‘दरबारमा सिनेमा हेर्ने सुविधा थिएन, राजपरिवारले पूरै हल रिजर्भ गर्थे ’

तपाईंहरुलाई चलचित्र प्रदर्शन गर्नुपर्छ भन्ने सोचाई कहाँबाट आयो ?

हामीले भित्री मनैदेखि नेपाली चलचित्र प्रदर्शन गर्ने ईच्छा राखेर यो काम सुरु गरेका हौं । हाम्रो हलमा बिदेशी चलचित्र वाध्यतावश प्रदर्शन गर्नुपर्ने हुन्थ्यो । आज जुन उपलव्धि पाएका छौं त्यो नेपाली चलचित्र उद्योगको लागि महत्वपूर्ण उपलव्धि हो । त्यतिबेलाकै कामको परिणाम हो । हामी २०३३ साल देखि चलचित्र प्रदर्शनको काममा सक्रियतासाथ लागेका हौं ।

तपाईंले यो काम कति वर्षको उमेरमा शुरु गर्नुभएको हो ?

यो काम मेरो बुवा गरिबनाथ सर्राफले शुरुवात् गर्नुभएको हो । बुवा विश्वज्योति सिनेमा हलको संस्थापक हुनुहुन्थ्यो । उहाँले आजको दिनमा जुन परिस्थितिमा हामीलाई यो हल दिनुभयो, हामीले त यसलाई निरन्तरता दिएका मात्र हौं । 

यो पहिलो काम थियो कि अरुबाट लिएको हो ?

यो हल बन्द रहेको अवस्थामा थियो । यसलाई चालु गर्नेमा बुवाको योगदान ठूलो छ । यो २०१५÷१६ सालको कुरा हो । त्यसपछि यहाँ जनसेवा सिनेमा हलको घटना शुरु भएको थियो । त्यतिबेला यो पनि बन्द रहेको बेला थियो । हामीले सक्रियतासाथ यसलाई चालु गर्ने प्रयास गर्यौं र सफल पनि भयौं । 

यसमा चाहिने जनशक्ति, साधन–स्रोत कसरी जुटाउनु भयो त ?

त्यतिबेला साधन स्रोत भनेको धेरै नै थोरै थियो । केही हामी भारतबाट बन्दोबस्त गरेर ल्याउथ्यौं । खास गरेर यसमा दुई थोकले धेरै महत्व राख्छ । यसमा वितरक र प्रदर्शकले एकदमै महत्व राख्छ । त्यसबेला नेपाली चलचित्रको निर्माण गर्ने मान्छे खासै थिएनन् । त्यतिबेला श्री ५ सरकारको एउटा सूचना बिभाग भन्ने हुन्थ्यो । बिशेष गरेर त्यसबेला सूचना बिभागबाट एक दुईवटा चलचित्रहरु बन्थे । चलचित्र भनेपनि वास्तवमा त्यो डकुमेन्ट्री नै हुन्थ्यो । त्यो संघर्षको बेलामा पनि सूचना बिभागले हामीसँग गरेका कुराहरुमा हामीले सहयोग गर्यौं, साथ लियौं दियौं ।

यो काम गर्छु भनेर थालनी गरेपछि पहिलो कुन चलचित्र चलाउनु भयो ?

त्यो बेला नेपाली भन्दा हिन्दी चलचित्र नै बढी चल्ने गर्थे । २०२३/२४ सालतिर सुरुमा यहाँ शम्मी कपुर अभिनित ‘बसन्त’ भन्ने चलचित्र हामीले चलाएका थियौं । चलचित्र चल्दा यहाँको वातारण धेरै नै रोचक थियो । एकदमै थोरै दर्शकहरु त्यसबेला हलमा चलचित्र हेर्न आउँथे । त्यतिबेला चलचित्र एक शो मात्र चल्थ्यो । त्यो पनि ३ बजेको शो मात्र चल्थ्यो । १२ र ६ भन्ने चल्दैनथ्यो । ३ बजेको शो नै हामीलाई पर्याप्त हुन्थ्यो ।

पहिलो चलचित्र भवन बनाउँदा कति सिटको बनाउनु भयो र त्यसको लागि प्रविधि,जनशक्ति कहाँबाट ल्याउनु भयो ?

पहिलो चलचित्र भवन ५४३ सिटको थियो । अब प्रविधि भनेको सेलुलाइडमा नै थियो । यहाँ पनि केही स्थानीय जनशक्ति थिए जसमा केहीलाई हामी पनि सिकाउथ्यौं । केही बोर्डर साइडबाट आएरकाम गर्नेहरु पनि हुन्थे । 

तपाईंले आफैंले हेरेको पहिलो चलचित्र कुन हो ?

मैले हेरेको पहिलो भारतीय चलचित्र ‘मदर इन्डिया’ हो । त्यो चाहि मैले भारतमै हेरेको थिएँ । यही हेरेको चाहि बसन्त नै हो । 

तपाईको चलचित्र हलमा नाम चलेका व्यक्तित्वहरु पनि त आउँथे होला नि ?

त्यसबेला यहीं नजिकमा एउटा नाचघर थियो । त्यसबेलाका राजनीतिज्ञ र दरबारका मानिस पनि आउँथे । हामी त केटाकेटी नै थियौं । स्कूल पढ्दै गर्दाको बेलामा पर्यो त्यो समय । मैले थाहा पाएको कुरा हो कि यहाँ महाराजाधिराज महेन्द्र सरकार जहिले पनि नाचघरमा आउने गर्थे । त्यही सन्दर्भमा कहिलेकाहीं हामी कहाँ पनि उनी आउँथे । त्यसबेला चिन्ने जान्ने आउने नेता भनेको बिन्देश्वरी प्रसाद सिंह पनि हुन् । उनी त्यसबेला संचार कै व्यक्ति थिए । त्यस्तै मुख्य अञ्चलाधीश बिष्णुमणि आचार्य पनि आउने गर्थे । त्यसबेला दरबारमा चलचित्र हेर्ने सुविधा थिएन । त्यसैले दरबारका राजपरिवार सदस्यहरु बाहिर नै आएर चलचित्र हेर्ने चलन थियो । त्योबेला दरबारका मान्छेहरु आएर चलचित्र भवन पूरै रिजर्भ गरेर सिनेमा हेर्थे । पछिल्लो समय यहाँ चलचित्रको प्रिमियर शो गर्ने चलन बढ्न थाल्यो । अनि  त्यो उद्घाटनको समयमा नेताहरु नै आउन थाले । अहिले त बिभिन्न दलका नेताहरु आउने गरेका छन् । हाम्रो चलचित्र भवनमा प्रचण्ड, मोहन बैद्य, जनार्दन शर्मा, लगायतका बिभिन्न दलका नेताहरु चलचित्र हेर्न आएका छन् ।

विश्वज्योति चलचित्र भवनको उद्घाटन चैं कसले गरेको हो ?

२०४२ सालमा त्यसबेलाका संचारमन्त्री अच्युतराज रेग्मीले विश्वज्योति चलचित्र भवनको उद्घाटन गरेका हुन् । उद्घाटनको दिन हामीले भारतीय चलचित्र ‘बाबा अमरनाथ’ भन्ने धार्मिक चलचित्र चलाएका थियौं । 

सिनेमा हलहरुमा चलचित्रहरु कसरी आउँछन् र यसमा के फाइदा हुन्छ ?

सिनेमा हलमा चलचित्रहरु ल्याउने भनेको बितरकहरुबाट नै हो । यसमा दुईथरीका बितरकहरु हुन्थे । एउटा नेपाली बितरकहरु र अर्को बाहिरबाटै आउने भारतीय बितरक हुन्थे । यसकालागि भारतका बितरकहरुलाई हामी सम्पर्क गरथ्यौं उनीहरु यहाँ आउँथे । अर्को यहींका स्थानीय एकदुई बितरकले पनि चलचित्र बितरणको काम गर्थे । उनीहरुले चलचित्र ल्याएर हामीलाई दिन्थे । यसमा फाइदा के छ भने हामीले प्रदर्शन गरेर कर तिरेर वार्षिक हिसाब–किताब गर्दा त्यहि १५ देखि २० प्रतिशत फाईदा हुन्छ ।

सिनेमा हल चलाउँदाको चुनौती र समस्याहरु के के हुन् त ?

 खासगरी बिदेशी चलचित्रहरुबाट हामीलाई धेरै चुनौतिहरु हुन्छन् । किनभने हामीले यसमा बिदेशी पैसा पनि लगानी गर्नुपर्ने हुन्छ । बिदेशमा पैसा पठाउँदा हामीसँग थौरै पैसा वचत रहन्छ । अब यसमा फाइदा के छ भन्दा हामीले हाम्रा दर्शकहरुलाई सेवा प्रदान गरिरहेका हुन्छौं । यो सेवा व्यवसाय हो । त्यसकारणले यो सेवामूलक व्यवसायमा हामीले एउटा जनसम्पर्क बनाएर दर्शकलाई मनोरञ्जन दिलाउने हो ।

चलचित्र भवनहरुमा अनेक किसिमका बिकृतिहरु हुने गरेको जस्तै गुण्डागर्दी,पकेटमारी,कालाबजारी जस्ता क्रियाकलाप भइरहेका हुन्छन् भन्ने सुनिन्छ नि ? 

यो समयको खेल हो । कुनैबेला यस्ता क्रियाकलाप नभएका पनि होईनन् । नेपालमा मात्र होईन संसारभरी नै अलिअति यस्ता प्रवृत्ति देखिन्छन् । तर यता आएर यहाँ हामीकहाँ त्यस्तो छैन, धेरै परिवर्तन भएको छ । हामीले भारतकै कुरा गर्न सक्छौं मुम्बई, कलकत्ता जस्ता ठूला ठूला शहरहरुमा पनि सिनेमा हलहरुमा धेरै नै कालोबजारी भएको देखिन्छ । तर पहिलेकै जस्तो अवस्था छैन । दर्शकहरु शिक्षित अनुशासित र सभ्य भएपछि अरु बिकृतिले कुनै ठाउँ नै पाउँदैन नि । यहाँ त्यस्ता विकृति निकै हराउँदै गएको छ तर पूरै निमूल नै भएको छ भनेर दावी गर्न चैं सकिँदैन । 

तपाईंको चलचित्र भवनमा अहिलेसम्म कति जति चलचित्र प्रदर्शन भए होलान् ? 

अहिलेसम्मको यति नै भनेर भन्न सकिन्न । त्यसको तथ्याङ्क नै हेर्नुपर्ने हुन्छ । अब भन्ने नै हो भने हामी ५५ वर्ष देखि निरन्तर सिनेमा प्रदर्शन गरिरहेका छौं । 

यहाँका चलचित्र भवनहरुले नेपाली चलचित्रलाई कम भारतीय चलचित्रलाई धेरै प्राथमिकता दिन्छन् भन्ने सुनिन्छ नि ? 

अहिले पनि नेपाली चलचित्रलाई बीच बीचमा राख्ने चलन छ । नेपाली चलचित्रलाई भारतीय चलचित्रसँग जुधाउन नचाहेकाले यसो गरिएको हो । अरु मल्टिप्लेक्स हलहरुमा चाहि दुई तीनवटा सिनेमा हल हुन्छन् । हामी एउटामात्र सिनेमा हल हुनेले नेपालीलाई नै प्राथमिकता दिन्छौं । मल्टिप्लेक्समा दुई तीन थरीका चलचित्रहरु प्रदर्शन हुन्छन् । हामीले प्राय सकेसम्म नेपाली चलचित्र नै चलाउने गर्छौं । अझ भन्ने हो भने भारतीय भन्दा नेपाली चलचित्रमा नै बढी पैसा कमाइन्छ किनभने यसमा ट्याक्स भ्याट र स्थानीय कर मात्रै छ । अब भारतीय चलचित्रमा भने अलि विकृति नै छ । 

यो पेशाबाट अहिलेसम्म कति पैसा कमाउनु भयो ?

पैसा कमाउने भनेको हाम्रो लगानी नै हो । हामी एउटा पुरानो हलबाट नयाँ हलमा आयौं । त्यो कमाई भयो । हामी त्यस्तै गरेर पुरानो हल पछि अहिले अर्को नयाँ मलतर्फ गयौं । यसमा के छ भने विविध स्रोतहरु छन् । यसमा यही छ कि मैले कमाएर लगाएको होइन कि यसमा हाम्रो मेहिनेत छ । अर्को कुरा भनेको हाम्रो स्थिरता र निरन्तरता हो । जसले गर्दा बैंक र बित्तीय संस्थाहरुले पत्याएका हुन्छन् । केही नेपाल सरकारबाट सुविधाहरु पनि लिएका छौं । हामीले कमाएको सम्पत्ति भन्ने हो भने अहिलेसम्मको प्रतिष्ठा मात्र हो । अरु त आउने जाने भैरहन्छ ।

फिल्म निर्माता र हल मालिकबीच हिसाब–किताबमा सम्बन्ध राम्रो हुँदैन भन्छन् नि ? 

समग्रमा भन्नुपर्दा अहिलेको नियम र अहिले गर्ने कामहरुको तौरतरिका खासै मिलेको रहेनछ । पहिलाको हिसाबले हिसाब–किताब भनौं भने सबै निकायहरुबाट नियन्त्रणमा र निगरानीमा हुन्थ्यो । अहिले नियन्त्रण र निगरानी भनेको कुनै पनि निकायसँग पनि जोडिएर एक छैन । एकरुपतामा कुनै पनि निकायहरुले काम गर्न पाएका छैनन् । अहिले संक्रमणकालको हिसाबले भन्ने हो भने यो व्यवसाय त अहिले कामचलाउ व्यवसाय भएको छ । यसलाई कुनै पनि स्थीरतामा ल्याउन सकिएन । 

तपाईंको बुवा यत्रो चलचित्र भवनको मालिक हुनुहुन्थ्यो तर नाम भने गरीबदास राख्नुभयो, यसको केही कारण छ कि ?

मेरो बुवाको नाम गरीबदास होइन गरीबनाथ हो । गरीबनाथ भनेको भगवान शंकरको अर्को नाम पनि हो । बुवा भक्तिभावले धेरै नै धार्मिक प्रवृत्तिको मान्छे हुनुहुन्थ्यो । त्यसकारणले उहाँको आफ्नो नामाकरण चाहि यो शंकर कै नामबाट त्यो आएको हो । केही प्रहशनमा हाम्रा हाँस्य कलाकार महजोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आर्चायले पनि यसलाई चर्चा परिचर्चामा ल्याउनुभयो । हामीलाई के खुशी लाग्छ भने हामी हाम्रो नामको एउटा प्रतिष्ठासँग जोडिएर काम गर्छौ र हाम्रो यो ठाउँमा धेरै इज्जत छ । हामी कायदा र नियमसँग नै अहिलेसम्म आएका छौं र अगाडि पनि नियमवद्ध भएर जाने भन्ने हाम्रो अठोट छ । 
प्रस्तुति : सुकृत नेपाल    
  
 

  

\'रेल सर्वे तुरुन्त प्रारम्भ हुन्छ\'

प्रधानमन्त्री केपी शर्मा ओलीले अगाडि बढाउनुभएको ‘समृद्ध नेपाल सुखी नेपाली’को नारालाई चीन र भारतका दुवै सरकारले महत्वपूर्ण भनेका छन् । दुवै

अधिकारी दम्पतिले बिताएका कष्टदायी ती रातहरु

बुहारी हामीबाट छुट्टिँदा झमक्क साँझ परिसकेको थियो । बस्ने सस्तो होटल खोज्दै हामी डल्लुदेखि कलंकीसम्म पुग्यौं । हिँड्दाहिँड्दा साँझ निख्रिसकेको

ओली फेरिएका छन्, चीन भ्रमणमा कुनै आशा नगरे हुन्छ

काठमाडौं ।   नेपाली सेनाका पूर्वसहायक रथि डा प्रेमसिंह बस्न्यात कुटनीति सम्बन्धका बहुआयाम केलाएर विश्लेषण गर्छन्। उत्तर र दक्षिणसँग बिगतदेखि

\'म एक्लै बाँच्नुको आनन्द लिईरहेकी छु\' - अभिनेत्री मनिषा कोइराला

  उच्च राजनीतिक परिवारमा जन्म, करिअरमा उच्च सफलता,व्यक्तिगत जीवनमा सम्बन्धविच्छेद, क्यान्सर जस्तो भयानक रोग र त्यससँग लड्दै नयाँ जीवन जिउनु चानचुने