१० इन्च लामो सुइरोले जिब्रो छेडेर नगर घुमे बुद्धकृष्ण

भक्तपुर, २ बैशाख । बिस्केट जात्रामा मनाइने थिमी बोडेको प्रसिद्ध जिब्रो छेड्ने जात्रामा आज दिउँसो थिमी बोडे ८ का ४६ वर्षका बुद्धकृष्ण वागश्रेष्ठले जिब्रो छेडेका छन्।
चैत मसान्तको दिन बोडे महालक्ष्मी मन्दिर प्राङ्गणमा लिङ्गो उठाएपछि जिब्रो छेड्ने व्यक्तिले निराहार ब्रत बसेर जिब्रो छेडी महादीप बोकी टोल टोल घुम्ने चलन छ ।
कर्मी र नाइकेहरूले विभिन्न देवगणको पूजा गरेपछि जिब्रो छेड्ने जात्रा गर्न दिउँसो २ बजे बोडेको पाँचो गणेशको दक्षिण फर्केको पाटीमा नकर्मीले एक महिनाअघि तयार पारी तेलमा डुबाइराखेको १० इन्च लामो सुइरोले हजारौं मानिसका अगाडि वागश्रेष्ठको जिब्रो छेडेका हुन्।
जिब्रो छेडेपछि चन्द्राकारकोे भ्वाय् अर्थात महादीप बोकेर टोलटोल घुमेका वागश्रेष्ठले पुनः भाँगु टोलमा पुगेर पाँचो गणेश मन्दिरमा जिब्रो छेडेको सुइरो निकालेर महालक्ष्मी मन्दिरमा ठोकेका थिए।
जिब्रोको घाउमा महालक्ष्मी मन्दिरको माटो झिकेर पोतेपछि जिब्रो छेड्ने व्यक्तिले नाट्येश्वरको पूजा गर्ने चलन छ । प्वाल भएको जिब्रोमा महालक्ष्मीको माटो लगाए घाउ निको हुने र त्यसमा अन्य औषधि लाउनुनपर्ने वागश्रेष्ठले बताए।
परम्परादेखि चल्दैआएकोे जिब्रो छेड्ने जात्रालाई लोप हुनबाट जोगाउन यसवर्ष आफूले जिब्रो छेडेको उनले बताए। यसअघि २०६२ देखि २०६५ सालसम्म चारवर्ष निरन्तर जिब्रो छेडेका थिए ।
उनले भने – ‘विभिन्न रोगका कारण डाक्टरले बाँच्दैन भनेका थिए । त्यही वर्ष मैले जिब्रो छेडें । मेरो रोग निको भयो । त्यसपछि रोजगारीका लागि दक्षिण कोरिया गएँ । उताबाट फर्किएपछि थिमिको कोरिया–नेपाल मैत्री अस्पतालमा निरन्तर एम्बुलेन्स चलाइरहेको छु ।’
अहिले भगवान्प्रतिको त्यही विश्वास र आस्थाले परम्परा जोगाउन फेरि जिब्रो छेडेको उनको भनाइ थियो ।
विसं २०६० सम्म उनकै दाजु कृष्णचन्द्र वागश्रेष्ठले १२ वर्षसम्म निरन्तर रुपमा जिब्रो छेडेका छन्। उनले २०६१ देखि २०६४ सालसम्म जिब्रो छेडका थिए। गतवर्ष पुनः जिब्रो छेड्नुभएका बुद्धकृष्णले यसवर्ष छैटौं पटक जिब्रो छेडका हुन्। जात्रा सञ्चालन गर्न मध्यपुरथिमि नगरपालिकाले रु १ लाख आर्थिक सहयोग गरेको छ । रासस