उनको पाइलट बन्ने सपना थियो तर......! 

उनले शक्तिकेन्द्रमा ठोकिन आउने ठूला साना किसिमका आफ्ना लागि भक्ति गाउन झुम्मिने झुण्डहरुका एक होईन अनेक दृश्यहरु देखेका छन् । कहिले अप्रत्यक्ष रुपमा त्यस्ता दृश्य देखेका उनले पछि त प्रत्यक्ष नै सामना गरे ।

परिवार नै राजनीतिक आन्दोलनमा होमिएको हुनाले त्यसबाट पर्ने मार अरु सदस्य सरह उनले पनि भोगेका छन् । सामाजिक, शैक्षिक र आर्थिक सुविधामा सधैं आईपर्ने अनिश्चय र व्यवधान त नियमित आकस्मिकता नै थियो उनको परिवारमा । मनोवैज्ञानिक उतार चढावका बावजुत उनी कक्षामा औसत दर्जाका विद्यार्थीमा पर्थे ।

सिंगो परिवारमाथि पर्ने तत्कालिन सत्ताको बक्रदृष्टि र अभिभावकसँगको सामिप्यबाट प्रायश बञ्चित हुनुपरेको पीडा उनी र परिवारका सबैजसो सदस्यहरुले बेहोरेको व्यथा हो ।

नेपालको प्रजातान्त्रिक आन्दोलनको पर्याय बनेको कोइराला परिवारका एक  सदस्य अतुल कोइराला यहाँ चर्चा गरिएका संघर्षशील र फरक किसिमका पात्र हुन् । बिनोद कोइरालाका छोरा अतुल पेशाले कम्प्युटर इन्जिनियर हुन् ।

अध्ययनको समयअवधि वाहेकको सम्पूर्ण समय निरन्तर नेपालको फरक फरक क्षेत्रमा आफ्नो योगदान पुर्याउँदै आएका अतुलले आफ्ना काका उच्च ओहोदामा छँदा एउटा हैसियतको राम्रो पदको अपेक्षा र इच्छा राख्नु सायद स्वाभाविक नै होला । तर काका सुशील कोइराला प्रधानमन्त्री हुँदा हज्जारौं कार्यकर्ता भएको पार्टीमा उनले स्वकीय सचिव भएर काम गर्ने मौका पाए जुन उनका लागि एउटा अति नै नयाँ संवेदनशील र ठूलो चुनौतिपूर्ण कार्य थियो । उनलाई त्यसबेला लाग्यो सगरमाथाको चुचुरोमा त पुगियो तर त्यहाँ केहिबेर मात्र पनि उभिन धेरै नै गाह्रो छ । आफन्तका अनेकौँ सुझावका वावजुद उनी त्यो पदीय जिम्मेवारी स्वीकार्न तयार  भए । त्यो संवेदनशील समयमा अहोरात्र खटेर काकालाई महत्वपूर्ण सहयोग गरे । संविधान निर्माण र घोषणा गर्ने समयावधिमा जुन तनाव थियो त्यो सबै परिस्थितिका प्रत्यक्ष साक्षी थिए अतुल । उनले प्रधानमन्त्री सुशील कोइरालाले डटेर सामना गरेका आन्तरिक र वाह्य परिस्थिति र शक्तिलाई पनि ज्यादै निकटबाट नियालेका छन् । कतिपय परिस्थिति त स्वयं भोगेका पनि छन् ।

‘यहाँ हाम्रो देशमा आर्थिक गरिबी छ भनिन्छ तर मलाई त्यसमा विश्वास लाग्दैन,’ एकदिन चिया गफमा सरल पत्रिकाका लागि विष्णु निष्ठुरीसँग कुरा गर्दै अतुलले भने, ‘गरिबी छ भने हाम्रो एटिच्युड, प्यासेन्स र कमिटमेन्टमा, प्रोफेस्नालिजमको अभाव र लक्ष्यबिनाको कार्यशैलीमा मात्र छ , तर मैले धनमा र जनमा गरिबी देखेको छैन ।’ उनले चिया वार्ताकै क्रममा भनेका कतिपय विषयका कुरा झट्ट सुन्दा उनका नीजि झैं लाग्ने तर खासमा भने अनुभवहरुबाट सँगालिएर खारिएका बिचार रहेछन् ।

प्रहरी निरीक्षक बुवा बिनोदले विभिन्न शहरमा सरुवा हुँदा हुँदै राजनीतिक कारणले नै जागिर छोड्नु पर्यो र नेपालगंजमा बस्न थाले । यही क्रममा अतुलको जन्म पनि त्यहीं भएको हो । उनको प्रारंभिक शिक्षा पनि नेपालगंजमै भयो ।

उनी  ६-७ वर्षको उमेरमा विराटनगर लगिए र त्यहीं नै बाँकी शिक्षा आर्जन गरे । ०३८ सालतिरको कुरा होला, देशमा राजनीतिक अस्थिरता थियो र शैक्षिक शत्रको पनि कुनै निश्चित तालिका थिएन जसकारण उनी आईएससी गर्न भारत जानुपर्यो । ०४३ सालमा आईएससी सकेर उच्च शिक्षा हासिल गर्न भारत लगायत विभिन्न ठाउँमा प्रयत्न गरे । तर समयले साथ दिएन । उनी निष्क्रिय भई नबस्ने भनेर कामको खोजीमा लागे । काठमाडौंको पाँचतारे होटल सोल्टीमा २ वर्ष जति काममा रमाउँदै गरेका अतुलको कामप्रतिको लगाव र सीप बुझेको व्यवस्थापनले पदोन्नति समेत गरेर उनलाई श्रीलंका जाने अवसर दियो । उनी त्यतै गए र काम गर्न थाले । तर त्यहाँ राजनैतिक अस्थिरता थियो, उनी त्यहाँ पुगेको २ वर्ष पनि नबित्दै एउटा ठूलै राजनीतिक घटनाले त्यहाँको पर्यटन क्षेत्र पुरै प्रभावित पार्योे जसकारण धेरै विदेशी नागरिकले श्रीलंका छोड्नु पर्यो र अतुल पनि फर्किए काठमाडौं ।

त्यसपछि थाँती रहेको पढाई पूरा गर्ने अवसर पाई उनी ०४७ सालमा रुस गए र उतै उच्च शिक्षा पूरा गरे तर त्यहाँ पढ्दाखेरीको पीडा अर्कै थियो । त्यहाँ अहिले एनआरएनका उच्च पदमा रहेका व्यक्तिहरुको काममा सहयोग गरेर आफ्नो पढाई लगायतका खर्च जुटाउनु परेको थियो । त्यसबेला रुसमा पनि राजनीतिक स्थिति संक्रमणकालीन अवस्थामा थियो, वातावरण त्यति राम्रो थिएन । त्यसपछि उनी नेपाल फर्किए ।

अनि उनले ईन्जिनियर दिपक भट्टराइको सहयोगमा शिक्षण क्षेत्रमा आवद्ध हुने मौका पाए । नेपाल इन्जिनियरिंग कलेज दुवाकोट, भक्तपुरमा कम्प्युटर बिषयको विभागीय प्रमुखको रुपमा असिस्टेन्ट प्रोफेसर भएर काम गर्न थाले अतुल । उनले पोखरा र पूर्वाञ्चल विश्वविद्यालय जस्ता शिक्षण संस्थाका पाठ्यक्रम तयार गर्ने  जिम्मेवारी पूरा गर्ने अवसरमा उल्लेखनीय भूमिका निर्वाह गरे ।

बैंकिंग क्षेत्रको अनुभव

अतुलका अनुसार, उनलाई जनसंपर्क बढी हुने संस्थाहरु तथा रियल टाइम सिस्टममा काम गर्न खुबै रुची थियो । त्यसबेला नेपालमा कम्प्युटराईज्ड बैंकिंग सिस्टममा काम सुरु गर्ने अवसर पाए उनले । २०५९ सालतिरको कुरा हो, बैँकमा जागिर खान थाले लगत्तै उनले एउटा ठूलो शारीरिक कष्टबाट गुज्रिनु परेको थियो । जिब्रोको क्यान्सरले गर्दा झण्डै ज्यानै गुमाउनुपर्ने अवस्थामा पुगिसकेका थिए उनी तर नयाँदिल्लीको एम्स अस्पताल उनको ज्यान बचाउन सफल भयो । स्वास्थ्यलाभ अवधिका कारण जागिर पनि गुमाउने अवस्था थियो तर सहकर्मी तथा व्यवस्थापनको सदासयता, मानवीयताको कारण त्यसो भएन ।

सिद्धार्थ बैंकमा उपल्लो तहमै करिब १० वर्ष जागिर गर्दा आफूलाई प्राविधिक खुबीले परिपरक्व पार्दै आफ्नो प्रतिभा पनि चिनाएका थिए अतुलले । त्यसबेला देशमा प्रजातान्त्रिक सरकार थियो । सरकारको प्रमुख र अरु हर्ताकर्ता चिनजानका र परिवारकै सदस्यहरु थिए । तर अतुलले राजनीतिक प्रभावको सहारा लिनु उचित ठानेनन् । सहकर्मीहरुको अनेक सुझाव पनि उनलाई नीतिगत रुपमा अमिल्दो लाग्यो साथै बैंकका केही गैरव्यवसायिक कार्यशैलीका तत्कालीन व्यवस्थापकहरुसँग आजित भएपछि नीतिगत बिषयमा समझौता गर्न नसकेर अतुलले राजीनामा दिए । अनी अतुल आफ्नै बलबूतामा इन्टरप्रेनरसीपलाई प्रोत्साहन गर्छु भन्ने अठोट गर्दै साथीहरुको मेगाटेक टिमसँग मिलेर भावी चुनौतिसँग पौंठेजोरी खेल्न मञ्जुर भए ।

विदेशमा रहँदा पाएको अनुभवले व्यवसायिकतामा गहिरो विश्वास भएका अतुलसँग शिक्षा, उद्यम, व्यवस्थापन, सूचना-प्रविधि लगायतका क्षेत्रको राम्रो ज्ञान थियो । त्यसैले उनले गैरव्यवसायिक कार्यशैलीसँग सम्झौता गरेनन् । बरु आफ्ना आवश्यकताहरुलाई कटौती गर्दै भएपनि उनले व्यवसायिकताको मूल्यमान्यतामा सम्झौता नगरी असल नियत, धैर्य र कामप्रतिको प्रतिवद्धतालाई नै निरन्तरता दिँदै इन्टरप्रेनरसीपमा अगाडि बढे ।

प्रधानमन्त्रीसँगको सहयात्रा

संविधान सभाले संविधान निर्माण गर्ने पछिल्लो चरणमा नेपाली कांग्रेसका तत्कालीन सभापति सुशील कोइराला देशको प्रधानमन्त्री भए । सबै दलको सहमर्थनमा प्रधानमन्त्री बनेका सुशीलको अगाडि चुनौतिको बिशाल पहाड थियो । मधेशको तनाव, असन्तुष्ट पक्षहरुसँगको घनिभूत संवाद र अन्तर्राष्ट्रिय चासो समेतलाई समन्वय गर्दै समयानुकूल संविधान जारी गर्नु एक किसिमले अपत्यारिलो काम थियो । तर अहोरात्रको सक्रियता र समन्वयकारी कार्यशैली भएका सुशीलले विभिन्न वैचारिक धार भएका राजनीतिक दलहरुलाई सहमतिमा ल्याएर अन्तत दुइतिहाई भन्दा बढी मतको समर्थन जुटाएर लोकतान्त्रिक संघीय गणतन्त्रात्मक संविधान घोषणा गराएरै छोडे । उनले शारीरिक अस्वस्थता र वृद्ध उमेरमा पनि अजंगको चुनौतिलाई पराजित गरेरै छोडे ।

यो कठिन र चौतर्फी चुनौतिको बीचमा भएका सबै सफल असफल काममा अतुल आफ्ना काकासँग एकाकार भएर संलग्न भए । अतुलका लागि प्रधानमन्त्रीको सहयोगीको भूमिका सर्बथा नौलो थियो र जोखिमपूर्ण पनि । तर सत्ताको आडमा अवाञ्छित लाभ उठाउने मनसाय र उद्देश्य नलिएकाले उनलाई सत्ताको राप र तापमा बसेर निर्वाह गरेको भूमिकाबाट पूरा सन्तोष मिलेको बताउँछन् उनी । भन्छन्– ‘प्रधानमन्त्रीको सहयोगी भएर काम गर्दा मलाई जिम्मेवारीले अरु बढी परिपक्व बनाएको छ ।’

अतुलले त्यसबेलाको अनुभव यसरी सुनाए – ‘मानिसहरु सत्तामा बसेर लोभ र लालचको मात्र मानसिकता पाल्दा रहेछन्, तर मलाई भने पाएको नौलो जिम्मेवारी कसरी पूरा गर्र्नेे भन्ने मात्र चिन्ता थियो । यसमा सफल भएँ भन्ने लाग्छ, यसैमा खुशी छु । तर तपाईंहरु के भन्नुहुन्छ मेराबारेमा त्यो मलाई थाहा छैन तर म भने आत्मसन्तोष नै सबैभन्दा ठूलो खुशी हो भन्नेमा विश्वास गर्छु ।’

फाउण्डेसनको सपना

अतुल आफ्ना तितामिठा अनुभवहरु डा शशांक कोइरालालाई सुनाउँदै सहयोगीको रुपमा अगाडि बढ्न थाले । यही क्रममा वीपी कोइराला र जनताको राजनैतिक आदर्श र सपनालाई सार्थक गर्दै पूर्णता दिन सफल भएका सुशील कोइरालाका नममा केही गरौं भनेर सोच्न मनन गर्न थाले ।

त्यसपछि सुशीलका नाममा एक स्वतन्त्र बैचारिक मंच निर्माण गरेर त्यसको माध्यमबाट सामाजिक क्षेत्रमा काम गर्न सर्बजनहितायको अवधारणा बनाए ।

 त्यो अवधारणा अलिक परिपक्व भएपछि उनले शशांकलाई बताए अनि उनको पूर्ण सहमति पाएपछि यसको पूर्वाधार निर्माणमा जुटे । लामो छलफल, समन्वय र अरु नीतिगत व्यवस्थापन भएपछि सुशील कोइराला मेमोरियल फाउण्डेसन कानूनी हैसियतसहित स्थापना गरे । जसको प्रमुख संरक्षक छन् कांग्रेस सभापति शेरबहादुर देउवा र अध्यक्ष छन् महामन्त्री शशांक कोइराला ।

अतुलका अनुसार, यो फाउण्डेसन कुनै राजनीतिक दल विशेषको प्लेटफर्म होईन । यसले एउटा स्वतन्त्र थिंक ट्यांकका रुपमा देशविदेश र जनताका सरोकारका सबै बिषयमा राष्ट्रिय र अन्तर्राष्ट्रिय बहस र छलफल गर्नेछ । यसका लागि सबै पेशा व्यवसायका नेपाल र विभिन्न देशका विज्ञहरुको एक विज्ञ समूह पनि फाउण्डेसनको अभिन्न अंगका रुपमा रहने छ ।

विशेष गरेर बालवालिकाको शिक्षा,युवा वर्गको व्यक्तित्व बिकासका लागि खेलकूद, महिला अधिकारको प्रवध्र्दनमा सहयोग, जनस्वास्थ्यका क्षेत्रमा योगदान गर्ने लक्ष्य फाउण्डेसनको रहेको अतुल बताउँछन् ।

प्रधानमन्त्रीसँग निकट भै काम गर्दा देखे भोगेका अनुभवका आधारमा उनले सार्बजनिक सेवाका क्षेत्रमा आम मानिसले भोग्नुपरेको कठिनाईको नजिकबाट महसुस गर्न पाएका थिए । यही अनुभवले गर्दा त्यस्ता समस्याको केही हदसम्म समाधान गर्नमा पनि फाउण्डेसनको माध्यमबाट काम गर्ने सोच बनाएको उनले सुनाए । फाउण्डेसनको संस्थापक र सदस्य सचिबको हैसियतमा अतुल दिनहुँ यसकै एजेण्डा कार्यान्वयनमा व्यस्त रहन्छन् । २०७२ सालको भूकम्पको असरबाट घरबारविहीन हुनपुगेका उपत्यकाको बालाजु क्षेत्र पुरानो गुह्येश्वरीका बासिन्दालाई भारतको महाराष्ट्र ईन्स्टिट्युट अफ टेक्नोलोजी विश्व शान्ति केन्द्र — एम आई टी डब्ल्यूपीसीको मदत लिएर आवासको प्रवन्ध गर्न सकेकोमा अतुल फाउण्डेसन निर्माणको सार्थकता पुष्टी भएको ठान्छन् ।

अतित सम्झिएर भावुक हुँदै अतुल सुनाउँछन् – ‘कुनै समय पाईलट बन्ने इच्छा थियो तर समय, परिस्थिति र आर्थिक अभावका कारण पढ्न पाईएन । अनि अभिभावकहरु कहिले जेलमा त कहिले भारत निर्वाशनमा हुने । तर जे भएपनि आज यसो सम्झँदा कताकता अप्रत्यक्ष रुपमा पाइलटकै भूमिका निर्वाह गर्ने मौका पाएँ कि भन्ने लाग्छ । तर यी सबै मेरा चित्त बुझाउने तर्कहरु हुन्, ‘।जे भएपनि म निरन्तर अघि बढिरहने प्रयास गरिरहने नै छु ।’


 

‘ म माधुरी दीक्षित बन्न चाहन्थें ’

यी हुन् कुनै बेलाकी चर्चित कमेडियन कलाकार पवनकली । टेलिभिजन शोमा निकै जमेकी पवनकली आजकल भने रंगमञ्चमा रमाएकी छन् । भारतीय रजतपटकी सुपरस्टार माधुरी

‘नेपाली कम्युनिष्टले मार्क्सको बेइज्जत गरे’

८२ वर्षमा पनि युवाजस्तै जोश र जाँगरका साथ प्रस्तुत हुने प्रजातान्त्रिक आन्दोलनका योद्धा डिल्लीप्रसाद सिटौला नेपाल र नेपालीको सुदूर भविष्यप्रति

‘बुवा त मलाई राजनीति गर या नेपाली सेनामा जा भन्नुहुन्थ्यो’

अमृत  गुरुङ । यस्तै नाम अरुको पनि हुनसक्छ । तर कसैले अमृत  गुरुङ भनेर नाम लियो भने आममानिसले पहिलोपल्ट गायक अमृत गुरुङलाई नै सम्झिने छन् । अनिमात्र

 ‘अब अनलाइन पेमेन्टको व्यवस्था गर्दैछौँ’

लोकसेवा आयोग स्थापनाको ६७ औँ वर्ष प्रवेश गरेको छ ।  आयोगको यो सफल र गरिमामय यात्राका क्रममा मुलुकमा धेरै राजनीतिक परिवर्तन भए ।  आयोगको यात्रा भने