आफ्नै टाउकोमा आगो सल्काउ ओली

डा. गोविन्द केसीलाई मराउने, प्रधानमन्त्री केपी ओलीलाई डुबाउने । अहिले बजारमा देखिएको खेलोमेलोको उद्देश्य यही देखिन्छ ।
केसीको जीवन रक्षा अहिलेको प्रमुख कार्यभार हो । केसीलाई काठमाडौं ल्याउन नदिन भएका प्रयास, जुम्ला अस्पतालमा केसीलाई ल्याउन नदिनका लागि भएको ‘आन्दोलन’ रहस्यमय देखिन्छ ।

वालुवाटारको वास्तु

मध्यरात सिंहदरबारको ग्यालरी हलमा वैठक सुरु भयो । नेपाली इतिहासकै पहिलो संसद वैठक थियो त्यो । त्यति महत्वको वैठक किन   मध्यरातमा ? प्रश्न उठ्यो तर जवाफ कसैसँग थिएन । 

कालान्तरमा जवाफ मिल्यो, तत्कालीन राजा महेन्द्रले सबैभन्दा अशुभ साइत छान्दा मध्यरातको समय निस्कियो । त्यसैले अशुभ साइतमा मध्यरात नेपालको पहिलो संसदको पहिलो वैठक सुरु भयो । पछि त्यो संसदको असामयिक मरण भयो । संसदबाट निर्वाचित प्रधानमन्त्री वीपी कोइराला कैद गरिए ।

भनिन्छ, प्रधानमन्त्री निवास वालुवाटार गलत वास्तु डिजाइनमा आधारित भएर बनाइएको छ । जानाजान त्यसो गरिएको हो । दरवारले त्यसो गरेको हो भन्नेहरुको कमी छैन । वास्तु अनुसार अत्यन्तै गलत ठाउँमा प्रधानमन्त्री निवास बनाइएको भन्छन् । यो कुरा सत्य हो या होइन थाहा छैन, यो पंक्तिकारलाई वास्तुमा खासै विश्वाश पनि छैन । तर, नेपालका प्रधानमन्त्रीहरुलाई हेर्दा वालुवाटारको वास्तुको प्रभाव उनीहरुमा परेको हो कि भन्ने शंका गर्न मन लाग्छ । 

निवासको नभएर निजी घेराका कारण चाहिँ नेपालका प्राय प्रधानमन्त्रीहरु नैतिक र राजनीतिक रुपमा कहिल्यै उँभो नलागेको ठोकुवा गर्न   सकिन्छ ।

ओलीको नियत र नियति

केपी ओलीको पहिलो प्रधानमन्त्रीकाल नेपाली इतिहासको विलक्षण कालखण्ड थियो । त्यति अडान लिने र साहस देखाउने प्रधानमन्त्री विगतमा देखिएका थिएनन् । इतिहास हेरेर मूल्यांकन गर्न सकिन्छ, ०७ सालपछिका प्रधानमन्त्रीहरु मध्ये वीपी कोइरालाले चाहिँ भारतीय नाकावन्दीका सामु ओलीले जसरी अडान लिन पक्कै सक्थे ।

संविधान जारी गर्न अडान लिएका थिए सुशील कोइरालाले । उनको अडान नै नेपाली स्वाभिमान र राष्टियताको झण्डा थियो। संविधान जारी भएपछि सुशीलले झण्डा फालिदिए। सुशीलले फालेको त्यो झण्डा टिपेर केपी ओली अगाडि बढे । झण्डा बोके अनुसार ओलीले पुरस्कार पनि पाए। अहिलेको प्रधानमन्त्री पद ओलीलाई त्यसबेलाको अडान र स्वाभिमानको पुरस्कार हो भन्नेमा धेरै विवाद गर्नुको अर्थ छैन।

अहिले आएर ओलीलाई वालुवाटारको कथित गलत वास्तुले दुष्प्रभावित पार्न थालेको जस्तो देखिन्छ। 

अघिल्ला प्रधानमन्त्री देउवा आफैं र उनको पूरै टिम लुटिखाउँ अभियानमा लिप्त देखिन्थे । ओलीमा लुटिखाउँ भन्ने भाव देखिँदैन । विगतमा यस्ता प्रधानमन्त्री सुशील कोइराला थिए । आसेपासे पक्षपोषणमा भने देउवाभन्दा ओली अगाडि देखिन्छन् । यसमा पनि एउटा फरक छ, देउवा पद बेच्थे, ओलीले अहिलेसम्म पद बेचेको छनक छैन । 

ओलीको नियत खराब देखिएको छैन तर उनको नियति भने खराब देखिन थाल्यो । उनको शासकीय शैलीमा आत्मविश्वाशको मात्रा अलि धेरै देखिन थालेको छ । डा. गोविन्द केसीको अनशन प्रकरणबाट पनि यस्तो देखिन्छ ।

संसदको बहुमत तथा दुई तिहाईलाई ‘बुलेट प्रुफ’ मान्न सकिन्न । नेपाल जस्तो विधि र पद्धति स्थापित हुन नसकेको मुलुकमा सुरक्षित ठानिएको र मानिएको कुनै पनि खालको राजनीतिक अवस्थालाई बुलेट प्रुफ मान्न सकिन्न । यो दुनियाँमा कसैले पनि निष्कंटक राजपाठ समाल्न पाउँदैन, प्रहार हुन्छ नै । ओलीमाथि पनि प्रहार भइरहेको छ । आफूमाथि भइरहेको प्रहार तथा आफूलाई गरिँदै गरेको घेरावन्दीलाई ओलीले बुझ्न नसकिरहेको प्रतित हुन्छ ।

प्रष्ट शब्दमा भन्नुपर्दा हरेक मागमुद्दा तथा प्रकरणलाई ओली विरुद्धको एम्वुसका रुपमा प्रयोग गरिन थालेको छ । ओलीले जहाँ पाइला राख्छन् त्यहाँ एम्वुस थापिँदैछ। ससाना प्रकरणदेखि ठूलाठूला प्रकरणसम्मलाई ओली विरुद्धको हतियार बनाइँदैछ । ओलीले कठिन राजनीतिक नियति भोगिरहेको प्रष्ट छ । र, यो उनकै गल्तीका कारण भइरहेछ ।

ओलीले बुझ्नुपर्छ, नियतले मात्र नियति निर्धारण गर्दैन । 

केसीको एम्वुस

डा. गोविन्द केसीले धेरै प्रधानमन्त्रीको पालामा अनशन भ्याइसकेका छन् । केसीले ओलीको पहिलो प्रधानमन्त्रीकालमा पनि अनशन गरेकै हुन्, अहिले पनि गरेका छन् । केसीको अनशनले अहिले जुन आयाम हासिल गरेको छ, विगतका अनशनले यत्रो आयाम हासिल गरेको थिएन । कारण के हो ?

पहिलो कारण हो केसीका माग जायज छन् । यद्यपि, केसीले राखेका माग नै अन्तिम सत्य भने होइन । मागमा परिमार्जनको आवश्यकता छ । केसीले जे माग राखेका छन्, त्यसमा उनको नियत खोटो छ भन्न सकिने ठाउँ देखिँदैन । 

दोस्रो कारण हो, बहुमतको स्थिर सरकारलाई असफल बनाउने नियत बोकेकाहरुको खेलोमेलो । यस्तो खेलोमेलोको जरा स्वदेशमा मात्र छैन, विदेशसम्मै फैलिएको छ भन्ने बुझ्न गाह्रो छैन । 

तेस्रो कारण चाहिँ अलि अनौठो छ । केसी प्रकरण तथा चिकित्सा क्षेत्र फाँटको नीति निर्माणमा नेपाली कांग्रेस सहितका प्रतिपक्षीहरु वामपन्थी शैलीमा देखिएका छन्, ओली सरकार चाहिँ हिजोको कांग्रेस शैलीमा देखिएको छ । यो कारण पनि केसीको अनशनको आयाम विस्तारित हुन   गयो । 

केसीको नियत त होइन होला तैपनि उनका मागहरुले अहिले मेडिकल कलेज संचालन गरिरहेका व्यवसायीहरुलाई भने फाइदा पुग्न सक्छ। एकथरीलाई फाइदै फाइदा हुने, अर्काथरीले प्रवेश नै नपाउने अवस्था सिर्जना गर्ने नियत केसीको पक्कै होइन । उनले चिकित्सा शिक्षा सुधारकै लागि माग राखेका हुन् भन्ने उनका माग, अभिव्यक्ति तथा व्यवहारले दर्शाउँदै आइरहेको छ । यो अवस्था निरुपणका लागि केपी ओली सरकारले केही कठोर निर्णय गर्नुपर्छ । 

ओलीले आफ्नै टाउकोमा आगो सल्काउ

आफ्नै टाउकोमा आगो सल्काउने शब्दावलीका प्रणेता हुन् पुष्पकमल दाहाल प्रचण्ड । तर, उनले अरुको टाउकोमा आगो सल्काए, आफ्नो टाउको चाहिँ सधैं जोगाए । जनयुद्धकालमा उनले यो शब्दावलीको फण्डा निकालेका थिए । 

अहिले बेला हो ओलीले आफ्नै टाउकोमा आगो सल्काउने । केसीलाई आफू तथा सरकार विरुद्ध एम्वुस बनाउन खोजिँदैछ भन्ने ओलीले बुझ्नुपर्छ । डा. केसीको अनशनमा ओलीले माग विपरित गएर अडान लिन हुँदैन । बरु, केसीलाई वरण गर्नुपर्छ, केसीको मागलाई वरण गर्नुपर्छ र एम्वुसलाई निस्तेज पार्नुपर्छ । 

यसका लागि ओलीले आफ्नै टाउकोमा आगो लगाउनुपर्छ । अर्थात्, आफूलाई घेरावन्दी गरिरहेका मेडिकल माफियाहरुको चंगुलबाट उम्कनुपर्छ । यसो नगरी उपाय नै छैन । किनभने...

किनभने अहिले जुन रुपमा विधेयक पारित गर्न खोजिँदैछ, त्यही विधेयक पारित गरियो भने पनि लागू हुन सम्भव छैन । लागू भयो भने पनि त्यसले निम्त्याउने विरोध र जटिलताको आकार ठूलो हुनेछ । अर्थात्, ओली र यो सरकार विरुद्धको एम्वुसको आकार झन बढ्नेछ । गोविन्द केसीको अनशन र मागलाई उपयोग गरेर सरकारको सुरक्षा कवचमा प्वाल पार्न खोजिँदैछ भन्ने प्रष्टै छ । ओलीले प्वाल पार्न दिन हुँदैन ।

मौका यही हो, यही मौकामा चिकित्सा शिक्षालाई राज्य नियन्त्रित बनाउने ढोका खोलिनुपर्छ । यसो गरियो भने संविधानमा लेखिएको ‘समाजवाद उन्मुख’ भन्ने शब्दावलीलाई सार्थक बनाउने ढोका पनि खुल्नेछ ।

ओलीले बुझ्नैपर्छ, डा. केसीको अनशन र माग सरकारका लागि दीर्घरोग सावित हुनसक्छ । अहिले जे खेल देखिँदैछ यसको परिणति डा. गोविन्द केसीलाई मराउने र प्रधानमन्त्री केपी ओलीलाई डुबाउने नै हो । केसी र ओली दुवैको टाउकोमा आगो झोस्ने नियतले खेल अगाडि बढाइँदैछ । अरुले आफ्नो टाउकोमा आगो झोस्नु अघि नै ओलीले आफ्नो टाउकोमा आफैं आगो झोस्नुपर्यो । अर्थात्, साहसिक र अहिलेसम्मका अडान विपरितको निर्णय लिएर परिस्थितिलाई आफ्नो काबुमा राख्नुपर्छ ।

ओलीलाई लाभ

सरकारले ल्याएको विधेयकको पक्षमा मेडिकल माफियाहरु छन् नै । सत्य के हो भने विधेयकको विपक्षमा पनि मेडिकल माफियाहरु छन् । विधेयकको पक्ष र विपक्ष दुवैतिर मेडिकल माफियाहरु छन् भन्ने प्रष्टै छ । चिकित्सा शिक्षा मात्र नभएर समग्र स्वास्थ्य क्षेत्रमा माफिया हावी छन् भन्ने जगजाहेर छ । डा. केसी समग्र माफिया विरुद्ध उभिएका छन् भन्ने जनताको बुझाई गलत होइन । 

यो अवस्थाको सटिक उपयोग ओलीले गर्नुपर्छ । दुवै खाले माफियाहरुलाई निस्तेज बनाउँदै ओलीले तेस्रो बाटो लिनुपर्छ । त्यो तेस्रो बाटोको प्रस्थान विन्दु डा. केसीका माग हुन् । डा. केसीका मागलाई सर्लक्कै वरण गरेर आगामी दिनमा चिकित्सा शिक्षा तथा मेडिकल कजेलहरुलाई राज्य नियन्त्रित बनाउनुपर्छ, चिकित्सा क्षेत्रको माफियागिरी अन्त्य गर्नुपर्छ । यसो गर्नु भनेको रेल आउनु र पानीजहाज चल्नु जत्तिकै क्रान्तिकारी उपलब्धी हुनेछ । 

मोदी र ओली मिल्न सम्भव रैछ । ओली र उपेन्द्र यादव मिल्न सम्भव रैछ । अरुको त के कुरा, ओली र प्रचण्ड पनि मिल्न सम्भव रैछ । ओली र केसी मिल्न किन सम्भव छैन ? सम्भव छ । यसका लागि ओलीले आफ्नो टाउकोमा आगो लगाएर माफियारुपी जुम्रा डढाउनुपर्छ । यसो गरे ओलीलाई पनि लाभ, देशलाई पनि लाभ ।

आगे ओलीकै मर्जी । 


 

संकल्प शक्ति नै सफलताको कडी

दर्शन एवं अध्यात्म–विद्याका विषयमा कलम चलाउनु सामान्य कुरा हैन, यसकालागि गहिरो ज्ञान–चेत, सुदूर दृष्टि, विहङ्गम परिकल्पना एवं अविचलित साधनाको

पण्डितजीको छोरो र गणतन्त्र

गाउँमा एकजना ‘हुने–खाने’ पण्डित थिए । ‘चाइन्जो–क्यारे’ भन्ने थेगो थियो उनको । प्रशस्त पैतृक जग्गा–जमिन थियो। गाई–भैँसी पालेका थिए ।

पचघैया भूत र सरकारको कथा !   

पहिला पहिला हामीले सुन्ने गरेका केहि भूतका कथा मध्यरातमा भूत आउँछ, भूत भन्दा पनि डरलाग्दो पचघैया भूत आउँछ, यो चाहिं सेतो घोडा चढेर राती १२ बजे पछि आफू

 सुन र सिण्डिकेटमा अल्झिएका ६ महिना

नेकपाका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा ६ महिना अघि गठन भएको सरकारले अझै गति लिन सकेको छैन। आमजनता र विपक्षी दलले मात्र होइन,स्वयं नेकपाका