लोकतन्त्र जित्दैछ, नेताहरु नहारुन्

 नेपालको इतिहासमा २०७४ साल ‘निर्वाचन वर्ष’ बन्न पुगेको छ । जनताले एकैपटक यति बहुआयामिक ढंगले लोकतान्त्रिक अधिकार उपयोग गरेको यसैपाली हो । संसारमा एकैपटक यसरी बहुआयामिक निर्वाचन भएका विरलै घटना हुन्छन् । बीसवर्षसम्म कर्मचारीकै भरमा थन्किएको स्थानिय निकायले यसैपाली जनताका प्रतिनिधि पाएको छ । यसैगरी गत मंसीर १० मा प्रदेश र प्रतिनिधिसभाका लागि ३२ जिल्लाका कुल ३१ लाख ९१ हजार ९ सय ४५ मतदाताले आफ्नो अधिकारको उपयोग गरिसकेका छन् । प्रतिनिधिसभाका ३७ र प्रदेशसभाका ७४ निर्वाचन क्षेत्रका लागि करीब ६५ प्रतिशत मत खसिसकेको छ । यसरी भावी नेपालको करीबकरीब आधा चित्र मतपेटीकामा सुरक्षित भइसकेको छ । अब बाँकी चित्र यही चारदिनपछि मंसीर २१ मा हुने दोश्रो चरणको निर्वाचनले पुरा गर्नेछ । अनि बल्ल सत्तरी वर्षपछि जनताले आफंै बनाएको सँविधान बमोजिमको शासन पद्धती मुलकमा प्रारम्भ हुनेछ । राजनीतिक संघर्षको लामो चक्र समाप्त हुनेछ र मुलुक समृद्धिको दिशातर्फ अघि बढ्नेछ ।

भाले भिडन्त

यसपालीको निर्वाचन ऐतिहासिक मात्र हैन, रोचक पनि भइरहेको छ । समानुपातिकको दुलोबाट छिरेर शासन सत्तामा हावी हुन चाहने अनुहारहरु अझै पनि बाँकी होलान्, तर प्रमुख पार्टीका केन्द्रीय स्तरका धेरै नेताहरुले भने लोकतान्त्रिक पद्धतिलाई नै अपनाएका छन् र जनताको कसीमा खरो उत्रने साहस देखाइरहेका छन् । आफु सरहकै वजन र उचाइको प्रतिद्वन्द्वी हुँदाहुँदै पनि नेताहरु निर्वाचनबाट भागेका छैनन्, यसबाट चुनावअघि नै लोकतन्त्रको जीत भइसकेको छ ।

पहिलो चरणको निर्वाचनमा गोरखा–२ बाट एमाओवादी नेता नारायणकाजी श्रेष्ठ र नयाँ शक्ति पार्टीका संयोजक डा.बाबुराम भट्टराईवीच रोचक भिडन्त भयो, जसको परिणाम आउन बाँकी छ । नारायकाजीलाई बाम गठबन्धन र डा. भट्टराईलाई नेपाली कांग्रेसको समर्थन रहेको छ । 
यसैगरी झापा क्षेत्र नम्बर –३ मा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई हराउन सारा बाम गठबन्धन एक भएर राप्रपाका नेता राजेन्द्र लिंगदेनलाई खडा गरेका छन् । यो क्षेत्रमा अन्तिम समयमा आएर कांग्रेस र राप्रपावीच तालमेल हुन सकेन । पार्टीले समानुपातिकमा आफ्नो नाम समावेश गरेकामा चर्को असहमति जनाउँदै सिटौला जनताको प्रत्यक्ष समर्थन लिन मैदानमा उत्रिएका छन् । उनी आफूलाई परिवर्तनको प्रतिनिधि भएको दावी गर्दै राजतन्त्रको अवशेष व्यूँताउन आफ्नो क्षेत्रका मतदाता कदापि तयार नभएको प्रष्ट पारिरहेका छन् ।

यसैगरी चितवन–३ मुलुककै प्रमुख आकर्षणको चुनावी क्षेत्र हो, जहाँ माओवादी नेता पुष्पकमल दाहाल   भिडिरहेका छन् । दाहाललाई राप्रपा प्रजातान्त्रिक र कांग्रेसका साझा उम्मेदबार विक्रम पाण्डेले चुनौती दिइरहेका छन् । स्थानिय निर्वाचनमा दाहालले कांग्रेससँग तालमेल गरेर भरतपुर महानगरपालिकामा छोरी रेणु दाहाललाई जिताउन सफल भएका थिए र एमालेका देवी ज्ञवालीले हार ब्यहोर्नु परेको थियो । अचेल तिनै ज्ञवाली दाहालका लागि भोट माग्दै हिँडेको अनौठो दृश्य देख्न पाइन्छ । विक्रम पाण्डे पनि चितवनका बलिया प्रतिद्वन्द्वी र व्यवसायी हुन्, जो यसअघि सांसद भइसकेका हुन् । दाहालजस्तो शीर्ष हेभीवेट र पाण्डेवीचको यो प्रतिष्पर्धालाई देशले मात्र हैन, विदेशले पनि हेरिरहेको छ ।

यसैगरी धनुषा–३ मा कांग्रेस नेता विमलेन्द्र निधि र राजपा अध्यक्ष मण्डलका राजेन्द्र महतो तथा नवलपरासीको बर्दघाट सुस्तापूर्व क्षेत्र नम्बर १ मा कांग्रेस महामन्त्री डा. शशांक कोइराला र मधेशबादी नेता हृदयेश त्रिपाठीवीचको भिडन्त पनि कम्ती रोचक छैन ।

काठमाडौं क्षेत्र नम्बर–१ मा नेपाली कांग्रेसका नेता प्रकाशनमान सिंहविरुद्ध विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्र र बाम गठबन्धनबाट अनिल शर्मा (जनार्दन शर्मा प्रभाकरका भाई) खडा भएका छन् । बाम गठबन्धनले प्रकाशमान सिंहलाई हराउनकै लागि कमजोर उम्मेदबार खडा गरेको आँकलन गरिएको छ । सामाजिक सञ्जालको ह्वीममा रविन्द्र मिश्रको क्रेज कम छैन, तर काठमाडौंको कोर लोकल भोटमा प्रकाशनमानकै पकड देखिन्छ । सामुदायिक मत र कांग्रेसको राणाकालदेखिको संगठन प्रकाशमानको बलियो पक्ष हो । तर, किशुनजीलाई हराउने र नानीमैयाँ दाहाललाई जिताउने काठमाडौंको तरल मत रुझान यसपाली कता बहकिन्छ त्यो भने यसै भन्न सकिन्न ।

काठमाडौं क्षेत्र नम्बर ४ मा गगन थापा र एमालेका राजन भट्टराइवीचको प्रतिष्पर्धा पनि कम रोचक छैन । तर, काठमाडौंमा गगनको पहिलेदेखिकै प्रभाव कायमै छ भने राजन नयाँ अनुहार हुन् । योे क्षेत्रमा विवेकशीलले सुबुना बस्नेतलाई खडा गरेको छ । गगनका लागि भोट माग्न झापाबाट विश्वप्रकाश शर्मासमेत आइरहेको देखिन्छ । यसरी हेर्दा राम्रा, इमान्दार र असल युवाहरुवीचको यो प्रतिष्पर्धाले पनि सबैको ध्यान तानेको छ । 
    तनहुँ–१ मा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई हराउन भनेर कांग्रेसकै अर्का नेता गोविन्दराज जोशीले उम्मेदबारी दिएका थिए । तर, निर्वाचन आयोगले पनि जोशीको निर्वाचन रद्द गरिदिएकाले पौडेललाई केही राहत मिलेको छ । कांग्रेस युवा नेता प्रदीप पौडेल तनहुँ–२ बाट खडा भएका छन् । पौडेल बामपन्थीका टार्गेट बन्दैछन् । नभन्दै उनको तनह्ुँस्थित घरमा शनिबार बिहानै बम विष्फोट गराईएको छ ।

जनताले चासो दिएको अर्को निर्वाचन क्षेत्र गुल्मीको क्षेत्र नम्बर २ पनि हो, जहाँ यसपटक पनि एमाले नेता प्रदीप ज्ञवाली र नेपाली काँग्रेसका चन्द्र भण्डारीवीच तिब्र प्रतिष्पर्धा हुँदैछ । २०७० सालको निर्वाचनमा भण्डारीले जितेका थिए ।

यसैगरी मोरङ–६ मा नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला र एमाले नेता लालबाबु पण्डितवीच भिडन्त हुँदैछ । कांग्रेसभित्र मात्र होइन राष्ट्रिय राजनीतिमा समेत कोइराला परिवारका प्रभावशाली शेखर बिराटनगरमा सात सालदेखिको क्रान्तिको लिग्यासी बोकेका नेता मानिन्छन् । कोइराला र मन्त्री हुँदा डिभी÷पिआर लिने कर्मचारीमाथि कार्वाही गरेर चर्चामा आएका पण्डितवीचको प्रतिश्पर्धाले पनि सबैको ध्यान तानेको छ ।

लोकतन्त्रलाई बधाई 

अमेरिकी विद्वान हेनरी किसिंजर बारम्बार भन्ने गर्छन्, ‘समाजमा भएका विधाहरुमध्ये सबैभन्दा खराब विधा राजनीति नै हो, तर सबैभन्दा अपरिहार्य विधा पनि राजनीति नै हो ।’

किसिंजर यसमै थप्छन्, ‘राजनीतिमा लोकतान्त्रिक पद्धतिबाट मानिसका समस्या पूर्ण रुपमा समाधान नहुनसक्छ, तर अहिलेसम्म संसारमा प्रयोगमा आएका राजनीतिक पद्धतिमध्ये लोकतन्त्रभन्दा उन्नत पद्धति अर्को कुनै छैन ।’ 

किसिंजरको भनाइ बिलकुल सही हो । लोकतान्त्रिक विधि नै आजसम्म मानिसले उपयोग गरेको सर्वोत्तम विधि हो । सोही कारण बिगतको संसदीय कालखण्डको जतिसुकै बदनामी किन नहोस्, हामी आजका दिनमा पनि सोही संसदीय लोकतान्त्रिक पद्धती नै अपनाइरहेका छौं । यसबाट पनि स्पष्ट हुन्छ कि खराब लोकतान्त्रिक पद्धति हैन, व्यक्ति या दलहरु हुन् ।

लोकतन्त्रको विकल्प लोकतन्त्र

 लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो । २०१७ सालमा लोकतन्त्रको विकल्प खोज्दै राजा महेन्द्रले पंचायती व्यवस्था लादे, तर त्यो सफल हुन    सकेन । लोकतन्त्रको अपरिहार्यता कस्तो भने पंचहरुले समेत जनताको आँखामा छारो हाल्न संसदीय चुनाव (राष्ट्रिय पंचायत)को नौटंकी गर्थे । लोकतान्त्रिक मूल्य र मान्यताकै जीत त थियो, २०३६ सालको जनमत संग्रह पनि । त्यसमा शासन सत्तामा रहेका पंचहरुले सूर्यबहादुर थापाजस्ता चतूर राजनीतिज्ञको उपयोग गरेर बहुदललाई हराउनसक्छन् भन्ने जान्दाजान्दै पनि कांग्रेसका संस्थापक नेता विपी कोइराला त्यसमा सहभागी भएका थिए । किनभने विपीलाई थाहा थियो, जनमत संग्रह  हुनु आफैंमा लोकतान्त्रिक मूल्यको विजय थियो । अनि बिपीलाई के पनि थाहा थियो भने एकपटक लोकतान्त्रिक अभ्यासको स्वाद चखाइयो भने जनता त्यही स्वादको पक्षमा उभिनेछन् । बहुदलले हारे पनि बिपी चुनावअघि नै बिजयी भइसकेका थिए । सोही चुनावी लतकै कारण जनताले दश वर्ष नबित्दै २०४६ सालमा पंचायती ब्यवस्थालाइ नै ढालिदिए ।

लोकतन्त्रले केही परिणाम देखाउन खोजिरहेको थियो, अभ्यासका क्रममा केही उतारचढाव पक्कै देखिए । तर, त्यसले एकाध आवधिक निर्वाचनको अभ्यास गर्न नपाउँदै २०५२ सालका उग्रबामपन्थी गतिविधि सुरुभयो । लोकतन्त्रको विकल्पमा जनवादी राज्यसत्ता स्थापनाको हुँकार गर्दै माओवादी बिद्रोह सुरु भयो । उता तत्कालीन राजा ज्ञानेन्द्रले पनि लोकतन्त्रको विकल्प दिन्छु भन्दै स्वच्छ छविको सरकारका नाममा शाही शासन चलाउन थाले । माओवादी र दरबार दुबैले लोकतन्त्रको विकल्प दिन सकेनन् र दिने कुरा पनि थिएन । एउटा उग्रबामपन्थी, अर्को उग्र दक्षिणपन्थी   प्रतिगामी । अन्ततः माओवादी पनि लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो भन्ने निचोडमा पुग्यो, त्यतिबेलासम्म  नेपाल आमाका १७ हजार छोराछोरीको ज्यान गइसकेको थियो ।

बाह्र बुँदेको निरन्तरता

 बाह्र बुँदे समझदारीमार्फत माओवादीहरु लोकतान्त्रिक शान्तिपूर्ण रुपान्तरणको प्रकृयामा आए । संविधानसभा निर्वाचनमार्फत जनताले नयाँ सँविधान बनाए । र, आज सोही संविधानको कार्यान्वयनका लागि हामी लोकतान्त्रिक अभ्यासलाई संस्थागत गर्न गइरहेका छौं । २०१५ सालको पहिलो आम निर्वाचनमा चार सिट जितेका कम्युनिष्टहरु पनि यतिबेला यही लोकतान्त्रिक विधिमार्फत नै दुइतिहाइ ल्याउने उदघोष गरिरहेका छन् । लोकतन्त्रको सौन्दर्य पक्ष हेरौं, कम्युनिष्ट शासन चाहिन्छ भन्नेहरु मात्र हैन, राजतन्त्र चाहिन्छ भन्नेहरु पनि चुनावमा सहभागी छन् । यही कारण त गिरिजाप्रसाद कोइरालाले धेरै वर्ष पहिलो लोकतन्त्रमा सबैको जीत हुन्छ, कसैको हार हुँदैन भन्ने सन्दर्भमा २०४७ साल चैत्र २७ गते खुलामंचमा आयोजित आमसभामा भनेका थिए, ‘यो बहुदलबादीहरुको मात्र हैन, यो पंचहरुको पनि जीत हो, यो प्रजातन्त्रको जीत हो ।’

कांग्रेस नै मियो 

यतिबेला हामी लोकतन्त्रको उत्सव मनाइरहेका छौं । प्रदेश र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएपछि मुलुकमा लोकतन्त्रको जीत हुनेछ । लोकतन्त्रको जीत हुनु भनेको लोकतान्त्रिक मूल्य मान्यताका लागि पचहत्तर वर्षदेखि लड्दै आएको पार्टी कांग्रेसको सबैभन्दा ठूलो जीत हो । किनकी,     बाह्र बुँदे समझदारीयताको लोकतान्त्रिकरणको नेतृत्व कांग्रेसले नै गर्दै आएको छ । यसवीचका तीन मुख्य लोकतान्त्रिक उपलब्धिमा कांग्रेसकै अग्रणी भूमिका देखिन्छ । जस्तो कि, नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वमै पहिलो पटक संविधानसभाको निर्वाचन भयो । जनताले आफ्नो संविधान आफैं बनाउने मौका पाए । उनको महाप्रस्थानपछि कांग्रेस र देशको बागडोर सम्हालेका सुशील कोइराला प्रधानमन्त्री हँुदा संविधान सभाबाट पहिलो पटक नयाँ संविधान जारी भयो । मुलुक नयाँ युगमा प्रवेश ग¥यो ।

अब अहिले आएर कांग्रेस सभापति शेरबहादुर देउवाको पालामा सो संविधान कार्यान्वयन हुँदैछ, अर्थात् नयाँ संविधान बमोजिमको पहिलो चुनावी महाअनुष्ठान सम्पन्न हुँदैछ । यसरी हेर्दा लोकतान्त्रिक प्रकृयामा आजको मितिसम्म पनि कांग्रेसले नै लिड गरिरहेको छ । यसमा अरु वामपन्थी राजनीतिक दलहरु नेकपा एमाले,माओवादी केन्द्र र अन्य विभिन्न दलहरुको भूमिका तथा योगदान कम महत्वपूर्ण छैन । उनीहरुको भूमिका र योगदानलाई पनि जनताले उचित सम्मान दिँदै आएका छन् ।

अन्तिम मौका

 संविधान बन्यो, चुनाव पनि भयो । त्यसपछि के ? फेरि उही संसदीय जोड घटाउ र सत्ताको छिनाझपटीको म्यूजिकल चेयरमा दौडने हो कि देशलाई समृद्धितर्फ लैजाने हो ? अब यतिबेला यो प्रश्न महत्वपूर्ण छ । किनकी, मुलुकमा गणतन्त्र ल्याएर र नयाँ संविधान दिएर योगदान पु¥याएका कारण मात्र प्रमुख दलका अधिकांश पुराना अनुहारलाई जनताले यसपाली पनि पत्याएका हुन् । हैन भने, ती सबै टेष्टेड र कतिपय सन्दर्भमा बदनाम अनुहार पनि छन् । संबिधानको कार्यान्वयनपछि अब यिनीहरु समृद्धितर्फ लाग्छन् कि भनेर मात्र जनताले अन्तिम पटक पत्याएका हुन् । यो चुनावमा अधिकांश पुराना अनुहारका लागि लास्ट चान्स हो ।

 यसपाली निर्वाचित हुनेहरुले यो मौकाको सदुपयोग गरेर मुलुकलाई लोक कल्याणकारी र विकसित बनाउन सफल भए भने उनीहरु जनताको आँखाको नानी हुनेछन्, तर उही बिगतमा झैं सत्ताकै खेलमा लागे भने आँखाको नानी हैन, आँखाको कसींगर साबित हुनेछन् । किनकी, मुलुकमा नयाँ शक्तिहरु पनि उदाइरहेका छन् । युवा पुस्तामात्र हैन, अधवैंशे प्ुस्तासमेत आफ्नै जीवनमा मुलुकको उन्नती देख्न आतुर छ, नातीको पालासम्म पर्खीने फुर्सद कसैलाई छैन । २०६२÷०६३ को आन्दोलन, नयाँ संविधान, गणतन्त्र स्थापना र निर्वाचनसम्मका योगदानका कदर गर्दै जनताले दलको पुरानो पुस्तालाई जुन ‘लास्ट चान्स’को दिएका छन्, त्यसको सदुपयोग गरेनन् नयाँ पुस्ताले नयाँ राजनीतिक शक्तिको जन्म आफैंले गराउनसक्छन् या अहिले उदाइरहेका नयाँ दलहरुतर्फ जनमत फर्किन पनि सक्छ । यो पक्ष पेचिलो छ । पुराना नेता र दलहरुका लागि बिचारणीय पनि ! मंसीर २१ को निर्वाचन सम्पन्न भएपछि लोकतन्त्र त जित्दैछ तर नेताहरु नहारुन् । 


 

‘भाग्य निर्माण गर्ने कुनै विधाता छैन’

स्वामी वासु समर्पण - ओशोले बारम्बार चर्चा गरेको एउटा सन्देश छ –‘अरी, मै तो नाम के रंग छकी । मनुष्य एउटा शीतको थोपा हो जसको भित्र निर्वाण

संघीयता ओखती कि विष ?

धेरै राष्ट्रको लागि घाँटीमा अड्किएको हाड सावित ‘प्रजातन्त्रले जनतालाई ‘अरू’ (अदर) ठान्ने अवस्था आयो भने त्यस्तो प्रणालीको सरकार निकृष्ट

एल पि भानु शर्मा : आफूभित्रै विराटको गहन अनुभूति हो –‘ परमप्रकाश ’

परमप्रकाशको सुन्दरतम अनुभूति पस्किने क्रममा यहाँलाई भनूँ कि – मनुष्यले जब होस खोल्न थाल्यो, उसका विचारधाराहरु चल्न थाले, त्यतिबेलादेखि नै दुईटा

स्थानीय निर्वाचन : कांग्रेसको दशा र दिशा 

 सात दशक लामो राजनीतिक इतिहास बोकेको नेपाली कांग्रेसबारे केही समययता अनेक टीकाटिप्पणी सुनिनथालेका छन् । ती विशेषगरी नेतृत्वको क्षमता, विवेक र