राष्ट्रपति निर्वाचनमा पूर्वसभामुखद्वय आमनेसामने

काठमाडौं । मुलुकले फागुन २५ गते नयाँ राष्ट्रपति पाउँदैछ । चौथो कार्यकालका लागि तेस्रो राष्ट्रपति बन्न प्रतिनिधिसभाका दुईजना पूर्वसभामुखबीच प्रतिस्पर्धा हुने भएको छ ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले राष्ट्रपति पदका लागि उम्मेदावारी दर्ता गराएका छन् ।

पौडेल २०५१ पुस ३ गतेदेखि २०५५ चैत ९ गतेसम्म सभामुख थिए । नेम्वाङले २०६५ साउन १२ देखि २०६९ जेठ १४ गतेसम्म पहिलो कार्यकाल संसदको नेतृत्व गरेका थिए ।

उनले २०७० फागुन ६ गतेदेखि २०७२ असोज २७ गतेसम्म दोस्रो कार्यकालका लागि सभामुख बनेका थिए । नेम्वाङले संविधानसभामा अध्यक्षको भूमिका पनि निर्वाह गरेका थिए ।

को बन्ला त अबको नयाँ राष्ट्रपति ? यसको औपचारिक छिनोफानो फागुन २५ गते हुनेछ । तर अचानक बनेको नयाँ दलीय गठबन्धन र तिनमा आबद्ध दलहरुको समर्थनको अवस्थाले गर्दा पौडेल राष्ट्रपति बन्ने लगभग निश्चित देखिन्छ ।

कांग्रेसका पौडेललाई माओवादी केन्द्रसहित ८ दलको साथ छ । कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चाले उनलाई सघाउने निधो गरेका छन् ।

नेम्वाङको समर्थनमा हालसम्म अरु कुनै दल खुलेका छैनन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसबाहेकका दलहरुसँग सहयोगका लागि कुराकानी गर्ने बताएका छन् ।

ओलीसहित एमाले नेताहरुले १० पुसमा भएको सहमतिअनुसार नै नेम्बाङलाई उम्मेदवार बनाएकाले अरुले पनि साथ दिने बताइरहेका छन् ।

पौडेल तनहुँका हुन् भने नेम्बाङ इलामबाट प्रतिनिधित्व गर्छन् । पौडेल २०४८, २०५१, २०५६, २०६४, २०७० र २०७९ सालको चुनावमा तनहुँबाट निर्वाचित हुँदै आएका छन् । उनी २०७४ सालमा पराजित भएका थिए ।

नेम्बाङ २०४८ देखि २०५२ सालसम्म राष्ट्रिय सभा सदस्य थिए । उनी २०५६, २०६४, २०७०, २०७४ र २०७९ मा इलामबाट निर्वाचित भएर संसदमा पुगेका थिए । पछिल्लो आम निर्वाचनमा पनि उनी इलाम क्षेत्र नम्बर २ बाट विजयी बनेर संसदमा पुगेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *