कविता यात्रामा कवि बिमल बैद्य 

 बिमल बैद्य इलामका सामाजिक गतिविधिमा संलग्न हुनथाल्दा नै थाहै नपाई साहित्यसँग जोडिएका थिए। चलनचल्ती झैं उनले पनि सुरु गरे कविता लेख्न र गोष्ठीहरु नछुटाईकन भ्याउन थाले । रहरले कविता कोर्न थालेका बिमलले सुरुका दिनहरुमै बेग्लै छनक दिएका थिए– ‘यो केटाले केही गर्छ है’! आखिरमा गरि नै छाड्यो केटाले दुईदशकको अवधिमा चाखलाग्दा कविताका एकजोर संग्रह पाठकलाई सुम्पिएर । बिमल एकपटक पत्रकारितामा पनि जमेकै थिए,यसैमा करिअर बनाउने धुनमा उनी अढाई दशकअघि काठमाडौं पसे र जोडतोडका साथ पत्रकारिता पनि गरे । उनी नेपाल पत्रकार महासंघको केन्द्रीय सदस्य समेत चुनिएका थिए । तर उनको पारिवारीक जिम्मेवारीले बिमललाई जन्मथलो इलामतिरै तान्यो, फर्किए उनी झोलितुम्बी भिरेर उतै ।

फर्किएर बिमल अलमलिएनन् बरु सुस्ताएको कविता लेखनलाई सक्रिय तुल्याए अनि  रोकेनन् यसको गति । जीवनमा निरन्तरताको ठूलो मूल्य हुन्छ भन्ने कुरालाई प्रमाणित गर्दै बिमलले संग्रह निकाले अनि कविता पढ्दै कहिले काठमाडौं,कहिले हेटौंडा त कहिले चितवनको फन्को मार्न थाले। कविताकै संगतमा लठ्ठिएका बिमल अब देशका साहित्यिक समुदायवीच परिचित भएका छन् – एक सिध्दहस्त कवि बिमल बैद्य बनेर! केहीदिन अघि चितवनमा एकल कविता वाचनका लागि निम्त्याईएका बिमल काठमाडौं पसेका बेला उनीसँग सरल पत्रिकाले गरेको कुराकानीको सारः

कविताले निकै व्यस्त बनाए जस्तो छ नि !

खासै व्यस्त त होइन । केही दिन अघि मात्र चितवनमा एउटा कार्यक्रम थियो । साथीहरुले निमन्त्रणा गर्नुभएको थियो। त्यही सिलसिलामा इलामबाट कविता वाचन गर्न चिवतन आएको थिएँ । पहिला पत्रकारितामा पनि थिएँ तर अहिले म बढि साहित्यमा नै सक्रिय छु । यसमा पनि बढि कविता नै लेख्छु । चितवनमा एकल कविता वाचन र सशुल्क राष्ट्रिय मुक्तक गोष्ठी थियो । साथीहरुले त्यसमा पनि आमन्त्रण गर्नुभएको थियो । त्यो सिलसिलामा त्यहाँको कार्यक्रम सकिएपछि यसो राजधानीमा साथीभाई पनि भेटुँ भनेर यता पसेको हुँ । मेरो धेरैजसो समय साहित्य सिर्जनामै    बित्छ ।

धेरैले कविता लेख्छन्, तपाईंका कविता चैं अरुका भन्दा फरक भनेर कसरी चिनिन्छन् ? 

हो एउटा उमेरमा सबैले नै कविता लेखेका हुन्छन् । म पनि युवा हुँदैमा कविता लेख्न थालेको मान्छे हो। तर निरन्तर लेख्दैछु । मेरा कवितामा फरक के छन् त्यो त मैले दावी गर्नुभन्दा पनि पाठकले मूल्यांकन गर्ने कुरा हो। म चैं यतिमात्र भन्नसक्छु कि मेरा कविता कोरा कल्पनामा आधारित हुँदैनन्,समाजमा जनजीवनमा र प्रकृतिमा आँखाले जे देखिन्छन्, जे जस्तो महसुस हुन्छ तिनै बिषय नै मेरा कविताका थिम हुन्छन्। बोलिचालीका भाषामा सबैले बुझ्नेगरी लेख्न मन लाग्छ। यति नै हो।

कतिवटा कविता लेखियो अहिलेसम्म ?

यति नै लेखियो भनेर हिसाब त राखेको छुईन। तैपनि सम्झेसम्म मैले लगभग तीन सयवटा जति कविता लेखिसकें हुँला । डेड सयवटा जति मुक्तकहरु भए होलान् । मेरा दुईवटा कविता संग्रह निस्किसेकका छन् । २०४० साल देखि नै लेख्न शुरु गरेता पनि मेरो पहिलो पुस्तक ‘आकाश छुन खोज्ने मनहरु’ २०६० सालमा र २०७२ सालमा ‘समय र सपनाहरु’ कविताकृति निस्किसकेको छ । अब चाँडै तेस्रो पुस्तक निस्कँदै छ ।

पत्रकारिता किन छोड्नु भयो ?

पत्रकार हुनुअघि पनि म कविता नै लेख्थें । अब यो लेखनसँग जोडिँदै गएपछि त्यतिबेलाको परिवेशमा एउटा जिल्लामा बसेर पनि पत्रकारितासँग जानी नजानी जोडियो । त्यो सिक्ने क्रममा भएको पत्रकारिता २०४७ साल पछि आएर पुरै पत्रकारिता नै गर्ने हिसाबले काठमाडौं पसें,केही समय यतै बसें। त्यतिबेलाका मेरा समकालिन साथीहरु पत्रकारितामै रमाए जमे पनि। मलाई पछि समय परिस्थितिले साथ दिएन । म फेरि इलाम नै फर्किनु पर्ने भयो । इलाम फर्किसकेपछि म पत्रकारितामा सक्रिय भईन । तर लेखन प्रतिको मोह र आशक्ति मान्छेभित्र कहिलेपनि हराएर जाँदो रहेनछ । मलाई पनि त्यस्तै भयो, अनि लागें कविता लेख्न । हतारको साहित्य भनिने गरेको पत्रकारितालाई निरन्तरता दिन नसकेपनि कवितासँगको संगत बलियो बन्दै गएको छ यसमै रमाएको छु।

चितवनमा एक्लै कविता पढ्दा कस्तो अनुभव भयो त ?

चितवनमा एकल कविता वाचन कार्यक्रम हुँदोरहेछ । त्यहाँका साथीहरुले महिनाको एउटा  यस्तो कार्यक्रम गर्नुहुँदो रहेछ । योभन्दा अघि पोखरा, झापा, इलाम देखि लिएर अरु जिल्लाहरुमा पनि मेरो एकल कविता वाचन भएको थियो । यो क्रममा साथीहरुले यसपाली चितवनमा ईश्वर कँडेलजीले त्यो कार्यक्रमको संयोजन गर्नुभएको रहेछ । उहाँले त्यो कार्यक्रमको लागि मलाई निम्तो गर्नुभयो । मलाई पनि एउटा नयाँ ठाउँमा गएर त्यहाँका पाठकहरुलाई मेरा साथीहरुलाई आफ्ना कविताहरु सुनाउन पाएको थिइन । यसपाली एउटा अवसर जुर्यो । त्यो सँगसँगै अर्को टिकट काटेर राष्ट्रिय मुक्तक पनि भयो । त्यो कार्यक्रमको संयोजन कवि पुष्पान्जली अधिकारीजीको संस्थाले आयोजना गरेको रहेछ । त्यसको मलाई प्रमुख अतिथि बन्न पनि अनुरोध गर्नुभएको थियो । त्यहाँ एउटा सम्मान कार्यक्रम पनि आयोजना गरिएको थियो । वास्तवमा त्यहि सिलसिलामा म चितवन आएको थिएँ ।

त्यहाँ मलाई के आश्चर्य लाग्यो भने साहित्यको पाठक पनि त्यतिको हुँदारहेछन् । त्यतिको संख्यामा मान्छेहरु भेला हुँदारहेछन् भन्ने कुरा मलाई थाहा थिएन । तर त्यहाँ साहित्यको एउटा माहोल राम्रो बनेको रहेछ । असल स्रोताहरुको त्यहाँ उपस्थिति रहेछ । त्यहाँ साहित्यको एउटा ठूलो जमात रहेछ ।

कुन समयमा कविता लेख्ने गरिएको छ ?

कविता यही समयमा लेखिन्छ भन्ने होइन । कविता लेख्नको लागि एउटा निश्चित समय पनि हुँदैन । जुनबेला जुन कुराले बाटोमा हिँड्दा हिँड्दै अथवा केही गर्दा गर्दै केही छुन्छ । त्यसलाई अवसर मिलाएर लेख्ने हो । अहिले त सजिलो छ प्रविधि । पहिला त खाता किताब चाहिन्थ्यो । अहिले त हातमा मोबाइल छ । मोबाइलमा मेमो खोल्दा भईहाल्छ । त्यसमा लेख्दा पनि हुन्छ । मलाई जुन कुराले छुन्छ त्यसलाई म लेख दिन्छु । त्यसलाई बेलुका फुर्सदको समयमा कुनै ठाउँमा पुगिन्छ र अलि फुर्सदको समयमा बसेर लेख्ने हो । मेरो प्राय बानी के छ भने म कहिले पनि बेलुका १२ बजे भन्दा यता सुत्दिन । घरमा जब केटाकेटीहरु टिभी बन्द गर्छन् तब । म टिभी खासै हेर्दा पनि हेर्दिन । मैले टिभी नहेरेको १० वर्ष जति भयो होला । मलाई टिभीमा खासै क्रेज पनि छैन । आफु त साहित्य लेखनको माध्यमबाट जीवन खोज्दै हिँड्ने मान्छे हो । यो भएपछि जब केटाकेटीहरुले टिभी बन्द गर्छन् अनि मेरो लेख्ने काम शुरु हुन्छ । त्यसले गर्दा कुनैबेला बिहान पनि लेख्छु । राती उठेर पनि लेखिन्छ । जुन कुराले झट्ट छुन्छ त्यसलाई मोबाइलमा भएपनि लिपिवद्ध गरेर राख्यो र त्यसलाई पुरा गर्ने काम म पछि फुर्सदमा गर्छु ।    

  
 

शरद् र निशालाई पुत्रलाभ

 काठमाडौं । अभिनेत्री निशा अधिकारी र क्रिकेटर शरद भेषावकरलाई पुत्रलाभ भएको छ । अमेरिकाको एक अस्पतालमा निशाले छोरालाई जन्म दिएकी हुन् । निशाले

 बालगायक अशोक दर्जीलाई चर्चामा ल्याउने को हुन् पर्दा पछाडिका अभियन्ता

उर्लाबारी, २ जेठ । सामाजिक सञ्जाल अनि यूट्यूवमा यतिबेला झापा दमकका बालगायक अशोक दर्जिको चर्चा शिखरमा छ। दर्जीको पहिलो गीत “मन बिनाको धन ठूलो कि धन

 दरवार ढलेको कथा 

दरवार ढलेको कथा  किन सुनाउँछ्यौ ठुली  दरवार ढलेपनि तरवार ढलेको छैन  जातको तरवार ठुली जातको तरवार । दरवार ढलेको कथा  किन सुनाउँछ्यौ ठुली, एउटा

 खप्तडमा नेपाल र भारतका लेखक भेला हुने

काठमाडौं, २६ वैशाख । सुदूर पश्चिमको प्रख्यात पर्यटकीय स्थल खप्तडमा वृहत साहित्यिक, सांस्कृतिक र आध्यात्मिक महोत्सव भइरहेको छ । नेपाली साहित्य तथा