निर्मलालाई यसरी ‘ढुंगा खोज्दा देउता मिल्यो’

म सानैदेखि निडर स्वभावकी थिएँ । घरमा धार्मिक र आध्यात्मिक वातावरण अलि बढी नै थियो । त्यही कारणले पूजापाठ, कर्मकाण्डका मेरो धेरै विश्वास थियो । पाँच वर्षअघि एकदिन मेरो बालसखा अम्बिका श्रेष्ठले भन्नुभयो, ‘तपाईं धार्मिक, आध्यात्मिक स्वभावकी हुनुहुन्छ । तपाईंको स्वभावसँग मिल्ने जीवन विज्ञान नाम गरेको संस्था छ । त्यसमा आबद्ध हुनुस्, अध्यात्ममा धेरै प्रगति गर्न  सक्नुहुन्छ ।’

 
सखी अम्बिकाले जीवन विज्ञानको बारेमा जानकारी दिँदै यसको दैलोसम्म ल्याइदिनुभएको थियो । ‘ढुंगा खोज्दा देउता मिल्यो’ भन्ने उखान मेरो जीवनमा चरितार्थ नै भयो ।

 
जीवन विज्ञानको दैलोभित्र दुईजना ईश्वर हुनुहुँदोरहेछ, जसले मलाई असीमित ज्ञान दिनुभयो, जसको परिणतिस्वरुप आजकाल दिनमा १८ घण्टासम्म काममा खटिँदा पनि मलाई थकाइ लाग्दैन ।

 
पहिले म धार्मिक थिएँ । पूजापाठमा बढी विश्वास राख्थेँ । बाहिरी संसारमा ईश्वर खोजी हिँड्थें । कस्तूरी बिनाको खोजीमा भौतारिएर हिँडेझैं ईश्वरको खोजीमा हिँड्थेँ । जीवन विज्ञान आएपछि भने मैले आफूभित्रै ईश्वर खोज्ने र चिन्ने मौका पाएँ ।

 
जीवन विज्ञानमा हुने अत्यन्तै महत्वपूर्ण कार्यक्रममध्येको एक बोधविज्ञानमा जतिपटक बस्दा पनि म अघाउँदिनँ । जीवन विज्ञान आएको वर्ष दिनपछि नै बोधविज्ञानको साधनाले पहिलेको ‘म’–को पूरै अन्त्य भएर ‘नयाँ निर्मला’को जन्म लिएकी छु । अहिले म भागवत गीताले भनेको ‘द्विज’ बन्न पुगेकी छु, जुन मलाई बोधविज्ञानले बनाएको हो ।

 
पहिले स–साना घटनाहरुले पनि मनमा तनाव दिइरहन्थे । तर, बोधविज्ञान लिएपछि समुद्रको बीचमा उभिएको चट्टानजस्ती बनेकी छु । आँधीबेहरी, सुनामी र असंख्य ज्वारभाटाहरुले धक्का दिऊन्, समुद्री जहाजहरु नै आएर ठोक्किऊन्– बरु तिनीहरु आफैं फुटेर जान्छन्, चट्टान हल्लिँदैन । बोधविज्ञानमा बसेपछि म ठीक उस्तै समुद्री चट्टान बनेर निस्किएकी छु । मलाई जतिसुकै सुनामीले धक्का देओस्, अन्ततः ऊ नै आफैं फिक्का भएर जान्छ । म हल्लिन्नँ ।

 
यसरी बोधविज्ञानले मलाई आत्मबल, आत्मविश्वास र सहनशीलता दियो । यति भएपछि मानव जीवनलाई पुग्दो रहेछ ।
‘ज्ञान विज्ञानको हात जोड्नुपर्दछ कर्ममा’– भनेर नाट्यसम्राट् समले भनेझैं अघि बढिरहेकी छु । गुरुदेवहरुको कृपाले अध्यात्ममा अघि बढिरहेकी छु भने स्टान्डर्ड चार्टर्ड बैंकको अपरेशन म्यानेजर रहेर कर्म पनि गरिरहेकी छु । ईश्वर खोज्न देश दुनियाँ भौतारिएर हुँदैन, अध्यात्मलाई नछोडिकन कर्ममै पूजा गरे ईश्वर भेटिँदो रहेछ । आफैंभित्र ईश्वर भेटेकी छु ।

 
गृहस्थ जीवनबाटै सम्बोधिमा पुग्नुभएका एलपी भानु शर्मा र रमेश नेपाल दुवै गुरुदेवले सकारात्मक सोचभित्र ईश्वर र आन्तरिक प्रकाश खोज्न प्रेरणा दिनुभएको छ । आफूभित्र पूर्णिमाको टहटह जूनको आभास गर्ने तहसम्म पुगिनसके पनि अहिलेसम्म अनुभूत गरेको जूनकीरीको पिलपिलीबाटै मेरो जीवन धन्य भइसकेको छ । साधनाका सात समुद्रपार गर्न बाँकी नै छ– साधक नै छु र पुग्ने प्रयत्नमा निरन्तर लागिरहेकी छु ।

 
जस्तो– समुद्रभित्र असीमित खजाना छ, हामीभित्र पनि उस्तै असीमित खजाना हुँदोरहेछ । समुद्रभित्र रहेका खजाना निकाल्न जसरी औजारहरु चाहिन्छन्, हामीभित्र दबेर रहेका खजाना निकाल्न पनि साधन चाहिन्छ । जीवन विज्ञान एउटा साधन हो । गुरुकृपा बिना ती खजाना निकाल्न सकिँदैन ।

 
मभित्र रहेका असीमित खजानामध्ये हल्काफुल्का खजाना निस्किँदा मात्रै पनि मेरो जीवन सार्थक भइसकेको छ ।
साधनापछि म वाग्मती सफाइको अभियन्ता बनेकी छु, निर्धक्कसँग उद्घोषण गर्न सक्ने भएकी छु, राम्रो फोटोग्राफर बनेकी छु, भूकम्पपछिका कठिन दिनमा निकै जोखिम मोलेर पीडितहरुको उद्धार र राहतमा दिन बिताएकी थिएँ । गोडा मर्किएर बैशाखीको सहारामा हिँडिरहेका बेला जीवन विज्ञानको प्रशिक्षकको तालिम लिएर प्रशिक्षकबीचकै संयोजक बनेर दैनिक सेवा गरिरहेकी छु । भूकम्पपछि ६ महिनासम्म टुँडिखेलमा केन्द्र सञ्चालन गरेकी थिएँ भने त्यसपछि वनस्थलीमा केन्द्र सञ्चालन गरें । हाल साउथ वेस्टर्न स्टेट कलेज, वसुन्धरामा केन्द्र सञ्चालन गरेर सेवारत छु । साथै, अरु विभिन्न ठाउँमा पनि जीवन विज्ञानका केन्द्रहरु विस्तार गर्ने अभियानमा लागिपरेकी छु ।

 
मलाई सानैदेखि मदर टेरेसाजस्तै समाजसेवी बन्ने इच्छा थियो । जीवन विज्ञानले राम्रो समाजसेवी बन्न सिकायो । एक साधारण परिवारमा हुर्किएकी चेली पहिले - म घरायसी काम र कार्यालय आवतजावतमै मात्र सीमित थिए । जुनसुकै काममा समस्यै–समस्या र तनावै–तनाव मात्र लिन्थे । स - सानो समस्यालाई पनि पहाडै सम्झन्थें । तर, अहिले म जस्तोसुकै विघ्नवाधालाई पनि समस्यै  ठान्दिनँ । विपद् आइलागे होसपूर्वक त्यसलाई निवारण गर्छु । संकटका बेला संयम गुमाउन हुँदो रहेनछ । साधनाले ‘चेतना’लाई थाक्न दिँदो रहेनछ । त्यसैले अहिले जस्तोसुकै समस्यालाई पनि फूलको थुँगा जस्तै फुरुङ्ग भएर समाधान गर्छु ।

 
जीवन अनुपम सौन्दर्यले आच्छादित रहेछ । यस्तो अनुपम सौन्दर्य मैले जीवन विज्ञानबाट पाएँ । दुवै गुरुदेवको यति धेरै वात्सल्यता पाएँ, यति धेरै प्रेम पाएँ कि साधनाका हरेक कार्यक्रम गुरुदेवहरुले मेरै लागि राखेको जस्तो अनुभूति हुन थाल्यो ।

 
गुरुदेवहरुले मलाई ‘द्विज’ बनाउनुभएको छ, नयाँ निर्मलाको रुपमा जन्माउनुभएको छ । पुरानो ‘म’ पूरै नाश भएकी छु । म, मेरो र आफ्नो वरिपरिका लागि वा आफ्नो स्वार्थको लागि मात्रै काम गर्ने निर्मला मरेर सर्वकल्याणका लागि काम गर्ने निर्मलाका रुपमा पुनर्जन्म लिएकी छ । गुरुदेवहरुको यो ऋण म सात जुनीसम्ममा पनि तिर्न सक्छु जस्तो लाग्दैन । त्यसैले म दुवै गुरुदेवप्रति सदा धन्यवादभावले नत छु । त्यस्तै, जीवन विज्ञानको दैलोमा पु¥याइदिने सखी अम्बिकालाई धन्यवाद  । 

 (जीवन विज्ञान प्रतिष्ठानकी प्रशिक्षक संयोजक निर्मला केसीसँग सरल पत्रिकाले गरेको कुराकानीको सार-आर्काइभबाट) 
 

  पर्व र समय सुधारको माग

काठमाडौँ, ९ असार । वर्षको छोटो र लामो दिन, दिन र रात बराबर भएको तिथि र त्यससँग सम्बन्धित संक्रान्ति पञ्चाङ्ग (पात्रो) मा उल्लेख गर्नुपर्नेमा जोड दिइएको छ

 पशुपतिनाथ मन्दिरमा एक अर्बको सुनको जलहरि  

काठमाडौँँ, २१ जेठ । विश्व सम्पदा सूचीमा सूचीकृत संसारभर रहेका वैदिक सनातनी हिन्दू धर्मावलम्बीको आस्थाको केन्द्र पशुपतिनाथ मूल मन्दिरको शिवलिङ्ग

अमेरिकी अन्तरिक्ष यात्री सान्ड्रा ध्यान गर्न नेपालमा  

अमेरिकी अन्तरिक्ष यात्री सान्ड्रा हल मगुस नेपाल भ्रमणमा आएकी छिन् । उनी करिब एक साता पहिले नेपाल आएकी हुन् ।  बुद्ध धर्ममा आधारित ध्यान (मेडिटेसन) मा

 चाणक्यका चोटिला चिन्तन 

 चाणक्य ऋषि उनका चर्चित नीति कथाले गर्दा आजसम्म पनि उत्तिकै सान्दर्भिक छन् । उनले प्रतिपादन गरेका नीति कथाहरु मानिसको जीवनको कुनै पनि पाटोमा काम