‘पछि थाहा भो उनी त मदन भण्डारी पो रहेछन्’

काठमाडौंको डिल्लीबजार ओरालोका ध्रुव सापकोटालाई नचिन्ने कमै होलान्। पत्रपत्रिकाको व्यवसाय गर्ने धु्रबले तीनदशकको यो व्यवसायिक करिअरमा राजनीतिक उतारचढाव र परिवर्तनहरुलाई नजिकबाट नियाल्न पाएका छन्। ध्रुबको पसल पुगेर आफ्नो दैनिकी सुरु गरेका धेरैजसो नेताको हैसियत बदलिएको तर देश र जनताको अवस्थामा खासै परिवर्तन देख्न नपाएकोमा ध्रुब दुखी छन् । उनले सरल पत्रिकासँगको कुराकानीमा आफ्नै आँखाले देखेका र भोगेका परिवर्तनका श्रृंखलाहरु यसरी बताएः 

शुरुवाती दिन 

मैले दश कक्षामा पढ्दा रसियन लाइब्रेरीमा काम गरेको थिएँ । त्यो बिदेशबाट पढेर आएका डाक्टर, इन्जिनियर,पाइलटहरुको एउटा संस्था थियो । मेरो दाईले त्यहाँ काम गर्नुहुन्थ्यो, मैले पनि लाइब्रेरिमा बस्ने अवसर पाएँ । त्यो विं सं. २०४०–०४१ तिरको समय थियो ।

बिदेशमा पढेर आएका डाक्टर इन्जिनियर तथा पाइलटहरु त्यहाँ आएर ४ देखि ७ बजेसम्म अध्ययन गर्नुहुन्थ्यो । उहाँहरुले नियमित अध्ययन गरेको देखेर मलाई पनि पढाई भन्ने कुरा एकदमै ठूलो रहेछ भन्ने लाग्यो । 

पुस्तक पसलको मेरो यात्रा तीन दशक पहिले सुरु भएको हो । २०४४ सालबाट मैले पसलको शुरुवात गरेको हुँ । मैले शुरु देखिनै पाठकहरुलाई सजिलो होस् भनेर पसलको बाहिरै पत्रिका झुण्डाइदिन्थेँ । त्यतिबेला पञ्चायतकाल भएकाले त्यति धेरै पत्रिका प्रकाशित हुँदैनथे ।

अहिले जस्तो अवस्था थिएन । त्यतिबेला समाज, गोरखापत्र जस्ता दैनिक पत्रिकाहरु हुन्थे । केही साप्ताहिक पत्रिकाहरु पनि थिए । अहिलेको तुलनामा त्यतिबेला पाँच प्रतिशत मात्रै पत्रिका थिए होलान् । 

सबैभन्दा धेरै बिक्ने पत्रिका 

त्यतिबेला सबैभन्दा धेरै बिmक्री हुने पत्रिका बिमर्श साप्ताहिक थियो । देशान्तर, सुरुचि, जनमञ्च पनि ठिकै बिक्री हुन्थे । दैनिक पत्रिकामा समाज दैनिक, गोरखापत्र नै हो । त्यतिबेला पत्रिकाहरु निकै कम प्रकाशित हुन्थे ।  तर बिक्री धेरै हुन्थ्यो । अहिले जस्तो अनलाइन, बिद्युतीय संचार माध्यमको सुविधा थिएन । सूचना थाहा पाउने माध्यम पत्रपत्रिका नै हुन्थे । निकै कम मात्र पत्रपत्रिका प्रकाशित हुने भएकाले काठमाडौ बाहिरका मान्छेले के भइरहेको छ भन्ने कुरा  कमै थाहा पाउँथे । 

त्यतिबेलाका  नियमित ग्राहक 

त्यतिबेलाको सबैभन्दा रमाइलो पक्ष के भने, पत्रपत्रिका राखेपछि हरेक क्षेत्रका व्यक्तिहरु मेरो पसलमा आइपुग्नु हुन्थ्यो । कानुनी, राजनीतिक, खेलाडी, सहित्यकार, कलाकर्मी, पत्रकार लगायतका हरेक क्षेत्रका मान्छेहरु म कहाँ आउनुहुन्थ्यो । अरु पसल भन्दा यो अलि पृथक पनि थियो ।
शुरु शुरुमा कलाकार, पत्रकार वकिल लगायतका बिशिष्ट मान्छेहरुसँग भेट्न पाउँदा कस्तो हुन्छ होला भन्ने लाग्थ्यो । त्यतिबेला कानुनी क्षेत्रबाट गणेशराज शर्मा नियमित रुपमा पत्रिका लिन आउनुहुन्थ्यो । दमन नाथ ढुंगाना, महादेव यादव, बदी्र बहादुर कार्की, अनुपराज शर्मा, कृष्ण प्रसाद सापकोटा, शेर बहादुर केसी लगायतका धेरै वकिलहरु यहाँ आउनुहुन्थ्यो । मेरो पसल पत्रकारहरुको भेट्ने जक्सन नै थियो । कहाँ भेट्ने भन्दा त्यतिबेला धेरैले धु्रवको पसलमा भेटौँ भन्थे । धु्रवको पसल भन्दा भन्दै पछि मैले मेरो पसलको नाम नै धु्रवको पसल भनेर राखेँ । यो नाम जुराउनमा पत्रकारहरुको ठूलो भूमिका छ । 

पत्रकारको साथी

त्यतिबेला मिडियामा काम गर्ने पत्रकारहरुको पारिश्रमिक निकै कम हुन्थ्यो । पत्रकारहरुलाई समस्या पर्दा मैले धेरै पटक सहयोग गरेको छु । मेरो पसलमा आउँदा आउँदै धेरै साथीहरु ठूलाठूला पदमा पुग्नुभयो । यसले मलाई निकै खुसी बनाउँछ । मेरो पसलमा आउने मिडियाका साथीले त धेरै ठूलो छलाङ नै मार्नुभएको छ । मेरो पसलमा शुरुबाटै आउनेमा रमेश केसी, नारायण वाग्ले, नारायण ढकाल, राजिव आचार्य, बिष्णु निष्ठुरी, किशोर श्रेष्ठ, बालकुमार नेपाल, मुकुन्द बोगटी, राजेश मिश्र, किशोर नेपाल, अनुप बराल, अनुप थपलिया, सुनिल पोखरेल, नविन सुब्बा, हरिहर बिरही, जनार्दन आचार्य, बिष्णुविभु घिमिरे, शिव अधिकारी लगायत हुन् । सबैको नाम सम्झिन पनि समय लाग्छ तर अहिले झट्ट सम्झिन नसके पनि मैले नचिनेका र मेरो पसलमा नआएका पत्रकार कमै होलान् त्यो समयमा ।

त्यस्तै राजनीतिक नेताहरुमा चित्रबहादुर केसी, लिलामणी पोखरेल लगायतका हरेक क्षेत्रका नेताहरु आउने गर्थे । त्यस्तै हरि रोक्का, टिकाराम राई लगायत एउटा प्यानल नै मेरो पसलमा आउने गर्थे । 

रामहरी ढुंगेलको समाचार मैले नै  बाहिर ल्याएँ

मलाई अहिले पनि याद छ । कांग्रेसका अविवाहित नेता रामहरी ढुंगेलको निधन हुँदा  सबैभन्दा पहिले मैले नै समाचार बाहिर ल्याएको थिएँ । सामान्यतया मानिसहरु बलेको आगो ताप्छन्, तर उहाँ चाहि निभेको आगो जस्तो हुनुहुन्थ्यो । मन्त्री भएर सरकारी क्वाटरमा बस्दा पनि उहाँ बिहान ६ बजे यहाँ नियमित पत्रपत्रिका हेर्न आईपुग्नुहुन्थ्यो । उहाँ मन्त्री क्वाटरबाट यहाँसम्म हिँड्दै आएर पत्रिका पढ्ने गर्नुहुन्थ्यो । उहाँलाई मैले डिल्लीबजारमा देख्दादेख्दै मन्त्री हुनुभयो । उहाँको अंगरक्षकले भनेको सम्झन्छु– अरु मन्त्री गाडी छोड्दैनन्,हाम्रो मन्त्रीज्यू त धेरैजसो पैदलै हिँड्न रुचाउनु हुन्छ । उहाँको पछिपछि हिँड्दाहिँड्दै मेरो त भूँडी नै घट्यो। 

सामान्य ठानेका ग्राहक त मदन भण्डारी पो

सबैभन्दा पहिला मणिराज उपाध्यायको समाज दैनिकमा थुप्रै पत्रकारहरु त्यहाँ आउनुहुन्थ्यो र त्यहाँ आएपछि मेरो पसलमा आउने गर्नुहुन्थ्यो । त्यतिबेला म एसएलसी दिएर पसलमा बसिरहेको थिएँ । त्यतिबेला चाइनिज फोनेक्स साइकलमा भक्तपुरे कालो टोपी लगाएका एकजना भद्र मान्छे सँधै मेरो पसलमा आएर पत्रिका लैजानुहुन्थो । उहाँले मसँग हात पनि मिलाउनु हुन्थ्यो तर म उहाँलाई चिन्दैन्थे । यो २०४६ को जनआन्दोलन भन्दा पहिलेको कुरा हो । मलाई उहाँ के छ भाईराजा भनेर बोलाउनु हुन्थ्यो।

एकदिन समाज दैनिकका एकजना पत्रकारले मलाई भने – ‘ए पत्रिका भाई तिम्रो पसलमा त एकजना ठूलो भूमिगत नेता मदन भण्डारी आउनु हुँदो रहेछ’ भन्नुभयो । उहाँले भनेको कुरालाई मैले हल्का रुपमा नै लिएँ ।

समय बित्दै गयो । २०४६ को जनआन्दोलन शुरु भयो । त्यतिखेर बिमर्शको अफिस लगनमा थियो । दृष्टिको अफिस टेकुमा थियो । त्यतिबेला मेरो पसल सँगसँगै शुभकामना पुस्तक पसल थियो । पत्रकारहरु रघु मैनाली र मोहन मैनाली उहाँहरुको दाजुभाईको पनि पत्रिका पसल थियो ।  हामी एकदमै मिल्ने पनि गर्थ्यौं । उहाँको पसलमा चाहि बामपन्थी प्रगतिशिल किताबहरु धेरै राख्नुहुन्थ्यो । अहिलेका चर्चित नेताहरु त्यतिबेला हाफकट्टु लगाएर किताब किन्न आउँथे र मेरोबाट पनि पत्रपत्रिका किनेर लैजान्थे । उनीहरु अहिले धेरै राम्रो ठाउँमा पुगिसकेका छन् ।  रघु र हामी एउटा ठूलो हरकुलस साइकिल लिएर बिल काट्न भनेर पत्रिकाहरु ल्याएर बेच्ने गर्थ्यौं । २०४६ को जनआन्दोलनका बेला कति दिन त पसल बन्द गरेर पनि हिँडियो । मेरो पसलमा त्यतिबेला हरेक क्षेत्रका मान्छे आउने भएकाले मलाई दुईवटा फाइदा हुन्थ्यो, एउटा उनीहरु मेरो पसलमा पत्रिका हेर्न आउँथे र पत्रिका लैजान्थे । सबै किसिमका सूचना मेरै पसलमा थाहा हुन्थ्यो । 

मदन भण्डारीको भाषण

प्रजातन्त्र आइसेकपछि एकदिन मान्छेहरु मदन भण्डारीको भाषण सुनेर आएको भन्दै चर्चा गरिरहेका थिए । टँुडिखेलमा मदन भण्डारीको भाषण सुनेर आएको भनेर एक अर्कासँग कुरा गर्न थाले । मेरै पसलमा आउने व्यक्तिको भाषणको चर्चा सुनेपछि एकदिन म पनि पसल बन्द गरेर उनको भाषण सुन्न पुगेँ । उनको भाषणले मान्छेहरुलाई मोहित बनाइरहेको थियो । उनको भाषण सुनेपछि मात्र थाहा भयो मैले सामान्य ठानेको मान्छे ठूलै नेता पो रहेछन् ।

पछि उहाँ मेरो पसलमा फरि आउनुभयो । पसलमा आएपछि उहाँले मलाई भाइराजा न्युजवीक भन्ने पत्रिकामा मैले एउटा अन्तर्वार्ता दिएको छु भन्नुभयो । उहाँलाई मैले पत्रिका उपलब्ध गराएँ । त्यसपछि उहाँसँग मेरो सम्बन्ध अलि नजिकियो । उहाँलाई मैले तपाईको भाषण सुन्न गएको थिएँ राम्रो लाग्यो भनेर भनें । उहाँले आफ्नो अन्तर्वार्ता आएको न्युजवीक तीन चारवटा लिएर जानुभयो । नियमित पत्रिकाहरु पनि लानु हुन्थ्यो । मेरोमा बरु अमर लामा भने आउँथे र उनीसँग पनि यहाँ आउने क्रममा नै चिनजान भयो । यहाँ हरेक क्षेत्रका  मान्छेहरु आउँदा मेरो कोही न कोहीसँग चिनजान हुने गथ्र्यो । 

पत्रिकाको कारोवार

पहिला ८० प्रतिशत बिदेशी र २० प्रतिशत नेपाली पत्रिका हुन्थे । बिस्तारै बिदेशी कम हुँदै गए,नेपाली बढ्दै गए । त्यतिबेला कान्तिपुर दैनिक लगायतका धेरै पत्रिकाहरु निस्के । अहिले देशभरका पब्लिकेशन हाउसले मेरो पसलमा नै पत्रिका छाडिदिन्छन् । त्यो सुविधा मलाई प्राप्त भएको छ ।

तीस वर्षको उपलव्धि

२०६९ मा एकजना फे्रन्चले ममाथि एउटा डकुमेन्ट्री बनाए । फे्रन्च कल्चर सेन्टरमा काम गर्ने उनले मेरो पसलमा मान्छेहरुले भिड लागेर पत्रिका पढेको देखेका रहेछन् । उनलाई  डिल्लीबजारको ओरालो लाग्दा मेरो पसलमा मान्छेको घुइँचो देखेर अनौठो लागेछ । एकदिन उनी मेरो पसल बाहिर आएर मेचमा बसेर कागजमा केही कोर्दै थिए । मैले खासै मतलब गरेको थिइन तर उनले मेरो पसलको बारेमा अध्ययन गर्दै रहेछन् । पछि उनले मलाई भने, तिम्रो पसलमा निकै धरै मानिस आउँदा रहेछन् ।

उनले मेरै बिषयमा अध्ययन गरेको थाहा पाएपछि गर्व पनि लाग्यो । मलाई को आए कति आए भन्ने मतलब पनि हुँदैनथ्यो । आफ्नो त व्यापार गर्नु नै ठूलो कुरा थियो ।  मेरोबारेमा डकुमेन्ट्री बन्नु पनि तीस वर्षमा मैले हासिल गरेको एउटा उपलव्धि हो जस्तो लाग्छ ।  अर्को मैले यसबाट धेरै पत्रकार साथीहरु कमाएको छु । त्यो पनि एउटा उपलव्धि नै हो ।

पेशालाई निरन्तरता 

म नेपाल ल क्याम्पस पढेको हूँ । स्वर्गीय इन्द्र लोहनी लगायतका साथीहरु म भन्दा एक व्याच सिनियर थिए । मेरो दाईको ल फर्म भएपनि म त्यतातिर नगईकन यसैलाई निरन्तरता दिएँ । यसले मलाई हरेक क्षेत्रमा चिनजान हुने वातावरण पनि बनाईदियो । १४ अञ्चल ७५ जिल्लाका साथीभाईहरु यहाँ ठोकिनु हुन्छ । कहिलेकाहीं फुर्सद मिलाएर बाहिर घुम्न जाँदा धेरैले मलाई चिन्नुहुन्छ । तपाईंको त हामी ग्राहक हौं पनि भन्नुहुन्छ । कसरी तपाईंहरु ग्राहक भनेर सोध्दा उहाँहरुले हामी बाहिर हेर्ने ग्राहक भनेर भन्नुहुन्थ्यो । यो सुनेर एकदमै खुशी लाग्छ । यसलाई निरन्तरता दिने मन छ तर कति सकिन्छ त्यो हेर्दै जाउँ । 
 

\'रेल सर्वे तुरुन्त प्रारम्भ हुन्छ\'

प्रधानमन्त्री केपी शर्मा ओलीले अगाडि बढाउनुभएको ‘समृद्ध नेपाल सुखी नेपाली’को नारालाई चीन र भारतका दुवै सरकारले महत्वपूर्ण भनेका छन् । दुवै

अधिकारी दम्पतिले बिताएका कष्टदायी ती रातहरु

बुहारी हामीबाट छुट्टिँदा झमक्क साँझ परिसकेको थियो । बस्ने सस्तो होटल खोज्दै हामी डल्लुदेखि कलंकीसम्म पुग्यौं । हिँड्दाहिँड्दा साँझ निख्रिसकेको

ओली फेरिएका छन्, चीन भ्रमणमा कुनै आशा नगरे हुन्छ

काठमाडौं ।   नेपाली सेनाका पूर्वसहायक रथि डा प्रेमसिंह बस्न्यात कुटनीति सम्बन्धका बहुआयाम केलाएर विश्लेषण गर्छन्। उत्तर र दक्षिणसँग बिगतदेखि

\'म एक्लै बाँच्नुको आनन्द लिईरहेकी छु\' - अभिनेत्री मनिषा कोइराला

  उच्च राजनीतिक परिवारमा जन्म, करिअरमा उच्च सफलता,व्यक्तिगत जीवनमा सम्बन्धविच्छेद, क्यान्सर जस्तो भयानक रोग र त्यससँग लड्दै नयाँ जीवन जिउनु चानचुने