कुशल सैन्य कमाण्डरदेखि उपराष्ट्रपतिसम्म

काठमाडौँ, ५ चैत । दोस्रो कार्यकालका लागि निर्वाचित भएका नन्दबहादुर पुन नन्द बहादुर  पुन माओवादी द्वन्दका बेला  ‘पासाङ’ को नामले परिचित थिए । 

२०२२ कात्तिक ७ गते राङ्सी–९, रोल्पामा आमा स्व मनसरा पुन बुबा रामसुर पुनको माइलो सुपुत्रका रुपमा जन्मिएका उनी किसान परिवारबाट प्रतिनिधित्व गर्छन् । रामसुर पुनलाई छोरा पढाउन निकै समस्या थियो । एकातिर धेरै सन्तान अर्कोतिर गाउँका ठालुले सम्पत्ति खोसिदिनु । त्यसका बाबजुद पनि सबै छोरालाई अध्ययन गराए । प्युठान अड्डाबाट मुद्दा जितेर खोसिएका सम्पत्ति फिर्ता लिए । पाँचै भाइ छोरालाई रामसुरले त्यतिबेला आइएभन्दा माथिको अध्ययन गराए । ८३ वर्षीय रामसुर अहिले पनि कृषि कर्ममा नै सक्रिय छन् । 

नन्दबहादुरका  जेठा दाजु वीरबहादुर पुन इन्जिनियर, साइँला भाइ भीमप्रकाश पुन उच्च माध्यमिक विद्यालय प्राचार्य, काइँला भाइ दीपक पुन शिक्षण पेसा छाडेर खेती किसानी गर्छन । कान्छा भाइ कमल पुन अखिल (क्रान्तिकारी) केन्द्रीय सदस्य रहँदा सशस्त्र संघर्षमा २०५९ मा राज्यपक्षबाट मारिए । श्रीमती हस्तमाली पुनले जनयुद्धमा स्थानीय पार्टी कमिटीमा रहेर काम गरिन ।  उनका जेठा छोरा जितेन्द्र र कान्छो छोरा दीपेशसमेत पढाइ छाडेर जनयुद्धमा सहभागी भएका थिए । 

राजनीति शास्त्रमा स्नातकोत्तर पुनले औपचारिक शिक्षाबाहेक सैन्य विज्ञान, राजनीति दर्शनसमेत अध्ययन गरेका छन् । उनले नौ कक्षामा पढ्दै गर्दा २०३९ मा जङ्कोट–१, माडिचौरनिवासी हस्तमाली पुनसँग प्रेम विवाह गरेका हुन् ।  विसं २०३७ सालमा रोल्पाको राङ्सीमा कक्षा सातमा पढ्दा उनी  अनेरास्ववियू छैटौँको इकाइ अध्यक्ष भएका थिए । 

त्यहीँबाट दोस्रो जिल्ला सम्मेलन प्रतिनिधि भएर गए । प्रहरीले अवरोध गरेपछि दिनभरि ओडारमा लुकेर फर्किए । लिबाङमा पढ्दा शिक्षक कृष्णबहादुर महराको प्रभावले राजनीतिमा सक्रिय हुन थप प्रेरित गरेको थियो । महराको सरल स्वभाव र अध्यापन शैलीले उनलाई आकर्षित गररेको थियो । 

सङ्गठन बनाउन र कम्युनिस्ट आन्दोलनबारे अध्ययन गर्न महराले प्रेरित गरे । २०३९ सालमा अनेरास्ववियुको प्रथम उपकेन्द्रीय राष्ट्रिय सम्मेलन बुटवलमा भयो । उनी  लिबाङमा आठ कक्षामा पढ्दै गर्दा रोल्पा जिल्ला प्रतिनिधि भएर सहभागी भए । 

सो सम्मेलनमा जनगायक खुसीराम पाख्रिनले गाएको गीत अहिले पनि उनलाई सम्झना छ । जनगायक पाख्रिनको ‘अर्काको भारी बोकेर हामी उकाली–ओह्राली, कहिले त खोला कहिले त भन्ज्याङ डाँडाको चौतारी’ गीत पासाङले बिर्सिएका छैनन् । 

सम्मेलनबाट फर्केपछि प्रशासनले वारेन्ट जारी ग¥यो । विसं २०४५ मा दाङमा क्याम्पस भर्ना भएर उनी मशाल समूहको अध्यक्ष भए । प्रवेशिका परीक्षा उत्तीर्णपछि पुनले पार्टी कामको साथसाथै शिक्षण पेसा अँगाले । विसं २०४३ देखि नौ वर्षसम्म आफूले पढेको निमावी राङ्सीमा अध्यापन गरे । राजनीतिमा पूर्णकालीन भइसक्दा पनि अध्यापन जारी राखे । उनी स्थायी शिक्षक थिए । 

खेलकुदमा धेरै रुचि थियो । विभिन्न खेलमा रुचि भए पनि भलिबल प्राथमिकतामा पर्दथ्यो । उपराष्ट्रपति पुनको बाल्यकालदेखि नै लडाकु स्वभावका थिए । जनयुद्धको आधार तयार पार्न तत्कालीन मशालले सुरु गरेको ‘वर्गसङ्घर्ष’ मा उनले नेतृत्वदायी भूमिका निर्वाह गरे । 

तत्कालीन माओवादी पार्टी नबन्दै तत्कालीन एकता केन्द्र मशालले २०४८ पछि वाइसिएललाई लडाकु दस्ता बनाएर वर्ग सङ्घर्ष चलायो । त्यसबखत पुन वाइसिएलको रोल्पा जिल्ला अध्यक्ष थिए । विसं २०४८ को निर्वाचनमा रोल्पाबाट जनमोर्चाका उम्मेदवार कृष्णबहादुर महरालाई जिताउन उनी गाउँगाउँमा सांस्कृतिक कार्यक्रम गर्दै हिँडे । 

राज्यविरुद्धको आरोपमा प्रशासनले उनको टाउकाको मूल्य रु ३५ हजार सशस्त्र संघर्ष अगावै तोकेको थियो । माओवादी नबन्दैको पार्टीको पहिलो रोल्पा जिल्ला सदस्य भएपछि प्रशासनले बढी निगरानी गरेको थियो । विसं २०५१ को स्थानीय निर्वाचनमा पक्राउ गरेर १५ दिन हिरासतमा राख्यो । प्रहरीबाट बच्नका लागि उनले जनयुद्धअघि नै आफ्नो घरभित्रबाट २५ मिटरको सुरुङ खनेका थिए । 

विसं २०४६ मा तत्कालीन मशालको पार्टी सदस्य बनेका पुनले शैक्षिक गुरु कृष्णबहादुर महराबाट पार्टी सदस्यता नवीकरण गरे । २०४८ मा भएको एकता महाधिवशेनबाट बनेको एकता केन्द्र मशालको सदस्य तथा युवक सङ्गठनको सदस्य हुँदै जिम्मेवारी बढ्दै जाँदा २०४८ देखि पूर्णकालीन सदस्य भएर काम गरे । 

एकताकेन्द्र बनेलगत्तै रोल्पाको प्रथम जिल्ला सम्मेलनबाट जिल्ला सदस्यमा चयन भए । कृष्णबहादुर महरा सचिव रहेको पाँच सदस्यीय जिल्ला समितिमा पासाङ, सन्तोष बुढा, इन्द्रबहादुर बुढा र जोखबहादुर महरा सदस्य थिए । 

जनयुद्ध तयारी गर्दा वाइसिएलको रोल्पा जिल्ला अध्यक्ष र सैन्य प्रशिक्षक रहेका पासाङ २०५२ फागुन १ मा तत्कालीन नेकपा (माओवादी) ले जनयुद्ध सुरुवात गर्दा देशका चार ठाउँमा गरेको आक्रमणमध्ये रोल्पाको होलेरीमा रहेको इलाका प्रहरी कार्यालयमा आक्रमण गर्दा उत्तर–पश्चिम र दक्षिण कमान्डका लडाकु दलको इन्चार्ज र आक्रमणको सहकमान्डर थिए । 

पुन विसं २०५४ मा पार्टीको क्षेत्रीय व्युरो सदस्य, २०५७ मा भएको पार्टीको दोस्रो राष्ट्रिय सम्मेलनबाट पार्टी केन्द्रीय सदस्य र भारतको गोवामा विसं २०६० मा बसेको केन्द्रीय समिति बैठकबाट पोलिटब्युरो सदस्य, २०६९ मा भएको सातौँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा चुनिएका उनी २०७० वैशाखमा भएको विराटनगर सम्मेलनबाट पुनः केन्द्रीय सदस्यमा चुनिए  । लगत्तै जेठमा भएको पदाधिकारी, स्थायी समिति र पोलिटव्युरो सदस्यको निर्वाचनमा उनी  स्थायी समिति सदस्यमा निर्वाचित भए । 

शान्ति प्रक्रियापछि माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुप्रिम कमान्डर छाडेपछि जनमुक्ति सेनाको प्रमुख बनेका पुन माओवादीले सैन्य संरचना बनाएको शुरुदेखि अन्तिमसम्म  प्रमुख कमान्डर रहे । 

शान्तिप्रक्रिया टुङ्ग्याउन पुनको संयमताले धेरै काम गरेको थियो । दलहरूले जतिसुकै सहमति वा सम्झौता गरे पनि उनले नचाहेको भए शान्ति प्रक्रिया नटुङ्गिन सक्थ्यो । शान्ति प्रक्रिया जारी रहँदा उनले तत्कालीन जनमुक्ति सेनालाई संयमसाथ जिम्मेवार बनाएर राखे  । सातै डिभिजनका कमान्डरले उनलाई साथ दिए । 

शान्ति प्रक्रियामा सघाउन आएको संयुक्त राष्ट्रसङ्घअन्तर्गतको जिएमसिसीको भाइस कमान्डर रहेर काम गर्ने क्रममा उनले जर्मनी, स्वीट्जरल्यान्ड, नेदरल्यान्ड, नर्वे, बेल्जियम, चीन, भारत, बर्मा, थाइल्यान्डलगायत मुलुक पुगेर नेपालको शान्ति प्रक्रियाबारे जानकारी दिए । 

उपराष्ट्रपति पुन राष्ट्रियताप्रति त्यत्तिकै संवेदनशील छन् । नेपालमा जे छ त्यसैमा विश्वास गर्ने, साधारण नेपालीले जे उपभोग गर्छन्, त्यही उपभोग गर्ने उनको बानी छ । विसं २०६९ जेठ १७ मा उनको दुवै मिर्गौला काम नलाग्ने भयो । उनी मृत्यु नजिक पुगे । सरकार र पार्टीले विदेश लगेर उपचार गर्न थालेको प्रयास उनले अस्वीकार गरे । 

उनी नेपालमै उपचार गर्ने, मर्नुपरे नेपालमै मर्ने तर विदेश गएर उपचार नगर्ने भनी अस्पतालको सघन उपचार कक्षबाटै घोषणा गरे । त्यतिबेला चिकित्सकले पुनको अवस्था ‘संवेदनशिल भएको र दुवै मिर्गौलाले ८० प्रतिशत काम गर्न छाडेको बताएका थिए । मिर्गौला नाटकीय रूपमा स्वस्थ हुनु उनमा भएको बलियो आत्मबलले हो भनेर चिकिसत्कले बताउने गरेका छन् । नेपालका अस्पताल र चिकित्सकप्रति आफ्नो पूर्ण विश्वास रहेको पुनले बताउँदै आएका छन् । 

उनको साहित्यमा पनि विशेष रुचि छ । थुपै्र फुटकर गीत तथा कविता लेखेका उनका  केही गीत सङ्गीतबद्ध हुन बाँकी छन् । वर्गसङ्घर्षको चरणमा उनले लेखेका  ‘जनताहरू जाग्दै छन् जाग्दै छन्।।।’ गीत चर्चित थियो । युद्ध उत्कर्षमा पुग्दै गर्दा उनले लेखेको ‘हामी राता मान्छे।।।’, ‘हुरीका सन्तान हौँ हामी।।।’ गीत चर्चित भए । 

शान्ति प्रक्रियापछि उनले लेखेको  पुस्तक ‘इतिहासको रक्तिम पाइला’ नेपाली र अँग्रेजी भाषामा प्रकाशित छन् । जनयुद्धक्रममा पुनले धेरैपटक आफ्नो मृत्युको खबर आफैँले सुनेका थिए । मुत्युका केही खबर आफँैले खण्डन गरेका थिए । 

नयाँ संविधान जारीपछि २०७२ कात्तिक १४ मा व्यवस्थापिका–संसद्मा भएको उपराष्ट्रतिको निर्वाचनमा उनी  मुलुकको दोस्रो उपराष्ट्रपतिमा निर्वाचित भए । तत्कालीन सत्तारूढ गठबन्धन एकीकृत नेकपा माओवादी, नेकपा (एमाले), मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक), राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा माले, नेकपा संयुक्त, राष्ट्रिय जनमोर्चालगायत १५ दलको संयुक्त उम्मेदवार उनले कुल ५४७ मध्ये ३२५ मत प्राप्त गरेर उपराष्ट्रपतिमा विजयी भएका थिए । 

आइतबार सम्पन्न निर्वाचनमा उनी उपराष्ट्रपतिमा निर्विरोध निर्वाचित भए । नेपालको शान्ति प्रक्रियालाई कुशलतापूर्वक सम्पन्न गर्ने एक प्रमुख पात्रका रुमपा रहेका पुनले इमान्दार भएर नेपालको प्रतिष्ठा बढाउने प्रतिवद्धतासमेत व्यक्त गरेका छन् । रासस

संगीतकार अम्बर गुरूङकी पत्नी विणाको निधन

काठमाडौ, असार ३२, चर्चित संगीतकार स्वर्गीय अम्बर गुरूङकी पत्नी विणा गुरूङको आइतबार साँझ निधन भएको छ। उनको धापासीस्थित ग्रान्डी अस्पतालमा उपचारका

सुस्तावासीले क्षतिपूर्तिबापतको रकम पाउने

नवलपरासी, ३२ असार । पश्चिम नवलपरासीमा गत वर्ष भएको डुबानका कारण करोडौँको क्षति बेहोर्न बाध्य सुस्तावासीले क्षतिपूर्तिबापत रु दुई करोड ४६ लाख १२ हजार

नारायणी र कोशीमा पानी जहाजको सम्भावना 

काठमाडौँ, ३२ असार । कोशी र नारायणी नदीमार्फत नेपालले जलयातायात सञ्चालन गर्न सक्ने सम्भावना देखिएको छ ।  यहाँ भइरहेको नेपाल र भारतका अधिकारीबीच भएको

राउटेले पाए परिचयपत्र

  सुर्खेत, ३१ असार । पश्चिम नेपालमा फिरन्ते जीवन बिताउँदै आएको राउटे समुदायलाई पहिलो पटक स्थायी परिचयपत्र प्रदान गरिएको छ । कर्णालीप्रदेश