एक बिद्रोही युवतीको आध्यात्मिक यात्रा

म सानैदेखि विद्रोही स्वभावकी थिएँ । पूजापाठ, कर्मकाण्डका कुनै पनि नियम मान्दिन थिएँ । यहाँसम्म कि मासिक धर्म भएकै बेलामा पनि कसैलाई नभनी दशैं–तिहारमा टीका लगाउँथेँ । यसो गर्दा मान्छेले भने जस्तो के अनर्थ हुँदोरहेछ, प्रयोग गरेर हेर्न मन लाग्थ्यो ।

केटी मान्छे जोडले हाँस्न हुँदैन भन्थे, म यस्ता कुरा सुनेर झन् अट्टहासका साथ हाँस्थेँ । म स्वतन्त्रताप्रेमी व्यक्ति थिएँ– हुँ र स्वतन्त्रता प्राप्तिका लागि नै सम्पूर्ण जीवनऊर्जा लगानी गरिरहेकी छु । जसरी फूल फुलिरहेको छ, चरा उडिरहेको छ, खोला बगिरहेको छ एउटा सहज गतिमा– एउटा मस्तीमा, म पनि यति नै सरलताका साथ जीवन जिउन चाहन्थेँ । एउटा महिलाको लागि समाजले जे–जे सीमा लगाएको छ, ती सबै बन्धनलाई तोड्न चाहन्थेँ । रातको समयमा गीत गाउँदै एक्लै हिँड्न मन लाग्थ्यो, कसैले घर छिटो आइज भन्यो भने चित्त बुझ्दैनथ्यो ।

जेहोस्, कुनै पनि निश्चित मापदण्ड र सीमा मलाई मन पर्दैनथ्यो । शायद म असीमित हुन चाहन्थेँ ।

मेरो बुझाइमा त्यतिबेला स्वतन्त्रता भनेको आफूलाई जे मन लाग्यो, त्यही गर्न पाउनु थियो । ठीक, बेठीक, राम्रो, नराम्रो केही पनि जान्दिनथँ । बस्, केही गर्न मन लाग्यो र पाइनँ भने त्यो बन्धन हुन्थ्यो– पाएँ भने स्वतन्त्रता हुन्थ्यो ।

मैले केही गर्न चाहेँ र पाए, त्यतिखेर मेरा लागि स्वतन्त्रताको मूल्य त्यति नै थियो र भनेअनुरुप नै जीवन बिताएकी थिएँ । जे गर्थें, आफूखुसी– आफ्नो इच्छाअनुसार गर्थें, कसैसँग डराउँदिनथें, मेरो जीवनशैली देखेर परिवार– छिमेकीले के ठान्थे थाहा थिएन तर आश्चर्य मान्थे । जीवनको कुनै पनि निर्णय गर्दा म आफैं गर्थें– आफ्नो निर्देशक आफैं थिएँ तर यसरी हिँड्दा–हिँड्दै पाइला जब जीवन विज्ञानको आँगनमा पुगे तब स्वतन्त्रता प्राप्तिको लागि मैले बुझिराखेको हिँडिराखेको बाटो बदलियो ।

गुरुको सान्निध्यबाट थाहा पाएँ वास्तवमा स्वतन्त्र को हुन्छ ? सबै प्रकारको डरबाट मुक्त को हुन्छ ? स्वतन्त्रताका सबै सिँढीहरु पार गरेर यसको उत्कर्षमा को पुगेको हुन्छ ?

सबै सन्तहरुको याद आयो, सन्तका कितापहरु मात्र पढेँ, जीवन कहानी पढेँ । एलपी भानु शर्मा र रमेश नेपाल गुरुदेवको सन्तमय उपस्थितिलाई अनुभव गर्दागर्दै, उहाँहरुको सरलता, गहिरा निर्दोष आँखालाई हेर्दाहेर्दै साँच्चि मलाई पनि सन्त बन्न मन लाग्यो ।

स्वतन्त्रताका लागि अब गरिराखेका काम पनि छोडेर पूराका पूरा जीवन साधनामा लगाउने निर्णय गरेँ । ईश्वरको कृपा भनौं, जीवन विज्ञानको अत्यन्त महत्वपूर्ण लयविज्ञान कार्यक्रममा लगभग ९ घण्टा ध्यानमा लीन भएँ । त्यसपछि यो आनन्दको रसले यसरी खिच्यो कि मैले मेरो सम्पूर्ण जीवन ‘जीवन विज्ञान’लाई समर्पित गरेँ । अब केवल परमात्माको नियममा हिँड्न भित्रदेखि म तयार भएकी थिएँ ।

ध्यानको प्रकाशले नुहाएपछि स्वतन्त्रतालाई विचारको तलबाट हैन, भावको गहिराइबाट महसुस गर्न थालेँ कि जे लाई हिजो म स्वतन्त्रता भन्ठान्थेँ, त्यो त बन्धनै बन्धनबीचको यस्तो पिँजरा रहेछ– घुम्ती नै घुम्तीबीचको यस्तो बाटो रहेछ, जहाँबाट बाहिर निस्कन पनि गाह्रो छ, आफूले जे मन लाग्यो, त्यो गर्न पाउँदा पनि त्यो भित्र एउटा मानसिक द्वन्द्व– अराजक स्थिति, फेरि भनेजस्तो नहुँदा पनि विचारले सृजना गर्ने तनाव– अनौठो छट्पटी, जसलाई सम्झिँदा हिजोभन्दा धेरै आज पीडा महसुस गरिरहेकी छु, किनकि अँध्यारोमा मात्र बस्दा उज्यालो के हो थाहै हुँदैन, जब प्रकाश आउँछ, तब मात्र त्यो अन्धकारको अनुभव हुन्छ र त्यही अँध्यारोसँग डर पनि लाग्छ ।

ध्यानमा बस्नासाथ आनन्द आउन थालेपछि एउटै कार्यक्रम पन्ध्र–बीसपटकसम्म लिन थालेँ, लगातारको साधनापश्चात् मैले राम्रैसँग बुझ्न थालेँ कि यो संसारमा जे भइराखेको छ, जो जस्तो छ– श्रीमान् श्रीमती जस्ता छन्, छोराछोरी जस्ता छन्, जस्तोसुकै परिस्थिति छ, त्यसलाई आफ्नो इच्छाअनुरुप बदल्न नखोजीकन जस्ताको तस्तै स्वीकार गर्नु नै स्वतन्त्रता हो किनकि म अरुलाई बदल्न सक्दिनँ ।

विभाजनमा विचार– समतामा भाव, विचारमा द्वन्द्व छ, भावमा आनन्द छ । स्वतन्त्रतालाई भावबाट महसुस गर्दा मात्र स्वतन्त्रताको वास्तविक बोध हुँदोरहेछ । घरलाई जंगल ठानेर व्यक्ति जंगल जान सक्छ, मन्दिर जान सक्छ, जहाँ पनि मान्छे छन्, त्यहीअनुसारको वातावरण छ, परिस्थिति छ, जहाँ पुगे पनि त्यहीअनुरुप नयाँ बन्धन मनले निर्माण गरिरहन्छ । त्यसकारण मन र विचारबाट अलिकति भित्र भावको जगतमा ध्यान पुग्दा, हृदयमा प्रेम छचल्किँदा आफैंभित्र यति धेरै प्रेमको, आनन्दको र स्वतन्त्रताको अनुभव गरिरहेकी छु कि आज म जहाँ छु, त्यहीँ स्वतन्त्र छु– जे गर्दै छु स्वतन्त्र भएर गर्दैछु– अब स्वतन्त्रताको लागि छुट्टै केही प्रयास गर्नु छैन किनकि स्वतन्त्रता प्रयासमा हैन, समर्पणमा हुँदोरहेछ ।

जहाँ मन राजी छ, त्यही स्वतन्त्रता हो– जहाँ विरोध छ, त्यही नै बन्धन हो ।

जीवन विकासक्रमको अनन्त शृंखला हो, जीवन प्रत्येक क्षण विकसित हुँदै जानुपर्छ– प्रकृतिको नियम पनि यही हो । तसर्थ स्वतन्त्रताका अन्य आयामहरुलाई थाहा पाउन बाँकी नै छ । आज जे–जति अनुभूति छ– आनन्द छ, त्यसका लागि दुई गुरुदेवलाई धन्यवाद जसले नयाँ जीवन दिनुभयो, ध्यानको आनन्द दिनुभयो– केही थिएन मसँग, आज सब कुरा दिनुभयो, सबैभन्दा अमूल्य प्रेम दिनुभयो । मेरा भावना प्रकाशित गर्ने यो अमूल्य अवसर प्रदान गर्नुभएकोमा यहाँलाई पनि धन्यवाद ।

(जीवन विज्ञान प्रतिष्ठानकी प्रशिक्षक सरिता शर्मासँग आध्यात्मिक विषयमा सरल पत्रिकाले गरेको कुराकानीको सार)


 

पूर्वी चितवनमा धार्मिक पर्यटकको ओइरो

चितवन, ६ फागुन  । युवा पुस्तामाझ लोकप्रिय प्रेम दिवस भ्यालेन्टाइन डे मनाउन आएका युवा तन्नेरी फर्किन नपाउँदै पूर्वी चितवन धार्मिक पर्यटकले भरिभराउ

 बालुवाटारको बैठक कक्ष परिवर्तन गरे नवनियुक्त प्रधानमन्त्रीलाई शुभ हुने 

काठमाडौँ, ५ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार सर्ने भएका छन् । प्रधानमन्त्री ओली आईतबार अपराह्न

आफूभित्रै विराटको गहन अनुभूति हो –‘परमप्रकाश’

परमप्रकाशको सुन्दरतम अनुभूति पस्किने क्रममा यहाँलाई भनूँ कि – मनुष्यले जब होस खोल्न थाल्यो, उसका विचारधाराहरु चल्न थाले, त्यतिबेलादेखि नै दुईटा

महाशिवरात्रि पर्व : डोलेश्वर, आशापुरी र कैलाशनाथमा भीड

भक्तपुर, १ फागुन । महाशिवरात्रि पर्वका अवसरमा मंगलबार यहाँका प्रसिद्ध शिवालयमा बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ ।  सूर्यविनायक