यसरी पिएचडीको इज्जत जोगाएँ

गाउँले परिवेस र गाउँबाटै अध्ययनको पहिलो खुट्किला एस.एल.सी.को परीक्षा दिएँ। त्यो वर्ष हाम्रै गाउँबाट चाहिं म एकजना मात्र परीक्षामा समावेस थिएँ र ठ्याक्कै पासै हुने मौका मिल्यो, यस्लाई मैले गाउँ टपरको रुपमानै विचार गर्थें। २ वर्षको प्रमाणपत्र तह (पिसीएल) पनि जेनतेन कटाईयो र अव शुरुवात भयो विदेशमा अध्यन गर्ने भनेर सन् १९९५ मे महिना जस्तो लाग्छ उतातिरको यात्रा थालनी गरेको। विदेशमा रहनु भएका मामाको सहयोगमा अध्ययनको नाममा विदेश उडियो।

विदेशको अध्यागमनमा पहिलो पटक पाईला टेक्दै गर्दा अंग्रेजीमा हो कि! कुन भाषामा हो कुनी यो किन यहाँ आएको? भनेर ३० मिनेट जति केरकार गरेको सम्झना छ। मलाई नत अंग्रेजी राम्रोसँग आउँथ्यो नत उताको भाषा! सोचें  सबैलाई यसरिनै सोधेपछि बाहिर जान दिने होला भनेर, नभन्दै लगभग ३०÷३५ मिनेट पश्चात बाहिर जाने मौका मिल्यो। त्यहाँ मामा लगायत स्पोन्सर गर्ने बडेमानको सर पनि सँगै हुनुहुँदो रहेछ। त्यसपश्चात आफुत लागियो , मामाले काम गर्ने कम्पनी कम्पनीतिर।

१ हप्ता जति कम्पनीमा रहेपश्चात शुरुमा भाषा पढ्नका लागि उताकै भाषा पढाउने विश्वविद्यालय जाने आउने कामको शुरुवात भयो। सार्वजनिक यातायातबाट झन्डै १ घण्टाको दुरीमा रहेको विश्वविद्यालय जाने क्रममा जहाँ सजिलो सिट देख्यो त्यहिं थ्याच्च बस्ने मेरो बानीले धेरैको गालि खानु पर्यो। पछि बुझ्दा थाहा भयो कि बृद्ध, अशक्त, गर्भवतीहरुका लागि छुट्याईएको सिटहरु सार्वजनिक यातायातको ढोकाबाट तल ओर्लने बेलामा उहाँहरुलाई सहज होस भनेर निर्धारण गरिएको हुँदो रहेछ।

करिब डेढ वर्षमा भाषाको अध्ययन सकियो। अव विश्वविद्यालयमा भर्ना हुने मिति नजिकियो र मेरा सबै कागजात पेश गरें र नतिजा आउनु भन्दा अगाडि विश्वविद्यालय प्रशासनबाट बोलावट भयो र गएँ। मेरो नेपालमा अध्ययन गर्दाको लव्धाङ्क हेरेर उहाँहरु छक्क पर्नु भएको रहेछ। यस्तो लव्धाङ्क भएकाहरु हाम्रो विश्वविद्यालयमा अध्यन गर्न मिल्दैन भन्ने राय सुनाउनु भयो र प्रश्न थियो किन यस्तो मार्क पाएको हो? पढ्नमा कमजोर भएर होकि प्रणालीनै त्यस्तै हो भनेर सोधियो, मेरो जवाफ म खासै घरमा चाहिं पढ्दैन थिएँ र परीक्षा दिँदा र मैले जे जानेको थिएँ त्यहि लेख्दा यस्तो भएको हो भनेर जवाफ दिएँ।

त्यसपछि १५ दिन पश्चात नतिजा प्रकाशन भयो र म पनि छनौटमा परें भन्ने जवाफ पाएँ। धन्य भगवान, पशुपतिनाथ अरु सवै ३३ कोटी देवी देवतालाई धन्यबाद दिएँ। त्यो विश्वविद्यालय भने उक्त देशभरिका सबैभन्दा उच्च अंक ल्याउनेहरुले अध्ययन गर्ने विश्वविद्यालय भएकोले मैले पनि लव्धाङ्क राम्रा भएकाहरु सँगै प्रतिष्ठित विश्वविद्यालयमा अध्ययन गर्ने मौका पाएकोमा खुशीको सीमा रहेन।

अव भने उक्त प्रतिष्ठित विश्वविद्यालयमा स्नातक तह पहिलो वर्षको अध्ययन शुरु भयो। कम्पनीको कोठाको बसाईबाट विश्वविद्यालयको होस्टेलमा बसेर अध्ययन गर्नुपर्ने भयो। दैनिक प्रशस्तै गृहकार्य हुने ६ महिनामा एक पटक परीक्षा हुने आदि इत्यादि। अव काम छुट्यो भने पेटका पुर्जालाई के दिएर चित्त बुझाउने भन्ने विषय अनि गाउँघरमा विदेश गएको छ कहिले कति पठाउँछ भन्ने पर्खाइलाई कस्तो जवाफ दिएर कुरा मिलाउने भन्ने अर्को समस्या ममाथि थपिइ सकेको थियो।

पहिला विश्वविधालयमा प्रवेश पाउनुनै ठूलो महत्व राख्ने मेरा लागि अव दुखका दिनको शुरुवात भैसकेको थियो। विश्वविद्यालयको पहिलो परीक्षा मिति नजिकँदै आएको बेला सबै टाठा विद्यार्थीहरुका लागि कुनै समस्या थिएन। उनिहरुका लागि त यो एक सामान्य प्रक्रिया मात्र थियो तर मेरा लागि त्यो ठूलो युद्ध जित्नु बराबर नै थियो। पहिलो ६ महिनाको परीक्षा दिएँ र १ हप्तामा नतिजा आएको याद छ। त्यो पनि विश्वविद्यालयको ठूलो सूचना पाटीमा नाम, सिम्वोल नम्बर र प्राप्ताङ्क टाँसिदो रहेछ। 

केहि विषयत जेन तेन प्राप्ताङ्क देखेको थिएँ के, केमा चाहिं बेहोस बनाउने खालको थियो। नतिजा प्रकाशन भएको २ दिन पश्चात प्रशासनबाट बोलावट भयो र सोधपुछ भयो। यी विषयहरुमा के कति कारणले यस्तो नतिजा आयो? उत्तर पुस्तिका (मैले लेखेको पेपर) देखाउँदै प्रोफेसरले गल्ती पढाएर यस्तो भएको होकी? भनेर सोधियो। मेरो जवाफ, प्रश्न त बुझेको थिएँ तर सही जवाफ दिन सक्ने क्षमता भएन मलाई भन्ने जवाफ दिएँ र पुनः एक अवसर दिनुभएमा यो सबै परिवर्तन गराउने छु भनि याचना गरें। त्यहाँ मेरो नतिजालाई लिएर बैठकनै बसिसकेका रहेछन्, यसलाई विश्वविद्यालयबाट मात्र निकाल्ने कि देशबाटै बर्हिगमन गराउने भन्ने बारेमा। त्यतिबेला ट्वाईलेट जाउँकी, पानी पिउँकी, आँखा बन्द गरेर बसौंकी, अत्यन्त लज्जाबोध र डर लागि रहेको थियो।

मेरो नतिजा हेरेर साथीहरु कोही मुसुमुसु हाँस्दै थिए त कोही मतिर हेरिरहेका थिएनन्।  भोलिबाट भएका एक दुईजना साथीसँग कसरि सँगै रहने एउटै क्लासमा? उनीहरुको मप्रतिको हेराई पनि परिवर्तन हुने चिन्ता थियो। किनकी मैले पनि नेपालमा राम्रै क्षमता भएकोले यहाँ अध्ययन गर्न आएको हो भनेर कैयौं पटक गफ दिइसकेको थिएँ। 

२ दिन पश्चात प्रशासनबाट बोलावट भयो र यसपटकका लागि २ हप्ता समय दिएर पुन परीक्षा दिलाउने निर्णय भएछ। त्यसपछि उक्त परीक्षाको लागि सिपालु साथिको सहयोग लिएर जेनतेन परीक्षामा सफल हुने गरि गहन अध्ययन गरें र सफल पनि भएँ। त्यसपछिका हरेक परीक्षामा मध्यम स्तरको नतिजा प्राप्त गर्दै गएँ। विगतको तुलनामा साथिभाई र प्रोफेसरको मायाँ पनि बढिनै पाउन थालें र स्नातक तह ४ वर्ष राम्रोसँग पूरा गरें। 

तत्काल नेपाल फर्कनु भन्दा स्नातकोत्तर अध्यन गर्ने इच्छा जाग्यो र स्नातकोत्तर प्रवेश परीक्षा दिएँ र पासनै भएर स्नातकोत्तर अध्ययन शुरु गरें। अध्यनको लागि २ वर्ष कुनै समस्या भएन जव थेसिस लेख्नका लागि अन्तिम ३ महिनाको समय थियो त्यतिबेला भने मेरो पुनः पहिल्यै देखिको क्षमता देखिन थालि सकेको थियो। मेरा लागि विषय वस्तुको सहि पहिचान गर्न नसक्नु र आफ्नो धारणा पनि खासै नभएको जव मेरो आर्टिकल (खोज) को बारेमा ५ जना प्रोफेसरको अगाडि उभिएर वाचन गर्न शुरुवात हुन्थ्यो तव छोटो समय सबैजना मेरो मुखमा टुलु टुलु हेर्थे र दुई चार मिनेट पश्चात यो के भनेको बुझिएन। होईन कसले सिकाएको यस्तो भनेर प्रश्न गर्थे र मैले आफैं सिकेको हो भनेर जवाफ दिन्थें अनि उहाँहरुले राम्रैसँग गाली दिनु हुन्थ्यो।  उहाँहरुको गाली मजालेनै खाएँ। अन्त्यमा स्नातकोत्तर सम्पन्न गरें।

अव यसै भएन उसै भएन पीएचडी पनि गरौंकी भन्ने सोचाईका साथ अध्यन शुरु गरें २ वर्षको अध्ययन गर्नु पर्ने अनि १÷२ वर्षमा नयाँ विषयमा अनुसन्धान पश्चात विद्यावारिधी सक्नुपर्ने भन्ने थियो। अध्ययन त शुरु भयो तर म भने सही विषयको छनौट र विषय वस्तुको गहिराईसम्म पुग्नुपर्ने, सके नयाँ खोज नसके अगाडि आएका खोज भन्दा फरक तवरले प्रमाणित गर्नुपर्ने रहेछ। मेरा लागि त्यो पक्का असम्भवको विषय हो भन्ने मलाई राम्रोसँग ज्ञान थियो। 

शुरुको १ वर्षको अध्ययनको शिलशिलामानै मैले उठाएको विषय वस्तुलाई बुझें भन्ने विद्यार्थी एकजना पनि भेट्न सकिन नत प्रोफेसरनै। जव म कक्षाको अगाडि गएर मैले छनौट गरेको विषय बस्तुको बारेमा प्रकाश पार्न शुरु गर्थें तव सबैजना मेरो मुखतिर हेर्थे यसले गर्न खोजेको केहोला भनेर त्यति ख्यालनै गर्दैनथे। 

मलाई के थाहा थियो भने मेरो खुविले कुनै खास खोज पत्ता लगाउन सक्छ भन्नेनै थिएन। मेरो भाषा अझै नत अंग्रेजीमा प्रखर नत उताको भाषा, नत विषय वस्तुको सहि पहिचान, नत उचित विषय वस्तुको छनौट, नत अध्ययन सकेर केहि गर्छु भन्ने ईच्छा शक्ति आदि। ममा यी कुनै विषयले छोएको अवस्था पनि थिएन। अरु साथीहरुले उठाएको विषय वस्तु र उनीहरुले सो विषयलाई प्रकाश पार्दा भने मैले राम्रै बुझ्थें। भने पछि ममानै समस्या छ भन्ने लागेर अध्ययन त्यत्तिकै छोडिदिएँ।

मैले अध्ययन गरेको देशको विश्वविद्यालयलाई त तेति धेरै पीडा दिईसकें भने अवका दिनमा त्यो देश भन्दा बाहिरका देशका विश्वविद्यालयमा गएर पनि प्रिजेन्ट गर्नुपर्छ भन्न थालेका थिए। उता गएर फेरि मेरो कुन हविगत हुनेहो भनेर बेलैमा सजग भएँ। अध्ययन छोडेर ठीकै गरें जस्तो लागेको छ। कमसेकम ती अध्ययनमा तल्लिन भएर राम्रा राम्रा खोज अनुसन्धान गर्ने व्यक्तिहरुलाई सम्मान गरें जस्तो लागेको छ। मैले धन्न पिएचडीको अवमूल्यन हुन दिईन। 

संकल्प शक्ति नै सफलताको कडी

दर्शन एवं अध्यात्म–विद्याका विषयमा कलम चलाउनु सामान्य कुरा हैन, यसकालागि गहिरो ज्ञान–चेत, सुदूर दृष्टि, विहङ्गम परिकल्पना एवं अविचलित साधनाको

पण्डितजीको छोरो र गणतन्त्र

गाउँमा एकजना ‘हुने–खाने’ पण्डित थिए । ‘चाइन्जो–क्यारे’ भन्ने थेगो थियो उनको । प्रशस्त पैतृक जग्गा–जमिन थियो। गाई–भैँसी पालेका थिए ।

पचघैया भूत र सरकारको कथा !   

पहिला पहिला हामीले सुन्ने गरेका केहि भूतका कथा मध्यरातमा भूत आउँछ, भूत भन्दा पनि डरलाग्दो पचघैया भूत आउँछ, यो चाहिं सेतो घोडा चढेर राती १२ बजे पछि आफू

 सुन र सिण्डिकेटमा अल्झिएका ६ महिना

नेकपाका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा ६ महिना अघि गठन भएको सरकारले अझै गति लिन सकेको छैन। आमजनता र विपक्षी दलले मात्र होइन,स्वयं नेकपाका