ओली प्रधानमन्त्री, प्रचण्ड अध्यक्ष

भक्तपुर, ३० पाैष । नेकपा(माओवादी केन्द्र)का नेता महेन्द्रबहादुर शाहीले वाम गठबन्धन तोड्न देशीविदेशी शक्तिको चलखेल बढेको बताएका छन् । रफत सञ्चार क्लबमा आज आयोजित कार्यक्रममा युवा नेता शाहीले वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनलाई टुक्य्राउँदै आफ्नो शक्ति केन्द्रका रुपमा नेपाललाई प्रयोग गर्न देशीविदेशी शक्ति लागे पनि त्यसले पूर्णता नपाउने बताए ।
आगामी पाँच वर्षसम्म वाम गठबन्धनबाट एक प्रधानमन्त्री र अर्को पार्टी अध्यक्ष हुने गरी दुई पार्टीबीच सहमति हुने बताउँदै उनले भने , “वाम गठबन्धनको सरकारमा केपी शर्मा ओली प्रधानमन्त्री भए प्रचण्ड पार्टी अध्यक्ष हुनेछन्, त्यो कार्यकाल पाँच वर्ष हुनेमा कसैलाई शंका नगर्न म आग्रह गर्छु ।”
उनले निर्वाचन आयोगले नयाँ सरकार गठनमा देखाएको अलमल रहस्यमय छ भन्दै आयोगले तत्परता देखाउन नसक्दा नयाँ सरकार गठनमा अवरोध भएको र संविधानसमेत उल्लंघन भएको टिप्पणी गरे। उनले ६ नं प्रदेशको मुख्यमन्त्रीका लागि आफू योग्य रहेको र जिम्मेवारी बहन गर्न तयार रहेको बताए । “प्रदेश राजधानीका विषयमा ६ नं प्रदेशमा कुनै विवाद छैन, प्रदेशको समग्र विकासका लागि राजनीतिक दलहरु एक जुट हुनुपर्छ”, उनले भने । रासस