टाठो पाठोले देखे/देखाएको बाटो

पुस्तकको शीर्षकले नै जिज्ञासु बनाउँछ – झ्याम्ली बाख्राको पाठो कि अत्यन्त चञ्चल छ कि चाहिँ धीरगम्भीर, कि त यो बिम्बमार्फत लेखकले आफ्ना भोगाइ, सिकाइसम्वद्ध धेरै कुरा उधिन्न खोजेका छन्।

परम्परागत निबन्धभन्दा पृथक छन् अधिकांश आलेख– शैलीमा पनि, संकथनमा पनि ।

 निवन्धकार डा. शिव गौतमले भनेका छन् – यी आलेख उनका कचकच, चकचक र छुक्छुकका परिणाम हुन् सोचका उपज हुन् । तर उनका कचकच सामान्य छैनन्, सामर्थ्यशाली छन् । चकचक लोभलाग्दा छन् र उनको छुक्छुके स्वभावले उनलाई जिज्ञासु मात्रै बनाएको छैन, कुनै विषयलाई भित्रैसम्म उधिन्ने, पर्गेल्ने र आत्मज्ञानको निचोड पस्कने शिल्पी बनाएको छ । प्रायस निबन्ध बौध्दिक छन्, तार्किक छन्, कतै कतै प्रयोगात्मक छन्। सबैमा ललित(निबन्धको प्रवाह नदेखिएला । तर, पढ्दै–पस्दै गएपछि लेखकका तर्क र विश्लेषणहरुमा आकण्ठ डुबिरहन मन लाग्छ ।

बाइस निबन्धले झण्डै त्यति नै आयाम बोकेका छन्– विषयगत आयाम । त्यहाँ भाषा र व्युत्पत्तिका कुरा, शब्द र शब्दजालका कुरा, ज्ञान–विज्ञानका कुरा अनि खगोल, ग्रह–नक्षत्रका कुरा छन् । मनोविज्ञान, गणित, इतिहास – धेरै विधामा अध्ययनशील लाग्छन् लेखक ।

भोजपुर–सिस्नेरीमा आमाको सान्निध्यमा टुसाएका बालसुलभ जिज्ञासाहरुलाई लेखकले अधिकांश निबन्धका आधार बनाएका छन् । ती जिज्ञासाबाट सुरु हुन्छन्, अनि आउँछ घोत्ल्याइँको चरण । त्यसपछि अनुसन्धान र उत्खननका अनेकौं बाटा र पाटाहरु भेटिन्छन् । उनी इतिहास पर्गेल्छन्, वैज्ञानिक प्रमाण–साक्ष्यहरुले तिनलाई निफन्छन् । जहाँ निष्कर्ष भेटिन्छ, साधिकार पस्कन्छन् । जहाँ भेटिदैन, तिनलाई थप चिन्तन, अनुसन्धानको बाटोतिर हुत्याइदिन्छन् – अध्येताहरुका निम्ति ।

लेखकले भनेझैं धेरै निबन्धहरुमा उनका सोचका घोडाहरुले बेलगाम बुर्कुसी मारेका छन् । तर उनले शंका गरेजस्तो खाल्डामा जाकिदिएका   छैनन् । अत्यन्तै बलशाली लाग्छन् ती घोडा । तिनले लेखकलाई मात्र हैन, पाठकलाई पनि सँगसँगै हुत्याउछन् – ज्ञानको अथाह दुनियाँतिर । समग्रमा पुस्तक जिज्ञासा, खोज र विश्लेषणमा केन्द्रित छ । एउटा अलि नयाँ, अनौठो शब्द भेट्नासाथ त्यसको उत्पत्तिरव्युत्पत्ति, अर्थ, आधार धेरै कुरा खोज्ने लेखकको स्वभाव हरेक निबन्धमा मजाले पोखिएको छ ।

निजी प्रसङ्गहरुबाट निबन्धको उठान गर्ने, मथ्ने–मथ्ने अनि बालवयका निजी प्रसङ्ग, नेपाली लोकोक्तिहरुबाट लेखनी टुङ्ग्याउने शैली उदाहरणीय छ । प्रायस अन्तिम अनुच्छेदले शीर्षकसँग पुनस् तादात्म्य राख्छन् । गाथा, किम्बदन्ती, मिथक र दार्श्निक दृष्टान्तहरुबाट विषयको उठान गर्ने लोभलाग्दो शिल्प देखिन्छ यत्रतत्र । अतीतलाई तन्काउँदै वर्तमान पर्गेल्ने कलामा माहिर छन् लेखक । अमेरिकामा लामो अध्यापन–यात्रा, यात्रामा भेटिएका विज्ञहरुसँगको साहचर्य, संवाद–विवादहरुले समेत लेखकको तर्कशक्तिलाई सवल बनाएका छन् । पढ्दा यस्तै लाग्छ । घोत्ल्याइँहरुमा ज्योतिष, गणित, खगोल, इतिहास, विज्ञानका कुराहरु महत्त्वकासाथ आएपनि घुम्दैफिर्दै लेखक भाषामै ठोक्किछन् । लाग्छ – डा. गौतम साहित्यकार, अनुसन्धाता, तथ्याङ्कशास्त्री, स्वास्थ्यविद् प्राध्यापकमात्र होइनन्स भाषाशास्त्री पनि हुन् । भाषाविज्ञानको गहिरो चस्का पसेको छ  उनमा । तर, उनी विनयी बनेर बारम्बार भन्छन् – ’म त्यस्तो चाहिँ होइन है ।’ यो विनयी स्वभावले समेत् गम्भीर निबन्धहरुलाई सुललित, रोचक बनाउन मद्दत गरेको छ ।

नेपाली ‘पाल्सी कुरा’माथिको यति मीठो विश्लेषण यसअघि कतै पढ्न पाइएको थिएन । नेपाली साहित्यमा आगोको महिमा गान (आगोको खोजी) पनि यति जीवन्त रुपमा संभवत अन्त कतै भेटिएको थिएन । लेखकले ‘उत्तानो ओदान’ लाई बालजिज्ञासाको मीठो बिम्व बनाएका छन् । ‘असुर’, ‘अजर, अमर .....’ ‘उद्धरण र उदाहरणका जादुमयी शक्ति,’, ‘कुर्र...’ जस्ता जस्ता निबन्धहरु लेखकको भाषामोह, भाषाशास्त्रीय दृष्टिकोण देखाउन पर्याप्त छन् ।

‘घोडामा लागेको समयको गोडा’, ‘तीन आँख्ले’, ‘आठ दुना सत्र भएपछि’ जस्ता विषय र जिज्ञासामा चुर्लुम्मै डुब्ने यी अनुसन्धातालाई ‘सपना’, ‘झ्याम्ली बाख्राको पाठो’, ‘सत्यको सत्यता’, ‘दुखसुखका कुराहरु’ जस्ता लेखनीले अलि बढी बौद्धिक, दार्श्निक देखाएका छन् । संभवत त्यही सामर्थ्यले नै होला, लेखकले केही वजनदार निष्कर्षहरु निकालेका छन् । भाषा–व्याकरणकै कुनै प्रसङ्गमा उनी भन्छन्, ‘पाणिनिले नयाँ नियम बनाएका हैनन्, भएका प्राकृतिक कुराको अभिलेख मात्र राखेका हुन् ।’

‘पश्चिमाहरु पूर्वीय सभ्यताको आयु छोट्याउन आतुर देखिन्छन् भने केही भारतीयहरु भारतको प्राचीनतालाई रबर तन्काएझैं तन्काउन आतुर...’, यस्ता प्रसङ्गमा लेखकले साधिकार दुबैलाई अतिवादी भन्ने हिम्मत देखाएका छन् । भाषा, साहित्यमा यस्ता तर्क भित्र्याउन र तिनलाई पुष्टि गर्न संस्कृत, नेपाली, मैथिली, फ्रेन्च, अङ्ग्रेजी हुँदै हिन्दीसम्मको दृष्टात दिने लेखकको हुट्हुटी त्यसै जन्मिएको छैन । त्यसमा पक्कै उनको साधना र लगावले काम गरेको छ ।

लेखक विषयवस्तुमा कति मिहिनताका साथ कति गहिराइसम्म जान्छन् भन्ने कुराको जिउदोजाग्दो दृष्टान्त हो – ‘घोडामा लागेको समयको गोडा।’

‘प्रायस नकारात्मक कुरा औधि बलिया, मादक र सनसनीखेज हुन्छन् । एकपटक लागिसकेपछि तिनीहरुको दाग, मात र उन्मादले हत्तपत्त छोड्दैन’ जस्ता स्वादिला अभिव्यक्ति, निचोड पुस्तकमा थुप्रै छन् । स्वाद लिन पढ्नैपर्छ ।

वर्ण्विन्याससम्बन्धी छुटपुट, प्रत्यय र विभक्ति, कोष्ठको प्रयोगमा देखिएका अलमल, नेपाली र संस्कृत साहित्यका केही अधुरा, अपुरा उद्धरण (यद्यपि, लेखक स्वयंले स्वीकारेका छन् – उद्धरण सही दुरुस्त नहुन सक्छ है) बारे यतिखेरसम्म लेखक, सम्पादक, प्रकाशकहरुले बग्रेल्ती सुझाव पाइसकेको हुनुपर्छ । त्यसमा थप एउटा आग्रह छ– प्रकाशक वा अन्य सरोकारवालाहरुले छाप्ने हतारमा राम्रा पुस्तकको वजन र गरिमाको अवमूल्यन नगरुन् । लेखकले पुनर्लेखन गरुन् । सम्पादकले अलि बढी समय दिउन् । प्रकाशकले आवरण र कागजको गुणस्तरमा पनि थप चासो देखाउन् । लाग्छ, प्रचार–वितरणका दृष्टिले पनि यति वजनदार पुस्तक ओझेलमा परेको छ । किन ?

(सिध्दहस्त पत्रकार पोखरेलले आफ्नो फेसबुक वालमा पोष्ट गरेका यो मीठो समीक्षा साभार गरिएको हो ।)
 

नीराजनलाई राजा बनाउने सोचमा थिए वीरेन्द्र !

  विक्रम सम्वत् ०५७ को मङ्सिर – नारायणहिटी राजदरबारमा दिवाभोज चल्दै थियो । श्री ५ महाराजाधिराज वीरेन्द्र, बडामहारानी ऐश्वर्य र परिवारका सिनियर

 सिर्जनशील सिर्जु

एक दशकअघि काठमाण्डौं आउँदा उनको सीमित सपना थियो ‘पपुलर सिंगर’ बन्ने ।  समय यसरी बदलियो कि उनीसँग यतिबेला धेरै विकल्प एकैचोटी आएका छन् । गायिकाको

\'जब मैले पाईलटको कञ्चटमा पेस्तोल राखें...\'

२८ जेठ २०३०  हामी जहाजभित्र पस्दा ककपिटनेरको एउटा सिट त खाली थियो, अर्कोमा भने एकजना मान्छे बसिसकेका थिए । हाम्रो योजनाअनुसार एउटामा वसन्त

आवाजका धनी दाहाल यज्ञनिधि रहेनन् 

काठमाडौं । शुक्रबार बिहान माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा दाहाल यज्ञनिधिका आफन्त र शुभेच्छुकहरु निराश स्थितिमा भेटिएका   थिए