‘बुवा त मलाई राजनीति गर या नेपाली सेनामा जा भन्नुहुन्थ्यो’

अमृत  गुरुङ । यस्तै नाम अरुको पनि हुनसक्छ । तर कसैले अमृत  गुरुङ भनेर नाम लियो भने आममानिसले पहिलोपल्ट गायक अमृत गुरुङलाई नै सम्झिने छन् । अनिमात्र अरु अमृत गुरुङहरुको पालो आउँछ । देशदेशावरमै चर्चित नेपथ्य ब्याण्डका सारथि उनै अमृत गुरुङको  परिचयका लागि थप विशेषणको आवश्यकता पर्दैन । उनको लोकप्रियताले शिखर चुमिसकेको छ । 


नेपथ्यले यही साल रजत वर्ष मनाउँदै छ । यसको स्थापनाकालका कतिपय मित्रहरु अर्कै संसारमा रमाए पनि अमृतले पच्चीस वर्षको संघर्षपूर्ण यात्रामा नटुटीकन नेपथ्यलाई अगुवाई गरिरहे । यो अविचलित यात्राले अमृत र नेपथ्यलाई जनजनका मनमा एकसाथ बिराजमान गरायो । जो देशको सीमा छिचोलेर संसारका चारैकुनासम्म फैलिएको छ यतिबेला । मौलिक जीवन शैलीका अमृत राजधानी शहरका विलासी घरहरुमा भन्दा गाउँका गोठहरुमा बस्न बढी रुचाउँछन् । शनिबार आयो कि उनी पोखरा दौडिन झोला कस्न थालिहाल्छन्, अनि त्यहाँबाट पनि उकालो चढ्छन् उनी बाजेबराजुका पालादेखिको गोठतिर । 


नेपथ्यको स्थापना, आफ्नो सांगीतिक यात्रा र गाउँघरका अनुभव रोचक शैलीमा सुनाए अमृतले । उनले सरल पत्रिकाका लागि                       विष्णु निष्ठुरी र  सुकृत नेपालसँगको लामो कुराकानीमा सुनाएका मर्मस्पर्षी अनुभवहरुको विवरण –


नेपथ्यको २५ वर्षे यात्रालाई कसरी सम्झिनुहुन्छ ?


केही सुख । केही दुःख ।  केही गुनासो । जे जति छन् मनमा भएका सबै  कुराहरुलाई बिर्सेर । मान्छे हो, मान्छेबाट जानेर नजानेर गल्ती हुन्छ । मबाट पनि भएको थियो, अरुबाट पनि भएका थिए । साथीहरु धेरै आउनुभयो, जानुभयो । मैले यो पच्चीस वर्षको यात्रालाई कसरी लिएको छु भने तिमीले गरेका सबै गल्तीहरु माफ । मैले गरेका गल्तीलाई पनि माफ गर । मबाट भएका गल्तीहरुलाई माफ दिन्छौ या दिन्नौ, त्यो तिम्रो कुरा हो । तर तिमीले गरेका गल्तीहरुलाई म माफ गर्छु । मेरो तर्फबाट सबै माफ । म बितेको २५ वर्षलाई यसरी हेर्छु ।


सुखद् घटना पनि त होलान् ,सुखको कुरा सम्झिँदा नि ?


छन् नि, अवश्य छन् । त्यो बेलाको क्षण र दिनहरु, सँगै हिडेको, सँगै संगीत गरेर बसेको, संघर्षका कुराहरु भए । संगीतमा लागेपछि दुःख पाइन्छ, दुखिया हुन्छस् भनेर बुवाले भनेका दिनहरुलाई छोडेर अहिले चाहिँ सफलता त के भनौ तर सन्तोष लाग्छ । ती दिनहरु सम्झिदा खुशी लाग्छ ।


संगीतले गर्दा नै धेरै फ्यान पाउनु भयो र संसार घुम्न पनि पाउनुभयो ?


संसार घुम्न पाइयो । धेरै मान्छेहरु भेट्ने सौभाग्य मिल्योे । सबैभन्दा त धेरै घुम्ने मौका पाएँ । जीवन र जगतलाई बुझ्ने मौका पाएँ ।


यो २५ वर्षमा दुःख लाग्ने र अफसोच लाग्ने केही सम्झनुहन्छ ?


सम्झिन्छु नि ! त्यो नगरेको भए राम्रो हुन्थ्यो भन्ने लाग्छ । जस्तै, सन् १९९९ कै कुरा गरौं न । त्यतिबेला  हामी जापान गयौं । हामी सबै साथीभाईहरु त्यहाँ बस्ने भनेर गएका थियौं । त्योबेला जापान जानु ठूलै कुरा हुन्थ्यो । तिम्रो पछाडि यत्रो केटाहरु हिँड्यो, तिम्रो साथीभाईहरु । अब यिनीहरुलाई जापान लगेर छोडिदेउ भन्ने कुराहरु भए । त्यसपछि व्यवसाय गर्ने मान्छेहरुको दिमागमा के के भयो । त्यसबेला अल्लारे बुद्धि थियो । जापानमा गएर जब कार्यक्रम गर्यौं । एक हजार मान्छे अटाउने हलमा जम्मा ४२ जना  दर्शकहरु कार्यक्रममा थिए । त्यसपछि हामीसँगै गएका साथीभाईहरु त जापान नै बस्नुभयो । म र ड्रमर ध्रुब्र लामा चैं फर्कियौं ।


अरु साथीहरु जो उतै बसे, त्यो चाहिँ सायद जिन्दगीमा नभइदिएको भए राम्रो हुन्थ्यो । जुन कुरा सम्झँदा पनि एकदमै नमज्जा लाग्छ । साथीभाईहरुका निम्ति त राम्रै भयो होला । त्यो समय जापान जान केही नभए पनि एकजनालाई दश लाख रुपैयाँ लाग्थ्यो । सित्तैमा गयो बस्यो । अहिले एउटा नागरिक भएर हेर्दा मलाई नचाहिने काम गरें जस्तो लाग्छ । झन् कलाकार भएर हेर्दा त ग्लानी नै हुन्छ । त्यो उदेश्य नै राम्रो थिएन त्यसैले परिणाम पनि राम्रो आएन ।


कार्यक्रम गर्न जाने निहुँमा जापानमा बस्ने भनेर गएपछि त उदेश्य नै गलत भयो । परिणाम पनि राम्रो निस्केन । त्यसले गर्दा म केही समय त डिप्रेशनमा नै गएँ । मलाई एकदमै गाह्रो भयो । मैले एक डेढ वर्ष त संगीत नै छाडँे !


तपाईँ फरक पृष्ठभूमिको परिवारको सदस्य, कसरी संगीतमा लाग्नुभयो ?


हाम्रो परिवार लाहुरे संस्कार भएको परिवार हो । तर मेरो बुवाले मलाई कहिले पनि लाहुरे हुन प्रोत्साहित गर्नुभएन । मेरा बाजेहरु पनि लाहुरे । बुवाले पढ्नु पर्छ, देशको राजनीति गर्नुपर्छ भनेर सम्झाउनुहुन्थ्यो । तर म बच्चैदेखि पेन्टिङ गर्ने कलाकार थिएँ  । तंैले यो चित्रकला गर्ने होइन । गीत गाएर हिँड्ने पनि होइन । राजनीतिमा लाग्नुपर्छ भनिरहनुहुन्थ्यो । यहाँ लाहुरे भएर केही पनि भएको छैन । लाहुरे भएर बाँच्न त सजिलो हुन्छ तर लाहुरे नभएस् छोरा भन्नुहुन्थ्यो । यदि तँलाई लाहुरे नै हुने इच्छा छ भने नेपाल आर्मीमा जा भन्नुहुन्थ्यो । तर मलाई लाहुरे हुन कहिले पनि जाँगर  चलेन ।


संगीतमा कसरी तानिनु भयो त ?


म पेन्टिङ पनि गर्ने तर पछि साथीभाईको लहैलहैमा लागियो । हाम्रो संस्थापक सदस्य भीम पुन  ड्रमर हुनुहुन्थ्यो । उहाँ संगीतमा राम्रो हुनुहुन्थ्यो । सबै बाजा बजाउन जान्नुहुन्थ्यो, जस्तो बाजा पनि राम्रोसँग मीठोसँग बजाउने । मेरो उहाँसँग संगत भयो । मलाई स्कुलमा पहिलो पटक मञ्चमा लगेर गीत गाउनु पर्छ भनेर उभ्याउने उहाँ नै हो । त्यसपछि कलेज पढ्ने बेलामा बिहान कलेज गयो दिउँसो केही काम हुँदैनथ्यो । उहाँ चाहिँ पोखराबाट दिदीको घर बनाउने भनेर आउनु् भएको थियो । यतिकै गितारहरु बजाउँदा बजाउँदै ल हामी पनि एउटा संगीत गरौं न त भन्ने सोच आयो तर नेपाली गीतको । त्यो बेला हाम्रो पालामा धेरै अंग्रेजी गीत गाउने चलन थियो । नेपाली गीत गाउने भन्ने सल्लाह गरेर हामीले व्याण्ड स्थापना गर्यौं ।


ब्याण्डको नाम नेपथ्य कसरी जुर्यो ?


नेपथ्यको नाम दिपकजंग राणाले राखेका हुन । उनी अहिले नेपालमै छन् । फिस्टेल एयरको क्याप्टेन छन् , हेलिकप्टर उडाउँछन् । उनको नेपाली भाषा एकदमै राम्रो थियो । म गीतहरु लेख्थें उनी सम्पादन गर्थे । अहिले पनि हाम्रो भेट हुन्छ । दिपकले हाम्रो समूहको नाम नेपथ्य राखुँ भने  । उनको तर्क थियो – यो संगीत यात्रा केही समयको लागि मात्र हो । कलेज सकिएपछि आ–आफनो बाटो लागिन्छ । अहिले जे सकिन्छ गरौं र पछि नेपथ्यमै बसौं, एउटा रहर पुरा गरौं अनि आआफ्नो बाटो लागौंला भनेर भने । संगीतको यति लामो यात्रा होला भन्ने सोचेकै होइन । यो त झुक्किएर भयो । मेरा पुरानो साथीहरुमा भेट हुने भनेको तीनजना साथीहरु हो । दिपकजंग राणा, भिम पुन जो अहिले हङकङमा छन् र निर्मल गुरुङ जो हाम्रो व्याण्डमा त छैनन् तर मेरो स्कूले साथी हुन । उनी राम्रो गायक पनि हुन् । यस्तो छ नेपथ्यको कथा ।


तपाईँ त गाउँ घुमेर मीठामीठा गीत बटुलेर ल्याउन सिपालु हुनुहुन्छ अरे !


अहिलेसम्म त्यसै गरिरहेको छु । मेरो कोशिस त्यही नै हो । मलाई के लाग्छ भन्दा मैले पूर्वको गीत गाउनु अघि कोशी वरिपरी अरुण उपत्यकामा अरुण नदीको आसपास पुगेर दुई छाक खाना खाएको हुनुपर्यो । अरुण क्षेत्रका मान्छेहरुसँग बसेर भलाकुसारी गरेको हुनुपर्यो । उकालो उक्लेको हुनुपर्यो चौतारीमा सुस्ताएर बस्दा त्यहाँका दिदीबहिनी आमा, दाजुभाई, बाजेहरुसँग सम्वाद गरेको हुनुपर्यो । त्यसपछि त्यो गीतको मर्म भेट्छु होला भन्ने मलाई लाग्छ । त्यहि सिलसिलामा मैले नेपालका धेरै ठाउँहरु घुम्ने शौभाग्य पाएको छु । स्थानीय जनजीवनको र समाजको स्पन्दन नसुनीकन लेखेको गीत र गाएको  गीतको स्वाद नै हुँदैन भन्ने लाग्छ मलाई ।


त्यसरी गाउँ घुमेर बनाएको गीत सुनाउनोस् न त !


धेरै गीत छन् । एउटा त ‘भेडाको उन जस्तो’ भैगयो । नारायणजीसँग (पत्रकार नारायण वाग्ले) म गोसाईकुण्ड गएको थिएँ । गोसाईकुण्ड गएको बेला त्यो गीत बनाएको हो ।   गोसाईकुण्ड त म पहिला पनि दुई पटक पुगिसेकको थिएँ तर मैले त्यसबेला त्यो गीत भेटिन । नारायणसँग कुन संजोगले भेट भएछ । नारायणले पछि कुरा हुँदा यस्तो गर्न सकिन्छ भनेर भन्दा हामी पछि त्यहाँ पुगेका हौं । गीत खोज्ने क्रममा किरणजी (किरणकृष्ण श्रेष्ठ,नेपालय) ले डकुमेन्ट्री नै बनाउनु भयो । मेरो अधिकांश गीत र लोकगीतहरु संकलन गर्दाको तरिका    ठ्याकै त्यहि हो ।


यसरी गीत खोज्न गाउँ घुम्दाका रमाइला सम्झना पनि होलान् नि !


मैले रामेश र मञ्जुल दाईहरुका यात्रा संस्मरण पढेको थिएँ । त्यो पढेपछि मलाई पनि पूर्व जान मन लाग्यो । गिरीश गिरी भाई र म सँगै गयौं । ओखलढुंगाको फेदीगुठ भन्ने ठाउँमा हामी रात बास बसेका थियौं । एउटा कोठामा हामीलाई सुत्न दिइयो, हामी बास बसेको कोठाको भित्तैभरी मेरो तस्वीरहरु पो टाँसेको रहेछ । राती त खासै केही देखिएन बिहान उज्यालो भएपछि हामीले प्रष्टसँग देख्यौं ।


गिरिशजीले यो घरको मान्छेलाई  भेट्नु पर्छ  भन्नुभयो । यो अचानक भएको कुरा हो । उहाँ बास दिने घर धनीलाई त भेटनुपर्छ भन्ने तर म भने नभेटांै भन्ने । केहीबेर यसमै हामी अल्झियौं । नभेट्नु मै मजा छ,झन् केहीगरी भेटघाट चिनजान पनि भयो  भने त मज्जै भएन नि भनेर मैले गिरिशलाई सम्झाएँ,कुरा मिल्यो । त्यतिबेला घरमा घरधनीकी श्रीमती हो या अरु नै कोही महिला थिइन् । हामीले उनलाई केही पनि भनेनौं । बरु उनका बुवाआमाको तस्वीर खिच्यौं । अनि बिदा मागेर हामी त्यसपछि ओखलढुंगातिर लाग्यौं । पछि मैले उनको बुवाआमाको तस्वीर   पठाईदिएँ ।


‘छेक्यो छेक्यो’ गीत एकदमै चल्यो, नेपथ्यलाई चिनाउने गीत हो यो ?


‘छेक्यो छेक्यो’ भन्ने गीत हामी स्कूल पढ्दा देउसी भैली खेल्ने बेलामा सुक गुरुङ  भन्ने एकजना साथी रचना गर्नुभएको थियो । संगीत पनि उहाँले नै भर्नु भएको हो ।  त्यो गीत हामी देउँसी भैलीमा गाउने गथ्र्यौं । हामीले १९९२ तिर गीतको रेकर्डिङ गर्ने भनेर भन्यौं । रेकर्डिङको बेलामा त्यो गीत हामीले माग्यांै । सुक गुरुङले रिहर्सल गर्ने बेलामा त्यो गीत मैले भनेको जसरी गाउने हो भने गाए हुन्छ नत्र नगाउनु भनेर भन्नुभयो ।


मैले कसरी गाउने भन् त भनेर भने । उ मेरो तँ तँ र म म गर्ने साथी थियो । उसले यो गीतमा १६ वटा भ्वायलेन बजाउनु पर्छ, ४ वटा प्यानो बजाउनु पर्छ भनेर भन्यो । हामी त्यो बेलामा बिद्यार्थी थियौं । हामीले पाँच पाँच हजार रुपैयाँ उठाएर रेकर्डिङ गर्न लागेका थियौं । हामीसँग त्यस्तो उत्कृष्ट संगीत त्यतिबेला थिएन । हामी त रहरै रहरमा संगीतमा लागेका थियौं । मैले सुकलाई भनें कि यो सम्भव छैन सुकजी किनभने १६ जना भ्वाइलेन बजाउने र ४ वटा प्यानो बजाउनेलाई कसरी हामीले पैसा दिने । हामीसँग पैसा त छैन । त्यसैले यसरी हुँदैन । हाम्रो तरिकाले रेर्कडिङ गर्ने भए गरौं नभए नगरौं । यसो भनेपछि उसले त्यसो भए तिमीहरुले गर्नु पर्दैन भनेर भन्यो । त्यसो भए नगरौं भनेर हामीले पहिलो एल्वममा त्यो गीत रेर्कड गरेनौं । हामीले अरु नै गीत रेर्कड गर्यौं र बजारमा निकाल्यौं ।


हाम्रो गीत बजारमा आएपछि सुकले मेरो साथीहरु भएर मेरै गीत रेर्कड नर्गने तिमीहरु भनेर पोखराभरी नै हल्ला गरे । काठमाडौंमा पनि हल्ला पुग्यो ।  धेरै हल्ला भएपछि फेरि एकदिन हाम्रो भेट भयो र तिमीहरुले मेरो गीत नगाउने भनेर फेरि गुनासो गर्न थाल्यो । मैले हामीले भने जसरी गाउन दिने भए हामी तयार भनेर भने । सम्भव नै थिएन भनेपछि ल तिमीहरुले भनेको जसरी गाए हुन्छ भनेर भन्यो । त्यसपछि त्यो गीत रेकर्डिङ गर्नका लागि हामीले रिहर्सल सुरु गर्यौं । सबै बन्दोबस्त गर्यौं र सिम्फोनिक स्टूडियोमा भुपालमान सिंह दाई हुनुहुन्थ्यो । भुपाल दाईलाई लगेर सुनायौं । एकफेर सुनेपछि यसरी हुँदैन , राम्रो भएन भनेर उहाँले भन्नुभयो ।

 

१९९५ मा भुपालमान सिंह दाईको बन्दोबस्तले रेकर्ड गरेको हो । मादलको धुन पनि सिन्थीसाइजर साउन्ड हो । एउटा गितार बाहेक त्यसमा कुनै पनि चिज बाहिरबाट बजेको छैन । सबै चिज मशिनबाट भुपाल दाईले बनाइदिनु भएको हो । त्यो गीत रविनजीले गाउनुभयो र त्यो गीत सुपरहिट भयो । टेलिभिजनमा आउनु भन्दा अघि रेडियोमा बजेको थियो त्यो हिट भयो । पछि रोशन प्रताप दाईले गीत सुन्नुभएछ र गीतलाई भिडियोमा खिच्नु पर्यो भनेर भन्नुभयो । तपोवनको डाँडामा गएर हामीले सुटिङ गर्यौं र रोशन दाईले गीतको सम्पादन गर्नुभयो । हामीले गीतलाई नेपाल टेलिभिजनमा देखायौं र त्यो गीत सुपरहिट भयो ।


चलचित्रमा पनि गीत गाउनुभएको छ ?


अनुप बरालले ‘दोख’ भन्ने एउटा चलचित्र बनाएको छ, उ मेरो पुरानो साथी हो । उसले ल अमृत एउटा गीत गाइदिनु पर्यो भनेर भन्यो । हामीले रेकर्डिङ सकेर राखेका छौं । उ अहिलेसम्म लिन आएको छैन ।

गीत गाउँदै नेपाल पुरै घुमिसक्नु भयो होला होइन ?


अब दुईवटा जिल्लामात्र घुम्न बाँकी छन् । कालिकोट र बझाङ । जाने हो भने त पोहोरपरार नै सकिन्थ्यो तर मलाई कस्तो लाग्छ भने जिन्दगीमा त्यो चिज हुनैपर्छ त्यो चिज गर्नैपर्छ भन्ने मलाई लाग्दैन । सके गर्ने हो भएन भने के गर्ने त । मर्ने समय त कसैलाई पनि थाहा हुँदैन । म भरे राती नै पनि मर्छु कि ? कसलाई के थाहा तर भइन्जेलसम्म सकेको गर्ने, मिलाउन सकेसम्म मिलाउने । सम्झौता भइन्जेलसम्म सम्झौता पनि गर्दिने । मैले भनेको हुनैपर्छ भनेर अड्डी नलिने । जे हुँदै जान्छ ठीकै छ , ठूलो नहुने ।


तपाई बिदेश पनि धेरै घुम्नुभयो, ब्रहमाण्ड नै छिचोली सकियो होला । सबैभन्दा मन परेको देश कुन हो ?


मैले संसारमा धेरै सुन्दर ठाउँहरु देखें । मान्छेले बनाएका गजब गजब चिजहरु देख्ने मैले सौभाग्य पाए । तर मैले नेपाल जस्तो सुन्दर अरु ठाउँ देखिन । मान्छेले बनाएको चिजहरु सुन्दर छन्  । मान्छेले संसारमा गजब गजब चिजहरु बनाएका रहेछन् । त्यसलाई चाहि मनैबाट म एकदमै नमन गर्छु । प्राकृतिक तवरबाट पोखरा जस्तो सुन्दर ठाउँ मैले अहिलेसम्म कतै भेटेको छैन । मैले नेपाल यस्तो सुन्दर देखें कि म जन्मँदा पनि यतिकै सुन्दर थियो र अहिले पनि उतिकै सुन्दर छ । प्राकृतिक तवरबाट नेपाल संसारमा एक नम्वरमा छ ।


तपाईँको एकदिन कसरी बित्छ ?


म बिहान साढे ५ मा उठिसेकको हुन्छु । उठेर आफ्नो सँधै गर्ने नित्यकर्महरु गर्छु । योगा गर्छु ।  डेढ दुई घण्टा रियाज गर्छु । त्यसपछि घरको काम सुरु हुन्छ,बच्चालाई स्कुल पुर्याउँछु । म ९ बजेतिर घरबाट निस्कन्छु । भैंसिपाटीबाट सँधै हिँडेर नै कालिकास्थान अफिस पुग्छु । अफिस जाँदा हिँडे पनि फर्किँदा भने टेक्सी,टेम्पो, बस जे पाइन्छ त्यसैमा जान्छु । अफिस पुगेपछि मेरो कामहरु के के छ सोध्छु । संगीतको काम छ भने म संगीतको कामतिर लाग्छु । तस्वीरको काम छ भने तस्वीरको सम्पादन गर्ने कामहरु गर्छु । दिउँसो खाना खायो बस्यो र रिहर्सल गर्ने बेलामा सबै साथीभाईहरु जम्मा हुन्छन् ।


बितेको १४ वर्ष देखि हामी हरेक हप्ता बुधवार, बिहीवार र शुक्रवार तीन दिन रिहर्सल गर्छौं । यो चाहि हाम्रो १४ वर्ष देखिको  निरन्तरता हो जुन हाम्रो अनुशासन पनि हो ।  अर्को कुरा कुनै पनि विशेष परिस्थिति आइपरेको खण्डमा हाम्रो व्याण्ड  २४ घण्टा भित्रमा गाउन बजाउन तयार हुन्छ ।
साँझ साथीभाईहरु भेट भयो भने यसो बस्ने हो भएन भने आप्mनो घरतिर गयो । घर गयो किताब पढ्यो । किताब म सँधै जसो नै पढ्छु । म बढि निबन्ध पढ्छु । मैले अंग्रेजी साहित्यहरु त्यति पढिन । कहिलेकाहीँ यस्तो पनि लाग्छ कि म अलि बढि नै नेपाली भन्नेतिर लागेको छु कि ! कहिलेकाहीँ अतिवाद भएको जस्तो पनि लाग्छ । नेपाली साहित्यमा धेरै नै ध्यान दिएकोले हिन्दी साहित्य र अंग्रेजी अलि छुटाए कि जस्तो   लाग्छ । नेपाली सहित्य धेरै पढ्ेको छु, म पोखरा गएँ भने फरक हुन्छ ।

म प्राय शनिवार पोखरा जान्छु । पोखरामा आमा हुनुहुन्छ । एक साँझ  आमासँग बसेर खाना खान्छु । त्यसपछि म गाउँ जान्छु । गाउँमा मेरो गाई, भंैसी गोठ छ । त्यहाँ सहयोगीहरु छन् । मेरो एकजना भाई छ जसले त्यहाँ सबै  हेर्छ । त्यहाँ पनि हारमोनियम गितार छ । सबै त जाँदैनन् कहिलेकाहीँ मन मिल्ने साथीहरु आउँछन् । त्यहाँ गयो भने बिहान उठ्यो सबै नित्यकर्म सकेर उकालो चड्छु गाउँमा जानको लागि । गाउँ गयो र गाउँ घुमेर तल झर्यो । यही हो मेरो समय तालिका ।


यो लामो जीवन यात्रामा तपाईँले आफ्नै कमजोरी पनि त पत्ता लगाउनुभयो होला ?


(केहीबेर हाँसो…) मेरो सबैभन्दा ठूलो कमजोरी झसङग रिसाउने र झर्किने हो । कुरा गर्दै जाँदा अचानक रिस उठ्ने, त्यो एउटा मेरो नराम्रो बानी छ ।

\'रेल सर्वे तुरुन्त प्रारम्भ हुन्छ\'

प्रधानमन्त्री केपी शर्मा ओलीले अगाडि बढाउनुभएको ‘समृद्ध नेपाल सुखी नेपाली’को नारालाई चीन र भारतका दुवै सरकारले महत्वपूर्ण भनेका छन् । दुवै

अधिकारी दम्पतिले बिताएका कष्टदायी ती रातहरु

बुहारी हामीबाट छुट्टिँदा झमक्क साँझ परिसकेको थियो । बस्ने सस्तो होटल खोज्दै हामी डल्लुदेखि कलंकीसम्म पुग्यौं । हिँड्दाहिँड्दा साँझ निख्रिसकेको

ओली फेरिएका छन्, चीन भ्रमणमा कुनै आशा नगरे हुन्छ

काठमाडौं ।   नेपाली सेनाका पूर्वसहायक रथि डा प्रेमसिंह बस्न्यात कुटनीति सम्बन्धका बहुआयाम केलाएर विश्लेषण गर्छन्। उत्तर र दक्षिणसँग बिगतदेखि

\'म एक्लै बाँच्नुको आनन्द लिईरहेकी छु\' - अभिनेत्री मनिषा कोइराला

  उच्च राजनीतिक परिवारमा जन्म, करिअरमा उच्च सफलता,व्यक्तिगत जीवनमा सम्बन्धविच्छेद, क्यान्सर जस्तो भयानक रोग र त्यससँग लड्दै नयाँ जीवन जिउनु चानचुने