माओवादीको एम्बुसले रोक्ननसकेको यात्रा 

दशवर्षे हिंसात्मक द्वन्दले घायल बनाएका व्यक्ति र परिवारका कथा न गनिसाध्य छन् न त भनिसाध्य नै होला ।  घाईते भएका कति कहाँ के गर्दै छन् , पीडित परिवारको के हाल छ, यसबारेमा पनि ठोस बन्दोबस्त र अभिलेख भैसकेको छैन । यस्तै एक द्वन्दपीडित राष्ट्रसेवक भने उच्च मनोबलकै कारण यतिबेला आफ्नो जीवनलाई सार्थक बनाउँदै देशको नाम उच्च पार्ने अठोट बोकेर अघि बढिरहेका छन् ।

वास्तवमा उनी थिए तत्कालित शाही नेपाली सेनाका एक बफादार सिपाही । द्वन्दको समयमा विभिन्न ठाउँमा खट्नुपर्ने र विद्रोहीसँग लड्नुपर्ने चुनौति उनको दैनिकी जस्तै थियो । यस्तैमा ०६० सालमा  मकवानपुरको पान्द्रामा माओवादीले थापेको विद्युतीय धरापमा परेर उनी गम्भीर घाईते भए । उपचारकोक्रममा स्पाईनलकर्ड निको भएन र ह्वीलचेयरको सहारा लिनुपर्यो ।

त्यत्रो पीडा र शारीरिक क्षति बेहोर्नुपरे पनि उनले हार खाएनन् । उनले अरु खेलसँगसँगै ह्वीलचेयर क्रिकेटको अभ्यास गर्र्दै गए र अन्तत यसैसँग सम्बन्धित संस्था ह्वीलचेयर क्रिकेट एशोशिएसन नेपालसँग आवध्द भएर प्रतियोगितामै सहभागी भएर खेल्न थाले । यही क्रममा भोलि बिहीबार २८ गतेदेखि काठमाडौंमा खेलिने तीनदिवसिय अन्तर्राष्ट्रिय ह्वीलचेयर क्रिकेट प्रतियोगितामा नेपाली टिमको क्याप्टेन भएर सहभागी भैरहेका छन् उनी । सुशील कोइराला मेमोरियल फाउन्डेसनको सहयोगमा आयोजना भैरहेको यो प्रतियोगितामा भारत र बंगलादेशका ह्वीलचेयर खेलाडी सहभागी हुँदैछन् । यी उच्चमनोबल भएका खेलाडीको साहस र अठोट सबैका लागि प्रेरणादायी लाग्ने छ, उनीसँगको रोचक वार्ता पढौं उनकै शब्दमा - 

अपाङगताको कारण 

मेरो नाम हिमाल अर्याल हो । म रुपन्देहीमा जन्मिएको हुँ । अहिले म काठमाडौंको बिजेश्वरी फेमली क्वाटरमा बस्दै आइरहेको छु । त्यो आर्मी क्वाटर हो । म आर्मीको स्टाफ पनि हुँ ।  २०६० सालमा मकवानपुरको पान्द्रामा माओवादीले थापेको विद्युतीय धरापमा परेको थिएँ । त्यही कारणले गर्दा मेरो स्पाइनल कर्ड चुँडियो । त्यहाँदेखि आजसम्मको मितिसम्म आफुले आफंैलाई ह्वीलचेयरमा डोहोर्याउँदै छु । 

खेल यात्राको शुरुवात

म पहिला त वेटलिफ्टमा काम गर्थें। म अपाङगताबाट वेटलिफ्ट गर्थे । सन् २०१० मा चाइना, २०१३ मा मलेसिया, २०१४ मा कोरिया एसियन वेटलिफ्ट खेलें । २०१० मा फर्किने बित्तिकै मलाई समाजले हामीलाई जुन हेर्ने दृष्टिकोण छ त्यसलाई परिवर्तन गर्नुपर्छ भन्ने लाग्यो । घरपरिवारहरुमा पनि अपाङगता भएपछि यसले केही गर्न सक्दैन भन्ने मानसिकता  हुन्छ । त्यसलाई चिर्नको लागि हामीले खेल देखि लिएर हरेक कुराहरुबाट अपाङगता भएका व्यक्तिले पनि केही गर्न सक्छन् भनेर देखाउनुपर्छ भन्ने सोच भयो । यसबाट सबैको दृष्टिकोण परिवर्तन गर्न सामुहिकबाट प्रयाश गरौं भन्ने धारणा बन्यो । अनि अपाङगता भएका व्यक्तिलाई समय दिएर त्यसको शुरुवात गर्यौं । त्यसपछि हाम्रो खेलको शुरुवात भएको हो । यो लगभग छ वर्ष अघि जब पाकिस्तान नेपालमा अन्तर्राष्ट्रिय फे्रन्डली म्याच किक्रेट खेल्ने भन्ने कुरा भइसकेपछि केही आर्मीका खेलाडी र केही क्लबका खेलाडी गरेर हामी सानो एउटा कचौरा जस्तो जोरपाटीको सानो एउटा ग्राउण्डमा अभ्यास गरेका थियौं ।

त्यतिबेला चौर कत्रो हुन्छ कुन ब्याटले खेल्ने कसरी बलिङ गर्ने यी कुराहरु पनि त्यति राम्रोसँग थाहा थिएन । हाम्रो दशपन्ध्र दिनको तालिमले पनि छ वर्ष इतिहास बोकेको पाकिस्तानसँग खेल्यों , त्यो खेलमा हामी जम्मा ३ रनले हारेका थियौं । हाम्रो नेपालमा पनि व्हीलचेयर क्रिकेट खेल्न सम्भव छ भन्ने सोचले हामीले एकवर्ष अघि नै भारतमा हाम्रो अध्यक्ष र हामीले पनि क्रिकेट अन्तर्राष्ट्रिय रुपमा आयोजना गर्नुपर्छ भन्ने मान्यता राख्नुभयो । हाम्रो खेल भारतसँग आगरामा हुँदैथियो । यसको लागि हामीले दिनरात एक गरेर धुलो फोहोर केही नभनी बिहान ५ बजेबाट सिफल चौरमा अम्यास   गर्यौंं । सिफलको अभ्यासले हामीलाई धेरै सिकायो पनि । जबकी नयाँदिल्लीमा बास्केटबल खेल भयो त्यो खेल जितेर हामी आगरा पुगेका थियौं । आगरामा हामीले पहिलो खेल १५ ओभर भित्रको गरेका थियौं । हामीले त्यो खेल जितेका थियौं । तर दोस्रो र तेस्रो खेल भने जित्न सकेनौं । राम्रो अभ्यास गर्न नपाउनु र सिकाउने मान्छे राम्रो नहुनाले पनि हामीले हार बेहोर्नु परेको थियो ।

क्रिकेट रुची कि वाध्यता 

मैले पहिला पनि भनिसकें हामीलाई हेर्ने दृष्किोण परिवर्तन गर्न आवश्यक थियो । म घर जाँदा मलाई देखेर बुवा आमा निराश हुने । मलाई अब के गर्न सक्छस्, त कसरी बाँच्छस्, तेरो जिन्दगी कसरी जाने हो भनेर सँधै चिन्ता गर्ने । मेरा साथीभाईहरुले पनि मलाई भन्दा पनि बढि मेरो ह्वीलचेयरलाई चिन्न थालेका थिए । जब म २४ वर्षको उमेरमा अपाङ्ग भएँ, बुवाआमा तीनवर्ष पछि आउँदा पनि रोइनै रहने । त्यसपछि मैले केही गर्नुपर्छ भन्ने सोचिरहँदा क्रिकेटलाई रोजेको होे ।

अनुभव

अझै पनि हामीलाई धेरै मान्छेहरुले अपाङ्गहरुले कसरी क्रिकेट खेल्छन् भनेर सोचिरहेका हुन्छन् । हामी जब लड्छौं अरुले उठाउँदा यिनीहरुले कसरी क्रिकेट खेल्न सक्छन् होला भन्ने मानसिकता मान्छेहरुले मनमा राखेका हुन्छन् । जब हामी जित्छौं अनि नेपालले जित्यो भनेर पढ्दा यति खुशी लाग्छ कि व्याख्या गरेर सकिँदैन, त्यसपछि सबैजनाले अनौठो मानेर हामीलाई हेर्छन् । सँधै रुने आमाबुबा पनि खु्शीले एकदमै आनन्दित हुनुहुन्छ । अहिले पनि म नेपाली सेनामा नै छु । नेपाली सेनाले यति सहयोग र साथ दिएको छ । यसमा जस्तो हाम्रो त भोली अन्तर्राष्ट्रिय खेल जित्दा हामीलाई एउटा मनोवलको लागि प्रमोसन पनि दिएको छ । शिक्षाको कमीले गर्दा पहिला जुन लुला लंङगडा भन्ने शब्द बोलिन्थ्यो अहिले त उहाँहरु खेलाडी हो भन्छन् ।

भविष्य

यसमा खेलाडीले मात्र चाहेर पनि भविष्य बन्दैन । यसमा संस्थागत रुपमा सोचिन आवश्यक छ । तालिमका लागि दक्ष कोचका साथै अन्य व्यवस्थापनका लागि नेपाल सरकारले नै दीर्घकालिन कार्यक्रम बनाउन आवश्यक छ भन्ने मलाई लाग्छ ।  खाली एउटा व्यक्तिको प्रयाशले सँधै यो अघि बढ्न कठिन छ । यसरी क्रिकेट खेल्न आधारभूत सुविधा उपल्वध भयो भने हामी पनि देशका लागि केही योगदान गर्न सक्छौं भन्ने मेरो विश्वास रहेको छ ।

आर्थिक स्रोत 

अहिलेसम्मको टुर्नामेन्ट फे्रन्डली म्याच नै भनेर खेलिएको छ । आम्दानी भन्दा पनि हामीले सबैभन्दा महत्व त शरीरलाई नै दिन्छौं । हामी जस्तो मान्छे कुनै पनि खेल नखेलीकन दिनभर कोठामा बस्दा निराशापन जागिहाल्छ । साथीभाई आउँदा नि खिन्नता हुने, हेर्दा पनि नराम्रो देखिने । साथीभाईले भन्ने बाटो पनि पाउने । त्यसमाथी पनि पुरै स्पाइनल कर्डमा चोटभएका व्यक्तिहरुको के हुन्छ भने लामो समय सुतिरहँदा घाउ हुने र हलचल नभएपछि पसिना बाहिर ननिस्के पछि जुन हाम्रो ब्लाडरमा इन्फेक्सन भएर गारो हुने । किड्नी ड्यामेज भएर मर्ने पनि खतरा हुन्छ । तर अहिले जसरी खेल्न अवसर भैरहेमा समाजमा अपाङगता भएका व्यक्ति खेल्न सक्छन् है, राष्ट्रको पहिचान दिन सक्छन् भन्ने पनि विश्वास बन्छ । मलाई त लाग्छ अपाङगता नभएकाले भन्दा बढि अपाङ्गता भएकाहरुले आफ्नो देशको झण्डा बढी फहराउन सक्छन् । म यो गर्वका साथ  भन्नसक्छु । 

खेलमा कसरी रुची बढ्यो 

 मेरो शुरुवाती चाहि भारत्तोलन हो । त्यसपछि बाँस्केटबल, क्रिकेट र म व्याटमिन्टनको पनि प्रशिक्षण गरेर बसेको छु । ह्वीलचेयरबाट हामी तेक्वान्दो पनि खेल्छौं । 

टिमको सहयोग 

मेरो टिम एकदमै सहयोगी छ । मैले भनेको हरेक कुरा साथीहरु मान्छन् । हामी सबै एकजुट छौं । ह्वीलचेयरमा सबै संगठित नै भएर हिँड्नुपर्छ । अलिकति मेरो ठूलो स्वर छ । बेलाबेलामा रिसाईदिन्छु अनि साथीहरु मलाई सम्झाउँछन् । मैले अब म क्याप्टेन बस्दिन अरुलाई राख पनि बारम्बार भन्दै आएको छु तर उनीहरु मान्दैमान्दैनन् । त्यसैले छोड्ने कुरा नगर्नु भन्छन् । 

पहिलो अन्तर्राष्ट्रिय टुर्नामेन्ट

म एकदमै खुशी छु । भारत, पाकिस्तान, बंगलादेश जस्ता देशले यस्तो टुर्नामेन्ट गर्न सकेका थिएनन् । अब नेपालमा यो टुर्नामेन्ट हुँदैछ । एकदमै गर्व लागेको छ । यसमाथि पनि जति सहयोगी हातहरु छन् उहाँहरुले गर्दा नै छुल्टिम दाई (ह्वीलचेयर क्रिकेट एशोशिएसनका अध्यक्ष) ले हाम्रो लागि म्याच गर्दिदै हुनुहुन्छ एकदमै खुशी छु । यो खेलपछि अब समाजले अपाङ्गता भएकाहरुलाई अझ बढी चिन्न सक्छन् । घरपरिवारको लागि पनि एउटा हर्षको बिषय बन्नसक्छ । 

प्रस्तुति - सुकृत नेपाल 

 

नेपालको टि–२० विश्वकप यात्रा मलेसियाबाट शुरु

काठमाडौं, ७ वैशाख । अष्ट्रेलियामा सन् २०२० को अक्टोबर १८ देखि नोभेम्बर १५ सम्म आयोजना हुने आईसीसी टि–२० विश्वकप छनौट प्रतियोगिताहरुको खेल तालीका

क्रिकेटको गाँठो फुक्यो, आईसीसीको निलम्बन हट्ने

 काठमाडौं। बिहिबार सम्पन्न भएको नेपाल क्रिकेट संघ (क्यान) को विशेष साधारण सभाले अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) बाट गठित देशभरिका खेलसम्बद्ध

रुसमा दुई नेपालीले फुटबल खेल्ने

काठमाडौँ, ५ वैशाख । रुसमा आयोजना हुन लागेको ग्लोबल फुटबल फर फ्रेन्डशिप (एफफरएफ) कार्यक्रममा नेपालका दुईजना यूवाले प्रतिनिधित्व गर्ने भएका छन्

 साफ च्याम्पीयनसिपको ड्र सार्वजनिक

काठमाडौं,५ वैशाख । साफ च्याम्पीयनसिप फुटबल प्रतियोगिताको ड्र बुधबार बंगलादेशको ढाकामा सार्वजनिक भएको छ । नेपाल समुह ए मा रहेको छ । नेपालको समुहमा