढिसकेको थियो । सुदूरपश्चिमका अठारमध्ये सत्र स्थानमा काङ्ग्रेस जिताएको जस (यश) उहाँले पाउनुभयो । सांसद बनेर काठमाडौं फर्किएपछि एक दिन शेरबहादुर देउवाले मलाई घट्टेकुलोस्थित एक मित्रको घरमा आउन भन्नुभयो । म पुग्दा उक्त घरमा बाहिरी मानिस कोही थिएनन् । उहाँ निकै प्रफुल्लित मुद्रामा हुनुहुन्थ्यो, दुई आँखा चमचमचम चम्काउँदै सोध्नुभयो, ‘मलाई गिरिजाप्रसादले जलस्रोत मन्त्रालय लिने कि गृह भनेर रोज्न दिनुभएको छ, कुनचाहिँ लिने हो यार ?’

त्यसताका उहाँ आफ्ना साथीहरूलाई ‘यार’ शब्द प्रयोग गर्ने गर्नुहुन्थ्यो । देउवाको कुरा सुनेर म एकछिन स्तब्ध भएँ, स्तब्ध किन भएँ त्यसको चर्चा पछि गरौँला, तर तत्काल सम्हालिँदै मैले उहाँलाई सुझाब दिएँ, ‘विकास गर्ने भए जलस्रोत लिने, शासन गर्ने भए गृह मन्त्रालय लिनुपर्छ ।’

मेरो वाक्य पूरा नहुँदै उहाँको मित्रबाट प्रतिक्रिया आयो, ‘विकास–सिकासका कुरा नगरौँ, गृह मन्त्रालय लिनुपर्छ ।’ अन्ततः गृह मन्त्रालय नै लिने निर्णयमा देउवा पुग्नुभयो र त्यसको केही दिनमै तात्कालिक प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले शेरबहादुर देउवालाई गृहमन्त्री नियुक्त गर्नुभएको थियो ।

त्यस दिन शेरबहादुर देउवाले जलस्रोतमन्त्री बन्नु ठीक कि गृह भनेर प्रश्न गर्दा म किन स्तब्ध भएको थिएँ भने मेरो दिमागमा ‘मन्त्री’को ‘इमेज’ अलिक भिन्न थियो । मन्त्री बन्नका लागि मानिसमा योग्यता र विशिष्ट क्षमता आवश्यक पर्छ भन्ने बुझाइ मेरो थियो । तर, शेरबहादुर देउवाजी पनि मन्त्री बन्ने भएपछि मन्त्री बन्न मानिसमा विशेष क्षमता र योग्यता चाहिन्छ भन्ने भ्रमबाट म त्यसै दिन मुक्त भएको थिएँ । घट्टेकुलोस्थित देउवा रहनुभएको घरबाट बाहिरिँदा मेरो मन–मस्तिष्कमा जे आइरहेको थियो त्यो अहिलेसम्म स्मृतिमा छ । ‘मन्त्री बन्न जस्तोसुकै मानिसले पनि मिल्ने रहेछ, त्यसका निम्ति विशेष क्षमता र योग्यताको आवश्यकता नपर्ने रहेछ’ भन्ने ज्ञान मैले आर्जन गरेको थिएँ ।

यसरी देउवा मन्त्री बन्ने कुरा सुनेरै स्तब्ध भएको मैले उनवालाई पटकपटक प्रधानमन्त्रीका रूपमा हेर्नु/व्यहोर्नुपऱ्यो । यस घटनापछि मलाई नेपालमा जस्तोसुकै मानिस जुनसुकै पदमा पुग्न सक्ने रहेछन् भन्ने ‘ज्ञान’ प्राप्त भएको छ । उनले दिएको अर्को ‘शिक्षा’ जसरी भए पनि सत्तामा पुग्नुपर्छ र सत्तामा पुगेपछि जस्तासुकै हथकण्डा अपनाएर भए पनि टिकिरहनुपर्छ भन्ने हो । त्यस्तै राजनीतिमा नैतिकता या नैतिक जिम्मेवारी भन्ने कुरा हुँदै हुँदैन भन्ने सन्देश पनि उनले दिँदै आएका छन् ।

०५१ मा सम्पन्न मध्यावधि निर्वाचनमा नेपाली काङ्ग्रेसले बहुमत हासिल गर्न सकेन । सामान्य बहुमतले नपुगेर दुईतिहाइ स्थान हासिल गर्ने आकाङ्क्षासहित मध्यावधि चुनावमा गएका तात्कालिक प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई लज्जाबोध भएको हुँदो हो, उहाँले आफू संसदीय दलको नेता बन्न चाहनुभएन । शैलजा आचार्य र खुमबहादुर खड्कालाई उम्मेदवारी फिर्ता लिन लगाएर गिरिजाप्रसादले शेरबहादुरलाई संसदीय दलको नेता बन्न सहयोग पुऱ्याउनुभयो । देउवामा सोझो र निकम्मापन ज्यादा देखिएकोले यस्ता मानिस नेता बन्न सक्दैनन् भन्ने ठानेर नै हुनुपर्छ, कोइरालाले आचार्य र खड्कालाई उम्मेदवारी फिर्ता लिन लगाएर देउवालाई काङ्ग्रेस संसदीय दलको सर्वसम्मत नेता बन्न सहयोग पुऱ्याउनुभएको थियो । तर, दलको नेताका हैसियतमा देउवा महाराजगञ्जस्थित सरकारद्वारा भरत गुरुङबाट खोसिएको घरमा बस्ने गर्नुहुन्थ्यो । प्रमुख प्रतिपक्षी नेताका रूपमा उहाँको ‘पर्फर्मेन्स’ प्रभावकारी हुन सकेन ।

तात्कालिक प्रधानमन्त्री मनमोहन अधिकारीद्वारा विघटन गरिएको संसद् पुनस्र्थापना हुने या नहुने विषयको टुङ्गो ०५२ भदौ १२ गते सर्वोच्च अदालतबाट लाग्दै थियो । कदाचित संसद् पुनस्र्थापना भयो भने देउवा प्रधानमन्त्री बन्नुपर्ने अवस्था आउन सक्छ, यस्ता मानिस प्रधानमन्त्री बने भने स्वयम् ‘एक्स्पोज्ड’ हुने र देशको बर्बादी हुन सक्ने ठानेर ०५२ भदौ ५ गते अपराह्न तीन बजे म देउवाको सरकारी निवासस्थान महाराजगन्ज पुगेँ । र, भनेँ, ‘संसदीय दलको नेताका रूपमा तपाईंको ‘पर्फर्मेन्स’ राम्रो देखिएन । तपाईंले आफूलाई अलिक सक्षम बनाउनुपऱ्यो, त्यसपछि मात्र प्रधानमन्त्री बन्नु उपयुक्त होला । यदि भदौ १२ गते सर्वोच्च अदालतले संसद् पुनस्र्थापनाको निर्णय लियो भने तपाईंले दलको नेताबाट राजीनामा दिएर गिरिजाप्रसाद कोइरालालाई प्रधानमन्त्री बन्न सहयोग पु¥याउनु उचित हुन्छ ।’ मेरो कुरा सुन्नेबित्तिकै झस्किएर देउवाले सोध्नुभयो, ‘तपाईंलाई गिरिजाप्रसादले यसो भन्न पठाएको हो ?’

जवाफ फर्काएँ, ‘होइन ।’ वास्तवमा गिरिजाप्रसादले मलाई पठाउनुभएको थिएन । आफैँमा क्षमताको विकास नगरी प्रधानमन्त्री बन्दा देउवा संसारका अगाडि हास्यपात्र बन्नुहुने हो कि भन्ने चिन्ताले मात्र मैले उहाँलाई तत्काल प्रधानमन्त्री बनेर अयोग्य प्रमाणित नहुन सुझाएको थिएँ । तर, उहाँले गिरिजाप्रसादको सन्देश लिएर आएको ठान्नुभएछ । मैले आफू गिरिजाको सन्देशबाहक नभएको स्पष्ट गर्दै ‘किन मलाई गिरिजाले पठाएको भनेर शङ्का गर्नुभएको’ भन्ने जिज्ञाशा राखेपछि देउवाले भन्नुभएको थियो, ‘आज बिहान विपिन कोइराला र अर्जुननरसिंह केसी गिरिजाबाबुले पठाएको भन्दै मलाई संसदीय दलको नेता पद त्यागेर गिरिजाबाबुलाई प्रधानमन्त्री बन्न सघाउनुपऱ्यो भन्न आएका थिए, तपाईंलाई पनि गिरिजाप्रसादले नै पठाएको हो कि भनेर सोधेको हुँ ।’

मैले पुनः स्पष्ट गरेँ, ‘मलाई गिरिजाप्रसादले पठाएको होइन, संसदीय दलको नेता पदमा रहँदा तपाईंको ‘पर्फर्मेन्स’ राम्रो नभएकोले आफूलाई तयार गरेर मात्र प्रधानमन्त्रीको जिम्मेवारी लिनुपर्छ भन्ने मेरो सदासयता हो । जिम्मेवारी लिइसकेपछि गिरिजाझैँ असफल होइन सफल बन्न सक्नुपर्छ ।’

मेरो कुरालाई देउवाले सहजतापूर्वक लिनुभएको महसुस मैले गरिनँ त्यस दिन । ०५२ भदौ १२ गते सर्वोच्च अदालतले संसद् पुनस्र्थापनाको निर्णय दियो, मनमोहन अधिकारीको नेतृत्वमा रहेको सरकार विस्थापित भई शेरबहादुर देउवाको नेतृत्वमा राप्रपासहितको गठबन्धन सरकार बन्यो । मैले मन्त्री बन्नका लागि योग्य ठहर गर्न नसकेका व्यक्ति त्यसयता चारपटक प्रधानमन्त्री नै बनिसक्नुभएको छ । यस प्रकरणले यो देशमा जोसुकै व्यक्ति जेसुकै बन्न सक्छन्, कुनै पनि जिम्मेवारी प्राप्त गर्न भाग्य र परिस्थितिको साथ भए पुग्छ, इमानदारी, दूरदर्शिता र विशिष्ट कुनै क्षमता नचाहिने रहेछ भन्ने ‘शिक्षा’ दिएको छ । अविवाहित शेरबहादुर देउवामा ‘सिम्प्लिसिटी’ र इमानदारी भएको महसुस गरिन्थ्यो, विवाहपछि ‘त्यो’ पनि अन्त्य भएको छ । तर, नेपाली काङ्ग्रेसले यस्तै मानिसलाई पार्टी सभापति र संसदीय दलका नेताको जिम्मेवारीसमेत पटकपटक सुम्पिएको छ ।

देउवाको नेतृत्वमा काङ्ग्रेसले र सिङ्गो देशले प्राप्त गर्न सक्ने केही छ भने त्यो केवल बर्बादीबाहेक थप केही हो भन्न सकिँदैन, बर्बादीकै निम्ति काङ्ग्रेसजन किन यसरी लामबद्ध भएका छन्, उदेकपूर्ण प्रश्न खडा भएको छ । क्षमता हुनेले अल्पकालमै केही गर्न सक्छन् भन्ने तीन महिना मात्र प्रधानमन्त्रीको जिम्मेवारीमा रहेका श्री ३ देवशमशेरले पुष्टि गरिसकेका छन् । कुनै पनि औषधिको उपयोगिताको परीक्षण एक या विशेष अवस्थामा दुईपटकसम्म हुन सक्छ र फलामलाई जतिसुकै पटक गाले पनि त्यो सुन बन्दैन, फलाम नै रहन्छ भन्ने जान्दाजान्दै पनि काङ्ग्रेसजनले पटकपटक देउवालाई मौका दिएर काङ्ग्रेसलाई कहाँ पुऱ्याउन खोजेका हुन्, चरम चिन्ताको विषय बनेको छ । ( http://www.ghatanarabichar.com मा यादव शर्माको विश्लेषण।) 

\'ओली सरकार सर्वसत्तावादतिर जाँदैछ\'- कांग्रेस नेता कोइराला

नेपालगंज । नेपाली काँग्रेसका नेता डा शेखर कोईरालाले शान्तीपूर्ण प्रदर्शनमा समेत बल प्रयोग गरेर निरंकुश शाही  शासनको झझल्को दिएको बताएका छन्। उनले

 यसकारण पूरा हुनुपर्छ डा. केसीका माग

मानिस कतिसम्म अविवेकी र निकृष्ट हुनसक्छ भन्ने तथ्य खोज्न सामाजिक सञ्जालका भित्ता हेरे पुग्छ । डाक्टर केसीमाथि अपशब्द बर्साउनेहरुको मनोदशा देखेर

शक्तिशाली नेताहरुलाई मार्सीले पखाला लागेपछि...

फागुनमा मार्सीको भात खुवाइयो र असारमा त्यसको गुन तिरियो, लाभ लिइयो । यो कुनै आरोप होइन र बाघ कराउने र बाख्रो हराउने संयोगमात्रै पनि भएन । एकै ठाउँ

गोली चलाएको भन्ने हल्ला झुुठो : उपप्रधानमन्त्री

विराटनगर, ५ साउन । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले जुम्लामा डा गोविन्द केसीलाई ल्याउँदा सरकारले गोली चलाएको भन्ने कुरा झुठो भएको बताएका छन्